राजविराजमा मुठभेडको सम्भावनाः मोर्चाका युवाहरु सडकमा, कडा पारियो सुरक्षा व्यवस्था

राजविराजमा मुठभेडको सम्भावनाः मोर्चाका युवाहरु सडकमा, कडा पारियो सुरक्षा व्यवस्था
Bwtech New Add With Software & Bull SMS

राजविराज, २१ फागुन । संयुक्त लोतकतान्त्रिक मधेशी मोर्चा र नेकपा एमाले बीच मुठभेडको अवस्था आउनसक्ने सम्भाव्यतालाई मध्यनजर गर्दै सप्तरी सदरमुकाम राजविराजमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
आगामी फागुन २३ गते नेकपा एमालेले राजविराजमा आयोजना गर्न लागेको तराई मधेस लक्षित मेची महाकाली राष्ट्रिय अभियानलाई विफल पार्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा व्यापक तयारीका साथ उत्रेका हुन् । नेकपा एमालेले पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आयोजना हुन लागेको कार्यक्रमलाई सफल पार्न प्रचार–प्रचारका साथै तयारीमा जुटेपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा भने उक्त कार्यक्रमलाई विथोल्नकालागि सशक्त रुपमा अघि बढेका छन् ।
यसअघि शुक्रवार मात्र राजविराज नगरपालिका वडा नम्वर– १ स्थित हटियामा मोर्चाका कार्यकर्ताहरुले एमालेका सप्तरी जिल्ला उप–सचिव प्रतापनारायण चौधरीलाई कालोमोसो दलेका छन् । जिल्ला विकास समितिका पूर्व सदस्य समेत रहिसकेका चौधरीलाई मोर्चाका युवा विद्यार्थीहरुले राजविराज स्थित माछा हटिया नजिक घेरेर कालोमोसो दलेका छन् ।
यस्तै शुक्रवारै अभियानको तयारीका क्रममा गृह जिल्ला आएकी एमालेकी सांसद रञ्जु कुमारी झा चढेको सरकारी गाडीमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले ढुङ्गामुढा गरेका छन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक संसदीय समितिकी सभापति समेत रहेकी झाको गाडीमा सामान्य क्षती पुगेको जनाईएको छ ।
यसै क्रममा अभियानकालागि तयार पार्दै गरेको नेकपा एमालेको चुनाव चिन्ह सूर्य अंकित झण्डा समेत खोसेर मोर्चाका कार्यकर्ताहरुले जलाएका छन् । एमाले विरुद्ध मोर्चा सशक्त रुपमा उत्रेपछि एमाले समेत शक्ति सञ्चय गरी जसरी भए पनि कार्यक्रम आयोजना गरेरै छाड्ने हिसाबले तयारी भईरहेको एमाले श्रोतले जनाएको छ । यद्यपी सडकमा मोर्चाको सशक्त उपस्थितिका एमालेको मेची महाकाली अभियानको प्रचार–प्रसार भने शिथिल भएको छ ।
मोर्चा र एमाले बीच मुठभेड हुनसक्ने सम्भावना भने उतिक्कै बढ्दै गएको छ । जिल्लामा अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली सदरमुकाम राजविराजको विभिन्न चौक तथा सडकहरुमा व्यापक संख्यामा परिचालन गरिएको छ ।
राजविराज जाऔं, कालो झण्डासहित विरोध प्रदर्शन गरांै’ भन्ने नाराका साथ आगामी २३ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले वृहत प्रदर्शन गर्ने तयारीमा जुटेका छन् । मधेश र मधेशीलाई होच्याउने मधेश विरोधी विष वमन गर्ने एमाले नेता ओलीको कार्यक्रम विफल तुल्याउन मोर्चाले फागुन १९ गतेदेखि भण्डाफोर अभिायनको प्रचार प्रसार तथा तत्कालीन ओली नेतृत्वको सरकारले मधेशमा गरेका नरसंहार गरेको स्मरण गर्दै कार्यक्रमलाई सशक्त रुपमा अगाडि बढाउने निर्णय गर्दै अगाडि बढेका छन् ।
विरोध स्वरुप आ–आफनो घर तथा सवारी साधनहरुमा कालो झण्डा बाँधेर विरोध प्रदर्शन गर्ने, फाल्गुन १९ गतेदेखि विभिन्न गा.वि.स. तथा प्रमुख हटिया वजारहरुमा कोण सभा सञ्चालन गरी भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । फाल्गुन २२ गते सप्तरीको प्रमुख स्थान कञ्चनपुर, भारदह, हनुमाननगर, राजविराज, सखडा, पत्थरगडा, पातो, रुपनी, कठौना, विष्णुपुर र वोदे वर्साईन सहितको स्थानहरुमा मसाल जुलुस प्रदर्शन गर्ने निर्णय मोर्चाले फागुन १८ गतेको बैठकले नै गरिसकेको मोर्चाका सप्तरीका संयोजक दिनेश कुमार यादवले जानकारी दिएका छन् ।
उनका अनुसार ओलीको प्रमुख आतिथ्यमा आयोजना हुन लागेको अभियानलाई लक्षित गर्दै फाल्गुन २३ गते सप्तरी जिल्लामा चक्का जाम गर्ने घोषणा गरिएको छ । सोही दिन कञ्चनपुर, भारदह, राजविराज र रुपनीमा विहानैदेखि लाठी जुलुस प्रदर्शन गर्ने, तत्कालीन के.पी शर्मा ओली नेतृत्वको सरकारले मधेशमा गरेका नरसंहार तथा विभत्स हत्याका ठाउँठाउँमा फोटोसहितको व्यानर झुण्डयाउने कार्यक्रम रहेको मोर्चाका जिल्ला संयोजक यादवले बताए ।
व्यापक तयारीकासाथ गाउँगाउँबाट सर्वसाधारण जनताको सहभागीता गराउने उद्देश्यले मोर्चा आवद्ध राजनीतिक पार्टीका अधिकांश केन्द्रीय तथा जिल्ला नेताहरु गाउँ केन्द्रीत भएका छन् । मोर्चाका युवा नेताहरु भने आवश्यक तयारीकासाथ सदरमुकाम राजविराजमा विहानैदेखि मोटरसाइकल र्याली गरिरहेका छन् ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *