
राजविराज, २९ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका संयोजक उपेन्द्र यादवले शान्तिपूर्ण जनसंघर्षलाई सरकारले कमजोरी ठानेर दमन जारी राखे जनता त्यसको जवाफ दिन बाध्य हुने बताएका छन् ।
संघीय प्रेस फोरम सप्तरीले आइतवार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । सप्तरी घटनाका राज्यको नश्लवादी चिन्तनको उपज भएको बताउँदै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवले भने ‘मलेठ घटनामा सरकारले युद्धको निम्तो दिएको छ, राज्यले अब कस्तो निती लिन्छ, व्यवहार कस्तो हुन्छ ? त्यसमा भावी आन्दोलनको स्वरुप निर्धारण हुन्छ, जनता अब त्यसको जवाफ दिन्छ ।’
स्थानीय तहको संरचना गलत एवम् अव्यवहारिक रहेको भन्दै मधेश, पहाड र हिमालकालागि समेत विभेदपूर्ण रहेको उनले बताए । संघीय प्रणालीमा देश गईसकेको अवस्थामा यो चुनावको कुनै औचित्य नरहेको उनले प्रष्टयाए । जबरजस्ती चुनाव गराउन खोजिए संघीय गठबन्धन र मोर्चाले सफल हुन नदिने दावी गर्दै उनले भने ‘अव्यवहारिक एवम् अलोकतान्त्रिक चुनाव सेनाको बलमा गराउन खोजिए त्यसको परिणाम भयावह हुनेछ ।’
कञ्चनपुर घटनामा नेपाली नागरिक मारिनु नेपाल सरकारको ठूलो कमजोरी भएको भन्दै यसको निष्पक्ष न्यायीक छानबिन हुनुपर्नेमा जोड दिए । ‘सप्तरीमा निहत्था जनतामाथि गोली वर्षाउने सरकारले आफ्ना नागरिकको सुरक्षा गर्न नसक्नुले राज्य र सरकारको शैली छर्लङ्ग भएको छ, कञ्चनपुर घटनाबारे समेत सरकारले सत्यतथ्य जवाफ दिनुपर्छ’ नेता यादवले भने ‘सरकारले आफ्नो कमजोरी नहेरी अरुमाथि दोष थुपारेर उम्किन मिल्दैन ।’
संसदमा पेश गरिएको विधेयकले आन्दोलनरत पक्षको माग सम्बोधन नहुने दावी गर्दै उनले प्रस्ताव पेश गरेर दुनियालाई ठग्ने काम मात्र भएको टिप्पणी गरे । उनले भने ‘परिमार्जनसहितको प्रस्ताव ल्याएर पेश नगरेसम्म मधेशी, आदिवासी, जनजाती एवम् विभेदमा पारिएको समुदायको अधिकारको सुनिश्चितता हुँदैन ।’
वर्तमान सरकारलाई दिएको सात दिने अल्टिमेटमको समयसिमा समेत सकिन लागेको भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बसेर थप निर्णय गर्ने यादवले जानकारी दिए । उनले यो आन्दोलन मधेशमा मात्र नभई देशैभरी राष्ट्रिय आन्दोलन चर्काउने तयारी भईरहेको उनले पत्रकार सम्मेलनमा बताए । सात दिने अल्टिमेटममा नै सातदिनभित्र माग पुरा नभए सात दिन पछि स्वतः समर्थन फिर्ता हुने लेखिएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
संघीय प्रेस फोरम सप्तरीका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा फोरम नेपालका तराई मधेश प्रदेशका मुख्य सचिव शम्भु झा, राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साह, सांसद लक्ष्मी कुमारी चौधरी, केन्द्रीय सदस्यहरु अशोक कुमार यादव, विनोद कुमार चौधरी, युवा नेता रमेश कुमार यादवसमेतको उपस्थिति रहेको थियो ।



