• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्वार्ता

मधेशी कर्मचारीको अस्तित्व मेट्न थ्रेसहोल्ड लगाइयोः अध्यक्ष झा

मधेशी कर्मचारीको अस्तित्व मेट्न थ्रेसहोल्ड लगाइयोः अध्यक्ष झा
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन सप्तरीका अध्यक्ष अजय कुमार झा सप्तरी जिल्लाका प्रखर बौद्धिक व्यक्तित्वमा गनिनुहुन्छ । जिल्ला वन कार्यालय सप्तरी, राजविराजमा कार्यरत कर्मचारी झा नेपाल मधेशी निजामती कर्मचारी मञ्च सप्तरीलाई आरम्भदेखि नै नेतृत्व गर्दै आउनुभएको छ । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनको गठनयता ट्रेड यूनियनको उपादेयताको सन्दर्भलाई लिएर पत्रकार संतोष चौधरीले कानून व्यवसायी समेत रहनुभएका झासँग लिनुभएको संक्षिप्त अन्तर्वार्ता:
अजय कुमार झा (अध्यक्ष, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन, सप्तरी)

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनको निर्वाचन भयो । तर त्यसपछिको कुनै गतिविधि नै देखिएन । चुनावसँगै ट्रेड यूनियन सकिएजस्तो छ नि ?
हो, अब हामीलाई पनि त्यस्तै लाग्न थालेको छ । सरकारले सात करोड रुपैयाँ खर्चेर गत जेठ १९ गते निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनको चुनाव गरायो । त्यस दिन सार्वजनिक बिदा पनि दियो । एक दिन बिदा हुँदा पर्ने आर्थिक क्षति पनि त्यसैमा जोडिनसक्छ । तर त्यो निर्वाचन सकिएको ९ महिना बितिसक्दा पनि ट्रेड यूनियनको कामकाज व्यवस्थित गर्ने काम भएको छैन । कार्यालय भवन कायम हुन सकेको छैन । कार्यालयको बोर्ड झुण्ड्याउन कार्यालय भवनको ठेगान लाग्नुपर्छ । फर्निचर, स्टेशनरी आदि उपलब्ध हुनपर्छ । साइनबोर्ड बनाउँदा लोगो, छाप र लेटरप्याड तोकिनुपर्छ । सरकारले लोगोसम्म सुनिश्चित गरी नदिएको अवस्था छ । यस्तो अवस्थामा ट्रेड यूनियन कार्यालयकै अस्तित्व देखिन सकेको छैन । सरकारी कर्मचारीहरुले पनि आवश्यक पर्दा ट्रेड यूनियनका पदाधिकारीहरुलाई सम्पर्क गर्न कार्यालय कार्यालय खोजी हिँड्नुपर्ने अवस्था छ । एक हिसाबले ट्रेड यूनियनलाई निष्क्रिय पारेर राखिएजस्तो लाग्छ । ट्रेड यूनियन कागजमै सीमित रहेको अवस्था छ । यहाँ सप्तरीमा हामीले जिल्ला प्रशासन कार्यालयलाई निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनको कार्यालय सञ्चालन हुने अवस्था निर्माणका लागि पहल गरी दिन आग्रह गरेका छौं ।

 

सपथ ग्रहण त गर्नुभयो नि ।
हो, हामीले सपथ ग्रहण गर्यौं । हामीले निर्वाचित भएको प्रमाणपत्र पनि पायौं । त्यो कार्यक्रम राष्ट्रव्यापि रुपमा भएकोले सँगसँगै भयो । तर त्यसपछिका कामकुराका लागि कार्यालय भवन त चाहियो नि ।

यो काम तपाईंहरुले आफैं गर्न सक्नु हुन्न ?
हामीले एउटै जिल्लामा यसो त्यसो गर्ने कुरा भएन । यो राष्ट्रियस्तरको संगठन हो । यसको सञ्जाल ठूलो छ । कार्यालय व्यवस्थापनमा एकरुपता र समन्वय हुनुपर्छ । नेपाल सरकारले यो सबै व्यवस्था मिलाउने हो । हाम्रो आधिकारिक ट्रेड यूनियनको केन्द्रीय निकायले पनि पहल गर्नुपर्छ ।


