
राजविराज, १ चैत । गत फागुन ६ गते कतारमा मृत्यु भएका सप्तरीको गाविस जमुनी मधेपुरा वडा नम्वर–९ भथौलका युवाको शव पच्चीस दिन पश्चात बल्ल आइपुगेको छ ।
३४ वर्षिय युवा राम सरदारको शव मङ्गलवार विहान जन्मस्थान भथौल आईपुगेको हो । सिङ्गो परिवारको एक्लो सहारा बनेका उनको फागुन ६ गते राती कतारमै मृत्यु भएको थियो । कमाएर विदेशबाट रकम पठाउन थालेपछि उनको परिवार खुशी छाएको थियो । तर एक्कासी उनको मृत्युको खबरले सिङ्गो परिवारमा बज्रपात परेको छ ।
राती खाना खाएर सुतेका उनी विहान अबेरसम्म नउठेपछि सहकर्मी कामदारले हेर्न जाँदा मृत अवस्थामा भेटिएका थिए । संसारबाट विदा लिनु अघि राती करिब १० बजे आफ्नी पत्नीसँग कुरा गरेर भनेका थिए ‘मैले ४० हजार रुपैयाँ पठाई दिएको छु, तत्काल केहीले ऋण तिर्नु र घरधन्दा चलाउनु, केही दिनमै फेरी पैसा पठाई दिन्छु ।’
राती बृद्ध आमाबुवासँग मोबाइलमा कुराकानी गरेका पतीको मृत्यु भएको भनी बिहान अचानक खबर आएपछि पत्नी राजकुमारी सरदार बेहोसी अवस्थामा रहँदैआएकी छिन् । कुनैबेला होस खुले पनि चिच्याउने गरेको स्थानीयवासिन्दाले जानकारी दिएका छन् । गत फाल्गुन ७ गतेदेखि उनको परिवारमा रुवावासी चल्दैआएको थियो । शवको अन्त्येष्टि नभएसम्म चुलो नबल्ने मान्यता अनुरुप घरमा चुलोसम्म बल्न सकेको थिएन । शव ल्याउनकालागि उनका परिवारवजन विभिन्न संघस्थामा हारगुहार गर्दैआएका थिए । 
निरन्तर शोकमा रहेको सरदार परिवारमा जब शायरन बजाउँदै शव वाहन विहान आइपुगे । फेरी उक्त परिवारमा रोदन क्रन्दनको माहोलमा बदलियो । शववाहनबाट लाश प्याक भएको बाकस ओरालेर आँगनमा राखियो तब गाउँटोलका वासिन्दाहरुको भीड देखियो । पत्नी राजकुमारी मुर्छित थिए, छोरी सन्तोषी ‘बाबा अब मलाई कसले पढाउँछ ? भनी बिलौना गरिरहेकी थिइन् । आमा छाती पिटीपिटी रोईरहेकी थिइन् भने मृतक रामका बुवा केसी भक्कानिइरहेका थिए । परिवारको एक्लो सहारा रामको शव प्याक भएको बाकस तथा परिवारजनका रोदन क्रन्दन देखेर सिङ्गो भथौलवासीको आँखा रसाएका देखिन्थे भने महिलाहरु सुक्कसुक्क गरेर रोईरहेका थिए । 
गत माघ महिनामा भिसा बनाएर कतार पुगेका उनले कमाएर ऋण तिर्ने, घर बनाउने र बालबच्चालाई पढाउने सपना साँचेका थिए । यद्यपी उक्त सपना सपनामै सिमित रहन पुगेको छ । गाउँमै अति मिलनसार एवम् सहयोगी मानिएका रामको निधनले सिङ्गो भथौल नै शोकमा डुबेको छ ।
सरदार वैदेशिक रोजगारको शिलशिलामा टु सि इन्टरनेशनल म्यानपावर कम्पनी काठमाण्डौबाट कतारमा राजमिस्त्रीमा काम गर्न गएका थिए । मृतकका १४ वर्षिय जेठो छोरा श्याम कक्षा ९ मा, ११ वर्षिय माइलो छोरा सुन्दर कक्षा ७ मा अध्ययनरत छन् भने सात वर्षिय छोरी सन्तोषी कक्षा ३ मा अध्ययनरत छिन् ।
मृतक रामको शवलाई मङ्गलवारै अन्त्येष्टि गरिएको छ । उनका जेठो छोरा श्यामले दागवती दिएका छन् ।






