
राजविराज, २२ माघ । मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले पहाडमा ५ र मधेशमा ३ ओटा प्रदेश बनाएर सिमाङ्कनको विवादलाई समाधान गर्नुपर्ने बताएका छन् ।
सप्तरी सदरमुकाम राजविराजमा शनिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । दुई नम्वर प्रदेशमा झापा, मोरङ्ग र सुनसरीलाई राख्नुपर्ने नभए सिरहा, सप्तरी, सुनसरी, उदयपुर, मोरङ्ग र झापालाई छुट्टै प्रदेश, धनुषादेखि पर्सासम्मलाई एउटा प्रदेश र कञ्चनपुरलाई ५ नम्वर प्रदेशमा गाभेर सिमाङ्कनको विवाद टुङ्गो लगाउनुपर्नेमा उनले जोड दिए ।
नेपालमा कांग्रेस एमाले र माओवादी शासनसत्ता सञ्चालन गर्दैआएको चर्चा गर्दै मधेशी जनतामाथि गरिएको विभेदको समाधान तीन दलले नै गर्नुपर्ने फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले बताउनुभयो । मधेशीले पहिचान खोजेको बताउँदै वहाँले प्रमुख तीन दल लचकताकासाथ प्रस्तुत भएर मधेशको समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।
अलग मधेश बनाउने कुरा चलिरहेको भन्दै नेपालभित्रै मधेशभित्र रहेकोले आफू उक्त विषयप्रति सहमत नरहेको वहाँले प्रष्ट पार्नुभयो । छुट्टै देश बनाउने कुरा गर्न पाउँछ त ? प्रतिप्रश्न गर्दै पूर्व उप–प्रधानमन्त्री समेत रहिसक्नुभएका नेता गच्छदारले राज्यले कार्वाही गर्नुपर्नेमा जोड दिए ।
पत्रकार सम्मेलनमा फोरम लोकतान्त्रिकका केन्द्रीय उपाध्यक्ष जितेन्द्रनारायण देव, पार्टीका महासचिव भारतेन्द्रु मल्लिक, सांसद सुबोध कुमार पोखरेल, केन्द्रीय सदस्य विन्देश्वर साह ‘बिन्दी’, पूर्व सांसद भुपेन्द्र चौधरी, जिल्ला अध्यक्ष शैलेश कुमार चौधरी, महिला नेतृ बिन्दु यादवलगायतको उपस्थिति थियो ।



