
यसपालि सप्तरीमा गत वर्षको तुलनामा दोब्बर धान फल्यो । वर्षाले साथ दिनुका साथै सिँचाईको समेत उचित प्रबन्ध भएका कारणले गत वर्षभन्दा धेरै बढी जमीनमा रोपाई हुनाका साथै औसत उत्पादन पनि निकै बढ्न पुग्यो । तर, पनि यहाँका किसानहरुको अनुहारमा खुशीको छनक देखा परेको छैन । उत्पादन लागतभन्दा पनि कम मूल्यमा धान बेच्नु पर्ने बाध्यताले गर्दा सप्तरीका किसानहरु यति बेला विचौलियाहरुको चंगुलमा फँसेका छन् ।
फलस्वरुप १९ रु. केजी भन्दा पनि कम मूल्यमा धान बेच्नु परेको किसानहरुको बिवशता छ । धान व्यापारीले मिलबालाले तोकेको दरमा धान किन्न थालेपछि किसानहरुले लागत बमोजिमको रकमपनि पाउन नसक्ने अवस्था छ । सरकारले धानको समर्थन मूल्य निर्धारणमा गरेको ढिलाईले गर्दा किसानहरु मिलबालाहरुको चंगुलमा फँस्दै गएका हुन् । सिँचाई, बीऊविजन कीटनाशक औषधीदेखि मलखादसम्मको अभाव भोग्नु परेका सप्तरीका किसानका निमित्त भूमि उर्वर भएर पनि खेती गर्नु त्यति सजिलो छैन । प्रतिकूलतासित संघर्ष गर्दै उनीहरुले जसोतसो खेती त गर्छन, तर, त्यसको उचित मूल्य नपाएपछि उनीहरुमा खिन्नता उत्पन्न हुनुलाई अस्वाभाविक भन्न सकिदैन । सरकारले किसानहरुको हितका लागि भन्दै विभिन्न कार्यक्रम त ल्याउँछ, तर किसानको उत्पादन बिक्री वितरणको व्यवस्थासँगै त्यसको उचित मूल्य निर्धारणमा भने तत्परता देखाउन नसकेका कारणले नै यहाँका किसानहरुले निराश बन्नु परेको हो ।
धानको उत्पादन लगत्तै त्यसको समर्थन मूल्य तोकि दिएमा किसानले लागतै घटाएर कौडीको मोलमा आफ्नो अनाज पक्कै पनि बेच्नु पर्ने थिएन होला । उत्पादनको उचित मूल्य पाउँदा मात्र उत्पादकमा हौसला जाग्ने हो । तर, सरकारी स्तरबाट भएको ढिलासुस्तीका कारणले यहाँका किसानहरु उत्साहित हुनाको बदला निरुत्साहित भईरहेका छन् । जीविकोपार्जनको प्रमुख माध्यम कृषि पेशा अंगालेका सप्तरीका किसानले निरुत्साहित हुनु प¥यो भने यसको प्रत्यक्ष प्रभाव समग्र जिल्लाकै आर्थिक अवस्थामाथि पर्ने निश्चित छ । त्यसैले अविलम्ब धानको समर्थन मूल्य तोकेर उनीहरुको नैराश्यता हटाइनु आवश्यक छ ।



