
राजविराज, २४ चैत्र । सप्तरीको तिलाठीमा विहीवार सामुहिक यज्ञोपवित कार्यक्रमको आयोजना गरिएको छ ।
मैथिल ब्राह्मणसभा सप्तरी तथा तिलाठीवासीद्वारा आयोजित कार्यक्रममा नेपाल तथा भारतका गरी करिब दुई दर्जन बटुकहरुको यज्ञोपवित कर्म पुरा भएको हो । कार्यक्रमका प्रमुख अतिथि मैथिल ब्राम्हणसभाका केन्द्रीय अध्यक्ष भगवान झाले मैथिल ब्राह्मण समूदायमा दहेज प्रथा ठुलो समस्याको रुपमा रहेको भन्दै यसको न्यूनिकरणको लागि संस्थाले सामूहिक विवाहका लागि कार्यक्रम ल्याउन थालेको बताए ।
सामुहिक यज्ञोपवित कार्यक्रम केहीवर्षयता लोकप्रिय हुँदैगएको र अब दहेजको न्यूनिकरणकालागि सामूहिक विवाहलाई पनि प्रोत्साहन गरिनु आवश्यक रहेको उनले बताए ।
यसकालागि २५ जिल्लामा लगत संकलन भईरहेको जानकारी दिदै उनले केहि महिनाभित्रै लगत तयार भएपछि मैथिल ब्राह्मणको महासभा आयोजना गरी यस बारे निर्णय लिइने उनले बताए । सामूहिक विवाहका लागि बर र बधु दुवै पक्षको गोत्र, मूल, वुझ्न आवश्यक रहेको भन्दै दुवै पक्षको मन्जुरी पश्चात नै सामूहिक विवाह आयोजना सम्भव हुने अध्यक्ष झाको कथन छ ।
सामूहिक यज्ञोपवित समारोहमा छिन्नमस्ता सञ्चार समूह प्रा.लिका अध्यक्ष शैलेन्द्रमोहन झाले सामूहिक विवाहले पनि धनि र गरिब विचको दुरी कम गर्ने भन्दै देशव्यापी रुपमा यो अभियानलाई अघि बढाउनु आवश्यक रहेको सुझाव प्रस्तुत गरे । मैथिल ब्राह्मणसभा सप्तरीका अध्यक्ष राघवेन्द्र झाको अध्यक्षतामा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, मैथिली साहित्य परिषद्का अध्यक्ष शुभचन्द्र झा, पत्रकार जितेन्द्रकुमार झा, चित्रगुप्त सेवा समितीका महासचिव सतिशकुमार दत्त, सभाका महोत्तरी जिल्ला सह–सचिव प्रमोद झा, तिलाठी गाविसका निवर्तमान अध्यक्ष दिनेश्वर मिश्र, पूर्व प्रधानाध्यापक अमरनाथ झा, सभाका सल्लाहकार कुशुमकान्त झा लगायतले पनि वोलेका थिए । उक्त अवसरमा सभाका केन्द्रिय अध्यक्ष झा, वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, वैद्यनाथ झा, पत्रकार जितेन्द्र खड्गा, अवधेश झा, जितेन्द्र कुमार झा, धर्मपाल राउतलगायत विभिन्न व्यक्तिलाई सम्मानित गरिएको थियो ।
तस्विरः सन्यासी बिटु



