

श्यामसुन्दर यादव
मधेशमा नेपाली शासकले वर्वरतापूर्ण दमनको श्रृङ्खला जारी राखेका छन् । कायरतापूर्ण शैली अपनाउँदै शान्तिपूर्ण आन्दोलनमा प्रहरीले निहत्था निर्दोष जनतामाथि ताकीताकी टाउँका र छातीमा हान्ने गरेका छन् । सरकार मधेशको शान्तिपूर्ण एवम् शालिन स्वरलाई दबाउन हदैसम्मको निकृष्ट शैली अपनाउँदैआएको छ । यसको पछिल्लो उदाहरण बनेको सप्तरीको मलेठ घटना ।
नेकपा एमालेको कथित मेची महाकाली राष्ट्रिय अभियानका क्रममा मलेठ बस्तीको घरघरमा पसेर निहत्था जनतामाथि बर्बतापूर्ण दमन गरे । कुनै पनि पार्टीसँग लगाव नभएका पाँच जना निर्दोष निहत्था जनताको टाउको र छातीमा ताकीताकी गोली हानी हत्या गरे । प्रहरीले अन्धाधुन्ध चलाएको गोली, लाठी र बुट प्रहारबाट करिब तीन दर्जन सर्वसाधारण जनता घाइते भए । यस अघिको मधेश आन्दोलनमा समेत प्रहरीले प्रदर्शनकारीलाई ताकीताकी टाउका र छातीमा गोली हानी क्रुरता प्रस्तुत गरेका थिए नै । मलेठ घटनामा प्रहरीले देखाएको करतुतले सुरक्षाकर्मी हो कि ज्यानमारा ? भनी प्रश्न आमजनमानसका बीच उठिरहेको छ । आन्दोलनमा मारिएकाहरु नत आन्दोलनमा गएका थिए न कुनै पार्टीका सदस्य थिए । 
प्रहरीले टाउकामा गोली हानेका मलेठ–२ का २४ वर्षिय सञ्जन मेहता, जो बिएडको पढाई सकाएर स्थानीय चौकमा दाजु रञ्जनको पान पसलमा काम गर्दैआएका थिए । घरबाट पसलतर्फ गईरहेको अवस्थामा सशस्त्र प्रहरीको टोली अश्रँु ग्यास फाइरिङ्ग गर्दै बस्ती पसेर अन्धाधुन्ध गोली चलाईरहेका थिए । सोही क्रममा अहेव आनन्द साहलाई गोली लाग्यो । भुइँमा ढलेको अवस्थामा बचाउन जाँदा नजिकैबाट प्रहरी टाउकामा निशाना बनाएर गोली हाने । उनी तत्क्षण ढले ।

अर्का मलेठ–४ का ५५ वर्षिय पिताम्बर मण्डल, जो पेन्टिङ्ग तथा दैनिक ज्याला मजदुरी गरेर जेनतेन परिवार चलाउँदैआएका थिए । ऐलानी पर्तीमा झुप्रो बारेर बस्दैआएका उनी बृद्ध पिता गोसाई मण्डललाई सडकतिर नजानु, घरमै बस्नु, उता गोली चलिरहेको छ भनी बोलाउन जाँदा प्रहरीले आन्दोलनकारी सम्झेर गोलीको निशाना बनाए । उनी समेत तत्क्षण ढले ।
यस्तै महोत्तरीको पशुपतिनगर–२ घर भई मलेठ–४ स्थित ससुरालीमा बस्दैआएका थिए वीरेन्द्र महतो । ३५ वर्षिय महतो नेपाल प्रहरीबाट माओवादी जनयुद्धकालमा राजिनामा दिएर ससुरालीमै बस्दैआएका थिए । बृद्ध सासु, पत्नी, तीन छोरी र एक छोराका साथ उनी तरकारी खेती गरेर जिविकोपार्जन गर्दैआएका थिए । गाउँको बाटो भएर आफ्नो घरतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले उनलाई समेत निशाना बनाए ।
