उपेक्षाको मारमा ओझेल परेको झुटकीको चन्द्रदेवी पोखरी

उपेक्षाको मारमा ओझेल परेको झुटकीको चन्द्रदेवी पोखरी
Bwtech New Add With Software & Bull SMS
श्यामसुन्दर यादव

श्यामसुन्दर यादव 
सप्तरी जिल्लाको झुटकी गाउँ विकास समितिको वडा नम्वर–४ मा अवस्थित छ चन्द्रादेवी पोखरी । करिव २२ विघा क्षेत्रफलमा फैलिएको यस ऐतिहासिक पोखरीलाई स्थानीयवासिन्दा चन्द्रादेवी, चन्द्रदेवी, झुटकी पोखरी आदीको नामले चिनिन्छ । सप्तरी सदरमुकाम राजविराज नगरपालिकादेखि करिब १५ किलोमीटर पश्चिम–दक्षिणमा यो पोखरी बस्तीभन्दा बाहिर अवस्थित छ ।
सम्भवतः देशमै सबभन्दा ठूलो यस पोखरीको आफ्नै विशेषता रहेको छ । यस स्थलमा सन्तानोत्पादन, भूतप्रेतबाट मुक्तिका साथै छाला तथा शरिरका रोगहरू निवारण हुने जनविश्वास रहेको छ । यस पोखरीमा आई स्नान गरेर पोखरीको डिलमा रहेको माता चन्द्रादेवीको मन्दिरमा पूजाआजा गरेर भाकल गरेपछि सन्तान उत्पादनका साथै विभिन्न रोग निवारण हुने विश्वास गरिन्छ । यस स्थलमा नेपालको विभिन्न जिल्लाका साथै भारतबाट श्रद्धालुभक्तजनहरू बाह्रै महिना आउने गर्दछन् । जस्तोसुकै समस्या लिएर आउने भक्तजनहरूको सङ्कट चन्द्रदेवीले निवारण गर्ने गरेको स्थानीय वासिन्दाहरूको भनाई छ । भाकल पुरा भएपछि मन्दिरमा लड्डु, पान, सुपारी चढाउनुका साथै खसी–बोकाको बलीसमेत प्रदान गरिन्छ ।
जतिबेला खानेपानीका लागि इनार, ट्युवेलको उपलब्धता थिएन, त्यतिबेला यसक्षेत्रका वासिन्दाले चन्द्रादेवी पोखरीकै पानीले खाना पकाउन तथा पिउने समेत गर्दथे । बदलिँदो परिवेशमा यो आस्था अझैं पनि कायमै रहेको छ । यस क्षेत्रका वस्तीहरूमा बाह्रै महिना कम से कम एकलोटा पानी हालेर खाना पकाउने गरिँदैआए पनि सिरुवा अर्थात जुडशीतल पर्वका दिन यसको अनिवार्यता रहेको माननीयज्यूलाई जानकारी गराउन चाहन्छौं । यदि यस्तो गरिएन भने अनिष्ट हुने जनविश्वास रहेको छ । यस अतिरिक्त भोजभत्तेर तथा विशेष अवसरहरूमा चन्द्रदेवी पोखरीको पानीको प्रयोगले शुभ तथा सफल हुने विश्वासकासाथ पोखरीको पानीको अनिवार्यता रहने गर्दछ । नयाँ वर्षको अवसरमा माता चन्द्रादेवीको प्राङ्गण ठूलो मेला लाग्ने गर्दछ ।
पोखरीमा सन्दुक (सामान राख्नका लागि प्रयोग हुने ठूलो बाकस) तथा राँगा निस्किने गरेको स्थानीय बुढापाकाहरूको कथन छ । उनीहरूका अनुसार विशाल पोखरीमा एक्लै प्रवेश गर्ने हिम्मत कसैले गदैन । परापूर्वकालदेखिको अति प्राचीन मानिएको यस पोखरीमा वि.सं. २०५० सालमा सप्तरीको जगमोहन गाउ“बाट आएका धामी तनुकलाल चौधरीले देउता खेल्ने क्रममा पोखरीबाट एउटा पत्थर फेला पारेका थिए । उक्त पत्थरलाई पोखरीको डिलमा राखेर स्थानीयवासिन्दाहरूले चन्द्रादेवीको नामबाट पूजा–आजा गर्न थालेका छन् । मन्दिरमा दैनिक पूजा सम्पादनको जिम्मेवारी स्थानीय वयोवृद्ध बच्चालाल यादवले सम्हाल्दैआएका छन् ।
तत्कालीन शिक्षामन्त्री एवम् सांसद रेणु यादवको संसदीय विकास कोषको रकमबाट पोखरीको पश्चिमतर्फको डिलमा वि.सं. २०६६ साल साउन ४ गते मन्दिर निर्माण गरियो । यद्यपि उक्त मन्दिरको निर्माणकार्य पर्याप्त छैन । यसैगरी पूर्वतर्फ पक्की देवघर निर्माण गरिएको छ । जहा“ प्रत्येक वर्ष सिरूवा अर्थात नया“वर्षका अवसरमा मूर्ति बनाइन्छ । उक्त अवसरमा दुई दिनसम्म भव्य मेला लाग्ने गर्दछ ।