तपाईंको जिल्ला समितिको बैठक आदि भएको छ कि छैन ?
ट्रेड यूनियनको बैठक हरेक महिना भएको छ । कृषि विकास कार्यालयको हलमा बैठक बस्दै आएका छौं । निजामती कर्मचारीहरुबीच आइ परेका र आधिकारिक ट्रेड यूनियनले हेर्नुपर्ने कामकुराहरु हामीले अहिले सडकबाटै हेर्दै आएका छौं । हामीले केन्द्रलाई बारम्बार आग्रह गरे पनि केन्द्रले चासो लिएको छैन । केन्द्रले गर्ने गरेको निर्णयको जानकारीसम्म जिल्लामा नआउने गरेको स्थिति छ ।
खासमा निजामती कर्मचारीहरुको जिल्ला स्तरको आधिकारिक ट्रेड यूनियनले गर्नुपर्ने काम के के हुन् ?
जिल्लास्तरको आधिकारिक ट्रेड यूनियनको मुख्य काम निजामती कर्मचारीहरुको हक, हित र सुविधाको सम्बन्धमा सामुहिक सौदाबाजी गर्ने हो । यस अलावा कर्मचारी तथा ट्रेड यूनियनहरुबीच समन्वय गर्ने काम आदि रहेको छ ।
आधिकारिक ट्रेड यूनियन कर्मचारी हितको वकालत गर्ने संस्था हो । यसबाट आम जनताले पनि केही अपेक्षा गर्न सक्छन् कि ?
निजामती सेवाभित्रका विसंगति हटाउने काम ट्रेड यूनियनले गर्नुपर्छ । विधिको शासन, सुशासन र भ्रष्टाचारमुक्त प्रशासन निर्माण गर्ने कामको अगुवाई ट्रेड यूनियनले गर्नुपर्छ ।
ट्रेड यूनियन गठन भएयता सरकारी कार्यालयहरुमा कर्मचारी र सेवाग्राहीबीच समस्या उत्पन्न भएका घटनाहरु पनि देखिए नि ।
निजामती कर्मचारी र सेवाग्राहीबीच यदाकदा समस्या पैदा हुनु नयाँ कुरा होइन । देशको चलिआएको व्यवस्था र अवस्था नै त्यस्तै छ । यसमा सुधारका लागि धेरै कुराहरु गरिएका छन् तर सुधारका कामहरु भने हुन सकेको जस्तो अनुभव कसैले गर्न पाएको छैन । मैले अव्यवस्था विरुद्ध बोल्दै आएको कुरा सबैलाई थाहा भएकै हो । निजामती सेवा दिवस– २०७३ का अवसरमा आयोजित समारोहमा मैले जिल्ला वन कार्यालयको मेरो फाँटलाई भ्रष्टाचारमुक्त फाँट भनी घोषणा गरें । हरेक कार्यालयका कर्मचारीले सरकारी काममा जनतालाई सर्वोपरी मानेर अपनत्वको भावनाका साथ कर्मचारीहरुले जनताको सेवा गर्ने मानसिकता विकसित गर्नु आवश्यक छ । अब कार्यालयहरुमा क्षतिपूर्तिसहितको नागरिक बडापत्र राखिनुपर्छ । नेपाल सरकारले गरेको यो नौलो व्यवस्था हो । कतिपय जिल्लामा कार्यान्वयनमा आइसकेको छ । सप्तरीमा पनि यो लागू हुनुपर्छ । सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमज्यूको पहलमा यहाँका सम्पूर्ण कार्यालयहरुको नागरिक बडापत्रको संगालो प्रकाशित भएको छ । यसलाई ठूलो उपलब्धि मान्नुपर्छ । तर यो संगालो नागरिकहरुबीच पुर्याउन सक्नुपर्छ । नागरिकले घरबाट निस्किँदा खेरी आवश्यक सबै कुराहरु लिएरै कार्यालय प्रवेश गर्नुपर्छ । ताकि यो र त्यो को बहानामा कार्यालय पटक पटक धाउनुनपरोस् । तत्कालीन पुनरावेदन अदालत राजविराज र हाल जनकपुर उच्च अदालत राजविराज इजलाशका माननीय मुख्य न्यायाधीश कुमार चुडालज्यूूको उपस्थितिमा आयोजित उक्त समारोहमा मैले एउटा के कुरा पनि राखेको थिएँ भने नेपाल राजपत्र, ऐन–कानून, सर्वोच्च अदालत र कानून किताब व्यवस्था समितिका प्रकाशनहरु सर्वसाधारणलाई सहज रुपमा उपलब्ध हुनु पर्छ । माननीय मुख्य न्यायाधीशज्यूले पनि हामीलाई आफ्नो अदालतभित्रै आफूले यस्तो व्यवस्था गर्ने आश्वासन दिनुभएको थियो । प्राचीन कालदेखि चल्दै आएका विसंगतिहरुको उन्मूलनका लागि सर्र्वपक्षीय प्रयास आवश्यक हुन्छ ।
अब मधेशतिर लागौं, निजामती कर्मचारीको आधिकारिक ट्रेड यूनियनमा मधेशको प्रस्तुती कस्तो छ ?
निजामती ट्रेड यूनियनमा हामीले प्रतिनिधित्व गर्ने संस्था नेपाल मधेशी निजामती कर्मचारी मञ्च हो । गएको निर्वाचनमा हाम्रो प्रदर्शन हामीले सोचे जति हुन सकेन । तैपनि सातवटा जिल्लामा हामीले पहिलो मत पाएका छौं । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, नवलपरासी जिल्लामा हामीले नेतृत्व गरेका छौं । अरु कतिपय जिल्लामा हामी दोस्रो वा तेस्रो मत पाएका छौं । उपाध्यक्ष, सचिव, सहसचिव र सदस्य पदहरुमा हामी निर्वाचित भएका छौं । निर्वाचनमा मधेशी निजामती कर्मचारी मञ्चलाई छेउ लगाउने नियत सप्तरीमै पनि देखियो । राजनीतिक तहबाट समेत प्रतिकार गर्नुपर्ने स्थिति उत्पन्न भयो । ५५ वटा जिल्लामा मञ्चको उपस्थिति छ । हामीले मधेशी कर्मचारीले उठाएका मागहरु प्राप्त गर्न जिल्ला जिल्ला र केन्द्रमा समेत संघर्ष गर्दै आएका छौं ।


