• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

साढे आठ महिना नेपाल–भारत भ्रमण गरी शान्ति रथ छिन्नमस्ता फर्कियो

साढे आठ महिना नेपाल–भारत भ्रमण गरी शान्ति रथ छिन्नमस्ता फर्कियो

राजविराज, १५ चैत । करिब साढे आठ महिनाको नेपाल तथा भारतको विभिन्न जिल्लाहरुको यात्रा पुरा गरी विश्व शान्ति तथा मानव कल्याण रथ सप्तरीको छिन्नमस्ता भगवती शक्तिपीठ आईपुगेको छ ।
आगामी चैत २८ गतेदेखि नेपालमै पहिलो पटक आयोजना हुन लागेको लक्षचण्डी रुद्र महायज्ञको रथ मङ्गलवार साँझ छिन्नमस्ता शक्तिपीठ आईपुगेको हो । महायज्ञको प्रचार प्रसार हेतु छिन्नमस्ता सखडाबाट गत असार ३० गते भव्य समारोह तथा बाजागाजाका साथ प्रस्थान गरिएको थियो ।
शान्ति, सद्भाव एवम् मानव कल्याणको सन्देश लिएर रथ नेपालको विभिन्न जिल्ला गरी ७४ जिल्लाको यात्रा पुरा गरेको शक्तिपीठका पीठाधीश महाकान्त ठाकुरले जानकारी दिएका छन् । उनका अनुसार नेपालको विभिन्न जिल्ला भ्रमणका क्रममा रथलाई भव्य स्वागत तथा सुरक्षा निकायले विशेष सुरक्षा दिएका छन् ।
नेपालका जिल्लाहरुको यात्रा पुरा गरी पुस २८ गते मित्रराष्ट्र भारत प्रस्थान गरेको थियो । भारतको मोतीहारी जिल्लाबाट शुभारम्भ रथ यात्रालाई विशेष सुरक्षासहित भव्य स्वागत गरिएको थियो । रथ दरभङ्गा, समस्तीपुर, मुजफ्फरपुर, बेगुसराय, सीतामढी, मधुबनी, सुपौल, सहर्षा, मधेपुरा, अररिया, कटिहार, पूर्णियालगायतका जिल्लाहरुको सफलतापूर्वक यात्रा पुरा गरी पुनः यज्ञस्थल सप्तरीको छिन्नमस्ता गाविसमा अवस्थित छिन्नमस्ता सखडेश्वरी शक्तिपीठ आईपुगेको पीठाधीश ठाकुरले जानकारी दिएका छन् ।
भारत बिहार राज्यका जिल्लाहरुको यात्रा पुरा गरी शान्ति रथ भिमनगर नाकाबाट नेपाल प्रवेश गर्दा पूर्वाञ्चलको नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका क्षेत्रीय प्रमुखहरु समेतले स्वागत गरेका छन् । सप्तरीबाट समेत व्यापक संख्यामा पुगेका श्रद्धालुभक्तजनले रथलाई स्वागत गर्दै कोशी व्यारेज, भारदह, हनुमाननगर, राजविराज हुँदै बेलुकी रथ छिन्नमस्ता भगवती शक्तिपीठ प्राङ्गणमा पुगेको हाम्रा सखडा स्थित सम्वाददाता अशोक शर्माले बताएका छन् ।