चन्द्रादेवी अहिले पनि पोखरीमै बस्ने गरेको जनविश्वास रहँदै आएको छ । पुरातत्व विभागबाट खटिएको टोलीले यो पोखरी एक हजार छ सय वर्ष पुरानो भएको भनी किटान गरेका छन् ।
जिल्लाको मात्र नभई सम्भवतः देशकै सबभन्दा विशाल मानिएको यो पोखरी विगतमा अति सुन्दर रहेपनि हाल पानीको अधिकांस भाग जलकुम्भीले ढाकिसकेको छ । जस्तोसुकै खडेरीमा पानी नसुक्ने यो पोखरीमा विभिन्न जातका चराहरू बस्ने गर्दछन् । आस्थाको केन्द्र मानिएको यो स्थल उपेक्षित रह“दैआएको छ । यस स्थलको जिर्णोद्धारसहित आवश्यक पुर्वाधारको आवश्यकता छ ।
१. पोखरी जिर्णोद्धारः कुल २२ विघा क्षेत्रफलमा रहेको यस ऐतिहासिक पोखरीको जलासय जलकुम्भीले ढाकेको छ । उचित संरक्षण हुन नसकेका कारण पोखरीको पानी समेत दुषित हुँदैगएको छ । पोखरीका डिलहरु समेत टुटफुटको अवस्थामा रहेको छ । बस्ती भन्दा वाहिर रहेको यस पवित्र विशाल जलासयको सरसफाईका साथै मर्मत सम्भार अति आवश्यक छ । बाह्रै महिना श्रद्धालुभक्तजनको आवत–जावत भईरहने यस पोखरीमा नुहाउन तथा पानी लिन समस्या भईरहेकोले सहजताकालागि पक्की घाट निर्माण अति आवश्यक छ ।
२. मन्दिर निर्माण एवम् पुननिर्माणः यस स्थलमा हाल निर्मित मन्दिर सानो आकारको रहेकोले चौतर्फी बरण्डासहितको मन्दिर निर्माण अति आवश्यक छ । यसका साथै छेउछाउमा अन्य देवीदेवताका मन्दिर तथा पूजारी बस्नकालागि आवश्यक सुविधासहितको पक्की घर निर्माण हुनु जरुरी छ ।
३. धर्मशाला निर्माणः नेपाल तथा भारतका विभिन्न जिल्लाहरुबाट श्रद्धालुभक्तजन आवत–जावत भईरहने यस स्थलमा बास बस्ने सुविधा नरहेकोले यात्रुहरुले सास्ती भोग्नुपर्ने अवस्था विद्यमान छ । यस क्षेत्रको आसपासमा सुविधासम्पन्न बजार समेत नरहेकोले यात्रुहरुले वर्षौंदेखि भोग्दैआएको समस्या समाधानकालागि सुविधासम्पन्न पक्की धर्मशाला निर्माण हुनु अति आवश्यक छ ।
४. यातायातः यस माता चन्द्रादेवी स्थलसम्म आवतजावत गर्न हाल कच्ची तथा डगरको बाटो एक मात्र विकल्प रहेको छ । चार पांग्रे यातायातका साधनबाट सहज रुपमा यस स्थलसम्म आउनसक्ने अवस्था नरहेको माननीय उप–प्रधान तथा गृहमन्त्रीज्यूलाई अवगत गराउन चाहन्छौं । खासगरी असारदेखि कार्तिक महिनासम्म बाटो हिलाम्मय तथा खाल्टाखुल्टी हुनुका साथै पानी जम्ने गरेकोले यात्रा अति पीडादायी हुने गर्दछ । त्यसर्थ भारतीय श्रद्धालुभक्तजनलाई यस स्थलमा थप आकर्षित गर्नकालागि भारतसँग जोड्ने सडक तथा सहज आवागमनकालागि मुख्य सडकसम्म जोड्ने पक्की सडक हुनु जरुरी छ ।
सदरमुकामको पहुँचभन्दा बाहिर रहेको यस ग्रामिण भेगका जनताको आस्था स्थलको रुपमा रहेको चन्द्रादेवी स्थलको विकास भए यसक्षेत्रका वासिन्दाकालागि जीवनस्तर उकास्नमा मद्दत मिल्नेमा आशावादी छ । ग्रामिण पर्यटनको प्रबल सम्भावना रहेकोले यस स्थलमा आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनमा सहयोग हुने निश्चित छ ।
(लेखक यादव न्यूज टुडे दैनिकका सम्पादक हुन् ।)

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *