
राजविराज, १ पुस । सप्तरीको शम्भुनाथ नगरपालिका स्थित सखी एफ.एम.मा बिहीवार थारु पत्रकार संघ शाखा सप्तरी गठन गरिएको छ ।
थारु पत्रकार संघ नेपालका कोषाध्यक्ष शैलेन्द्र चौधरीको संयोजकत्वमा ९ सदस्य थारु पत्रकार संघ शाखा सप्तरी कार्य समिति गठन गरिएको हो । गठित समितिको अध्यक्षमा छिन्नमस्ता हालचालका सह–सम्पादक नबिन चौधरीलाई सर्व सहमत चयन गरिएको छ । समितिको उपाध्यक्षमा भगवती मडर, सचिवमा प्रिया सिंह थारु, कोषाध्यक्षमा भुपेन्द्र चौधरी, सहसचिवमा रामनाथ चौधरी रहेका छन । यसैगरी सदस्यहरुमा जुसी चौधरी, प्रमोद चौधरी, देवनाथ चौधरी र सूर्या चौधरी रहेका छन ।
थारु कल्याणकारिणी सभाका जिल्ला सभापति अरुण कुमार चौधरीको प्रमुख आतिथ्यमा तथा ‘सत्यके खोजी’ सप्ताहिक पत्रिकाको भुपु सम्पादक देवनारायण चौधरीको अध्यक्षतामा गठन गरिएको उक्त समितिको सल्लाहकारमा अरुण कुमार चौधरी, देवनारायण चौधरी, महेन्द्र प्रसाद चौधरी र सखी एफ.एम.का स्टेशन म्यानेजर प्रमिला चौधरी रहेका छन् ।
२०६७ सालमा कान्तिपुर टेलिभिजनका स्वर्गिय जयप्रकाश चौधरी तथा गोरखा पत्रका सम्वादाता कृष्ण राज सर्वाहारिको संयुक्त संयोजनमा गठित थारु पत्रकार संघ केन्द्रको हाल थारुहरुको बसोबास रहेको २६ जिल्ला मध्ये १४ जिल्लामा शाखा गठन भईसकेको तथा चाडै नै बाँकी जिल्लामा पनि गठन गर्ने था.प.स.केन्द्रका कोषाध्यक्ष चौधरीले बताए । नव गठित समितिलाई शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि था.क.स.का सप्तरी जिल्ला सभापति चौधरीले थारु पत्रकार नभएकोले थारुहरुको मुद्दा, सवाल विभिन्न आन्दोलन मार्फत थारु समुदायले उठाउँदै आए पनि स्थानीय लगायत केन्द्रीय सञ्चारमाध्यमहरुले अपेक्षाकृत प्रकाशन प्रसारण हुन नसकेको भन्दै थारु पत्रकारको उत्पादन र परिचालन गर्नुपर्ने आवश्यकता औंल्याए ।