प्रसवनी–४ टेङ्गरीका आनन्द साह जो डिमन स्वास्थ्यचौकीका प्रमुख थिए । ३५ वर्षिय साह पोलियो थोपा खुवाउने अभियानको निरीक्षण गरी मलेठको बाटो घर फर्किरहेको अवस्थामा प्रहरीले उनलाई समेत निसाना बनाए ।
यस्तै जमुनी मधेपुरा गाविस वडा नम्वर–१ कटवी गाउँ निवासी ५० वर्षिय ईनरदेव यादव, जो आफ्ना पिताको मृत्यु पश्चात आफन्तजनकहाँ शोक सन्देश पुर्याउन (न्यौता दिन) गईरहेका थिए । मलेठको बाटो भएर गईरहेको अवस्थामा प्रहरी उनलाई समेत निशासा बनाए । पेटमा गोली लागेका उनका पिताको किरियाको १०औं दिन अर्थात २५ गते उपचारको क्रममा मृत्यु भयो ।
मलेठ घटनामा हाटीका दिलिप यादव, राजविराज नगरपालिका वडा नम्वर–६ का सुरेन्द्र साह, सिरहा घर भएका अधिवक्ता दिगम्बर यादव, राम्पुरामल्हनिया गाविस वडा नम्वर–४ डलवाका अरुण कुमार यादव, बोरियाका जितन साह, राजविराज–३ का दिनेश साह, झुटकी गाविस–४ का विरेन्द्र यादव, लोखरम–३ का जकु साहलगायतको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शरिरमा रहेको गोली झिक्ने काम भएको छ । अहिले पनि उनीहरु उपचारमै छन् । यस अतिरिक्त आन्दोलनमा समान्य घाइते भएकाहरुको राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भई घर फर्केका छन् ।
आन्दोलनमा मृत्यु भएकाहरुको कुनै पार्टीसँग संलग्नता छैन । नत उनीहरु आन्दोलनमा सहभागी हुन आएका थिए । प्रहरीले मानव अधिकारको सामान्य प्रक्रियासम्म नअपनाई आतंककारी शैली प्रस्तुत भएको पुष्टि आन्दोलनका क्रममा खिंचिएका भिडिओ तथा तस्विरहरुले पुष्टि गरेको छ । पानीको फोहरा दिने गाडी समेत उपलब्ध रहेको अवस्थामा त्यसको प्रयोगसम्म नगरी, गोली चलाउने अवस्था आएको भनी पूर्व सूचना समेत नदिई नश्लवादी चिन्तनको वफादार मतियार बनेर प्रहरी प्रस्तुत भएको देखिएको छ । गोली चलाउनै पर्ने अवस्था आएको भए प्रहरीको गोली ढाड भन्दा तल किन गएन, टाउको र छातीमै निशाना बनाउनुले समेत प्रहरीको नियतमाथि प्रश्नचिन्ह उठ्नुलाई कदापि नाजाय भन्न मिल्दैन । कि त मधेशीको हकमा यस्तै शैली अपनाउन प्रशिक्षण नै दिएको छ कि ? या एमालेको कार्यक्रममा खटिएका सशस्त्र र नेपाल प्रहरीलाई यस्तै दानवीय रुपमा प्रस्तुत हुन आदेश दिएको हो कि ? यस विषयमा गहन अध्ययन अनुसन्धान हुनैपर्दछ ।