तर केन्द्रमा प्रतिनिधित्व गर्न सक्नुभएन नि ?
केन्द्र तहमा हामीले हाम्रो अवस्था अनुसार मत प्राप्त गरेका छौं । केन्द्रीय आधिकारिक ट्रेड यूनियनमा समानुपातिक रुपमा हाम्रो प्रतिनिधित्व हुनुपर्ने हो । तर राजनैतिक कारणले थ्रेसहोल्ड लगाएर केन्द्रीय समितिबाट हामीलाई वञ्चित र बहिष्कृत गर्ने काम भएको छ । मधेशी निजामती कर्मचारी मञ्चलाई अनुपयुक्त बनाउने र मञ्चको अस्तित्व मेटाउने काम गरिएको छ । निर्वाचनका लागि मनोनयनपत्र दर्ता भई सकेपछि १० प्रतिशत थ्रेसहोल्ड लगाउने निर्णय गरियो । के खेल सुरु भई सकेपछि खेलका नियमहरु परिवर्तन गर्न पाइँन्न नि ।
थ्रेसहोल्ड लगाउनुको कारण के हो ?
थ्रेसहोल्ड लगाउनुको एकमात्र कारण केन्द्रीय आधिकारिक ट्रेड यूनियनमा मधेशी कर्मचारीलाई बस्न नदिन चाहनु हो । सामुहिक सौदावाजीमा हिस्सेदार बन्न नदिनु हो । आधिकारिक ट्रेड यूनियन सौदाबाजी गर्ने ठाउँ हो । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र नजिकका ट्रेड यूनियनहरूले आपसमा साँठगाँठ गरेर मधेश दल नजिकको मानिने मधेशी निजामती कर्मचारी मञ्चलाई यो ठाउँमा पुग्नबाट रोकेको हो । नेपालमा करिव ८३ हजार निजामती कर्मचारी छन् । त्यसमा मधेशी कर्मचारीहरुको संख्या सात हजार रहेको छ । सबै मधेशी कर्मचारीले मञ्चलाई नै मत दिने हो भने पनि १० प्रतिशतको थ्रेसहोल्डलाई पार गर्न सकिदैन । यसबाट थ्रेसहोल्ड लगाउन तम्सिएकाहरुको नियत प्रष्ट हुन्छ । तर हामी त्यसविरुद्ध संघर्षरत छौं । अदालतमा पनि गएका छौं ।
अदालततिरको हालचाल के छ ?
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनको निर्वाचनसम्बन्धी विनियमावली र विधानको थ्रेशहोल्ड प्रावधानले केन्द्रीय आधिकारिक ट्रेड यूनियनमा मधेशी कर्मचारीलाई प्रवेश र प्रतिनिधित्व गर्न नदिई सामुदायिक हितमाथि पारेको आघात संविधान र कानूनको आशय, मर्म, निर्देशन र हाल स्थापित समानुपातिक समावेशीको सिद्धान्त विपरीत छ भनी थ्रेसहोल्ड खारेज गर्न माग गर्दै नेपाल मधेशी निजामती कर्मचारी मञ्चले सर्वोच्च अदालतमा रिट दर्ता गराएको छ । तर यो रिट हाल संवैधानिक इजलासतर्फ सारिएको छ ।


मधेशी कर्मचारी मञ्च अहिले के गर्दैछ ?
मधेशी निजामती कर्मचारीको हक, हित र सुविधाका लागि र मधेश आन्दोलनलाई ऊर्जा दिन यो मञ्च २०६३ सालको आन्दोलनको बीचमा माघ १७ गते स्थापित भएको हो । सरकारी सेवामा रहेर पनि मधेशी भएकै कारण मधेश आन्दोलनलाई दबाउन गरिएको सरकारी करतूतहरुको विरुद्ध सरकारलाई दबाब दिन लोकतन्त्र, गणतन्त्र आदि नामबाटै फस्टाएको राजनीतिक दल र तत्कालीन समयमा रहेका तिनका अनुयायी कर्मचारी सेलहरुलाई अनुरोध गर्दा गर्दै पनि तिनीहरुको बेवास्ताकै कारण मधेशी निजामती कर्मचारीहरुको हक, हित एवं मधेश आन्दोलनलाई ऊर्जा दिन गठित यो संस्था आफ्नो मूल कार्यमा लागिरहेको छ ।