
सिड्नी, १ चैत । एसोसिएसन अफ नेपाली तराई अस्ट्रेलिया (ANT AUS_ संघीय समाज अस्ट्रेलिया तथा नेपाली आदिवासी जनजाति मञ्च अस्ट्रेलियाको संयुक्त आयोजनामा आइतवार सिड्नीको एस्बुरी हलमा शहिदको सम्झनामा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरियो ।
कार्यक्रममा सहभागीहरुले शहिदको सम्झनामा एक मिनेट मौन धारणा, तस्विरमा माल्यार्पण र दीप प्रज्ज्वलन गरी श्रद्धाञ्जली मन्तव्य व्यक्त गरे । सयभन्दा बढीको संख्यामा हिमाल, पहाड र मधेशका व्यक्तिहरुको उपस्थितिमा रहेको थियो । सुबांश साहको अध्यक्षतामा आयोजित कार्यक्रम संघीय समाजवादी फोरम नेपालको अनुशासन विभागका प्रमुख दुर्गामणि देवान प्रमुख आतिथ्यमा आयोजना गरिएको थियो ।
संघीय समाज अस्ट्रेलियाको अध्यक्ष गणेश तामाङ्ग, नेपाल आदिवासी जनजाति मञ्चका अध्यक्ष अरुण कुमार तामाङ्ग, निन्फाको पूर्व अध्यक्ष तथा वर्तमान ओसियान संयोजक चित्र बहादुर तुम्बाहाम्फे लिम्बु , जनसम्पर्क समितिको कार्यबाहक अध्यक्ष छिरिङ्ग तेञ्जिङ्ग लामा, नयाँ शक्ति पार्टीको केन्द्रीय सदस्य समिम अनुवार समेतको उपस्थिति रहेको थियो ।
प्रहरीको गोलीबाट मलेठ गाविस वडा नम्वर– २ का २५ वर्षिय सञ्जन मेहता, मलेठ–४ का ५० वर्षिय पीताम्बर मण्डल र प्रसवनी–४ टेङ्गरी घर भएका ३५ वर्षिय सिनियर अहेव आनन्द कुमार साह, मलेठ–४ का विरेन्द्र महतो र जमुनी मधेपुरा गाविस वडा नम्वर–१ कौटवी गाउँ निवासी ५० वर्षिय ईनरदेव यादवको मृत्यु भएको थियो ।