गोली चलिरहेको बेला अर्थात एमालेको मञ्चीय कार्यक्रम समापनतिर उन्मुख भईसकेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली भाषणसँगै प्रहरीको गोली मकै फुटे झैं पटट फुटिरहेको थियो । गोली चलाउनुपर्ने अवस्थाको शंकेतसम्म देखिएको थिएन । मोर्चाको भींड समेत तितरबितर भईसकेको थियो ।
करिब डेढ दर्जन मोर्चाका नेताहरु पक्राउ परिसकेका थिए । औद्योगिक क्षेत्रको गेटदेखि करिब पाँच सय मिटर दक्षिण सडकमा टायर बालेर करिब ३०–४० जनाको समूहले नाराबाजी गरिरहेका थिए । उनीहरुलाई हटाउने प्रयासमा थिए प्रहरी । एमालेकै भेलामा आएका रातो जर्सी लगाएका केही युवाहरु उत्तेजित थिए । उनीहरुले आन्दोलनकारीहरुलाई लक्षित गर्दै ढुङ्गा हान्न थाले । तत्पश्चात नाराबाजी गरिरहेकाहरुले समेत ढुङ्गा फर्काउन थाले । प्रहरीले सयौं राउण्ड अश्रुग्याँस फायर गर्न थाले ।
प्रदर्शनकारी युवाहरुसँग केही थिएन । प्रहरीले फायर गरेको अश्रु ग्यास तत्कालै प्रहरीतर्फ नै फाल्न थाले । त्यही क्रममा सशस्त्र प्रहरीको टोली अन्धाधुन्ध फायर गर्दै बस्तीसम्म छिरे । घरमा रहेका सर्वसाधारणलाई घचेटेर लाठी, बुट र बन्दुकको कुन्दाले प्रहार गरिरहेको हृदय विदारक दृष्य सामाजिक सञ्जालमा भाइरल नै भईसकेको छ । केही यस्ता पनि दृष्य थिए न बालकलाई चिने न बुद्धलाई । ती दृष्यहरुमा देखिएको शैली वास्तवमा सुरक्षाकर्मीहरुको त कदापि हुन सक्दैन, त्यो केवल आतंकवादीहरुको हुन सक्ला ।
यो घटनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी सङ्गठनमा शायद मानव अधिकारको आधारभूत सिकाईदैन कि ? या त कालो अनुहार अर्थात मधेशीहरुको हकमा अपनाईने शैली यही नै हो कि ? यसको गहन अध्ययन अनुसन्धान अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघ–संस्थाबाट हुनु आवश्यक छ । यसको सत्यतथ्य प्रतिवेदन सार्वजनिक भए घटनाको वास्तविकता पर्दाफास हुन्छ ।
सरकारले प्रतिष्ठा जोगाउनकै लागि भए पनि शहिद घोषणा गर्ने र परिवारजनलाई दश लाख उपलब्ध गराउने काम गर्दैआएको छ । हालै सहादत दिएकाहरुको हकमा समेत उही प्रक्रिया ढिलोचाँडो हुन्छ नै । फेरी केही दिन स्थिति साम्य हुन्छ र फेरी आन्दोलन हुन्छ, फेरी मधेशका गरिब निहत्था जनता मारिनेछन्, सरकारले दश लाख दिनेछन् । आखिर यो प्रक्रिया कहिलेसम्म ? यो प्रश्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका केन्द्रीय अध्यक्षज्यूहरुलाई ?
पछिल्लो घटनालाई पनि थामथुम पार्ने काम भईरहेको छ । मधेशकै गृहमन्त्री विमलेन्द्र निधीले सप्तरी घटनामा घरेलु हतियार र पेट्रोल बम सहित कार्यक्रम स्थलतिर बढ्न खोजिएको तर नियन्त्रण बाहिर गएर ठूलो क्षति हुने भएपछि स्थानीय सुरक्षा अधिकारीको आदेशमा गोली चलेको भनी प्रष्टीकरण दिएका छन् । यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिएर गृहमन्त्री सरकारी बफादारी देखाएका छन् । तर मधेशकै भूमीमा आएर कांग्रेसको झण्डामुनि राजनीति गर्ने मधेशी जनतासँग भोट माग्ने निधीज्यूले मधेशका निहत्था जनतामाथि अन्धाधुन्ध गोली चलाएर हत्या गरेको तथा घरघरमा पसेर आतंकवादी शैली अपनाएका प्रहरीको करतुत देख्नुभएन । 
निधीज्यू, तपाई यदी मधेशकै छोरो हुनुहन्छ भने स्वेत झूठ बोल्ने काम नगर्नुस् । प्रदर्शनकारीसँग यदी पेट्रोल बम या घरेलु हतियार भएको भए कमसेकम प्रति कार त अवश्य हुन्थ्यो । तर घटनामा त्यस्तो केही देखिएको छैन । मात्र एक जना प्रहरीको निधारमा ढुङ्गा लागेको छ । मलेठ हत्याकाण्डको भिडियो र तस्विरहरु सप्तरीका पत्रकारहरुसँग सुरक्षित छ । हुनत सामाजिक सञ्जालमा पनि भाइरल भईसकेको छ । कञ्चनपुरका एक जना गौतम मारिँदा सम्पूर्ण पार्टी एकमत हुने तर अनाहकमा हत्या गरिएकाहरुलाई शहिद घोषणा गर्नमा पनि ढिलाई भईरहेको वास्तविकता कसैबाट लुकेको छैन । मधेशमा भोट माग्न आउने ठूला पार्टी मात्र होइन, ठूलाठूला राष्ट्रवादीहरुले गर्जन गर्ने तर कालो अनुहारका मधेशीहरु मारिँदा कर्मकाण्डी व्यवहार देखाउन पनि कञ्जुस्याइँ किन ? आम मधेशी जनताका बीच प्रश्न उठिरहेको छ ।
मधेशीलाई मवेशी अर्थात पशुभन्दा निचता शैली राज्यले देखाईरहेको छ । बरु अब त पशु अधिकारको पनि कुरा उठ्दैछ तर शान्तिपूर्ण रुपमा आवाज उठाउने मधेशीमाथि गोली ठोकिन्छ । आखिर यो कहिलेसम्म, निहत्था मधेशी जनता मार्ने काम चलिरहन्छ ? देशका मानव अधिकारकर्मीहरु समेत मुकदर्शक भएर हेरिरहेका छन् । मलेठमा प्रहरीले अन्धाधुन्द गोली चलाईरहँदा ओलीसँगै आएको राष्ट्रिय मानव अधिकार आयोगको टोली भाषण सुनेर बसिरहेका थिए । यदी घटनास्थलमा मानवअधिकारकर्मीहरुको उपस्थिति भईदिएको भए शायद यति धेरै मानवीय क्षति हुने थिएन ।
मलेठ घटनामा मानव अधिकारको न्यूनतम मान्यतासम्म पालनासम्म नगरेकोले न्यायीक छानविन गरी दोषीलाई कानूनको कठघरामा उभ्याईनु जरुरी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री विमलेन्द्र निधीले मलेठ घटनामा गोली चलाउने आदेश नदिएको भन्दै चोखिने प्रयास गरिरहेका छन् । खबरदार, जनता मुर्ख छैन, जनताको आँखामा छारो हाल्ने काम नहोस् । यदी यो घटनामा दाहाल र निधीले गोली चलाउने आदेश दिएको छैन भने कसको आदेशमा गोली चल्यो ? किन सुरक्षाकर्मीले गोली चलायो ? के कारणले प्रहरीहरु क्रुर रुपमा प्रस्तुत भएर बस्तीमा पसेर सर्वसाधारण जनताको टाउका र छातीमा गोली हानेको हो ? खोजी निती हुनु आवश्यक छ । को हुन् मलेठ घटनाको दोषी ? कर्तव्य ज्यान मुद्दामा कार्वाही गर्ने आँट दाहाल र निधीहरुले देखाए मात्र देशमा कानूनी शासन व्यवस्थाको अनुभूती जनताले गर्नेछन् । shyamnews111@gmail.com ( लेखक यादव, ‘न्यूज टुडे’ का सम्पादक हुन् ।)
(भिडियो हेर्नुहोस्)



