• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

जनकपुरमा शुरु भयो तीन दिवसीय साहित्य कला उत्सव(फोटो फिचर समेत)

जनकपुरमा शुरु भयो तीन दिवसीय साहित्य कला उत्सव(फोटो फिचर समेत)

धनुषा, २६ मंसिर । नेपाल सरकारका उप–प्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले संशोधन प्रस्ताव पारित गर्नमा सहयोग पुर्याउन आग्रह गरेका छन् ।
जनकपुरमा आइतवारदेखि शुरु भएको तीन दिवसीय साहित्य कला उत्सवको उद्घाटन गर्दै उनले यस्तो कुरा आग्रह गरेका हुन् । आफैले सहमति जनाएको संशोधन प्रस्तावको विरोधमा उभेर एमालेका नेताहरुले गैरलोकतान्त्रिक संस्कार प्रस्तुत गरिरहेको उनले बताए । एमाले अध्यक्ष केपी शर्मा ओली आफैले हस्ताक्षर गरेको सम्झौतालाई राष्ट्रघाती भन्नु हाँस्यास्पद भएको उप–प्रधान तथा गृहमन्त्री निधिले टिप्पणी गरे । मैथिली भाषालाई नेपाली पछि कामकाजको भाषा बनाउनुपर्नेमा उनले जोड दिए ।
नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मैथिली भाषालाई अगाडि बढाउदा आफूहरले सहयोग गर्ने बताए । उनले विदेशी भाषालाई कसैले स्थापित गर्न चाहे ठूलो भुल हुने चेतावनी दिए ।
नयाँ शक्ति नेपालका सह–संयोजक रामचन्द्र झा, संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राई, एमालेका सहसचिव, घनश्याम भूषाल, माओवादी वैद्यका वरिष्ठ नेता सिपी गजुरेल, माओवादी का नेता प्रभु साह लगायतले सम्वोधन गरे । सोही समारोहमा गुहमन्त्री निधिले चारवटा पुस्तकको विमोचन गरेका छन् ।
मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा आयोजित समारोहमा चर्चित नायिका डोली सरकारलगायतका कलाकारहरुले सांस्कृतिक गीत तथा नृत्य प्रस्तुत गरेका छन् । जनकपुर उद्योग बाणिज्य संघमा मैथिली विकास कोषले आयोजना गरेको साहित्य कला उत्सवमा नेपाल र भारतका विभिन्न विद्वानहरुको सहभागिता रहेको छ ।
तीन दिन सम्म हुने उक्त उत्सवमा बिभिन्न सत्रमा मैथिलीका हरेक क्षेत्रको अवस्थाका बारेमा छलफल हुने जनाईएको छ । उत्सवमा संघियता र मिथिला, मिथिलाको राजनीतिक सांस्कृतिक संकट र निकास, मैथिली कविताको स्वर र शिल्प, मैथिली साहित्यमा समालोचनात्मक प्रवृति, मैथिली साहित्य लेखनमा नारी हस्ताक्षर, मिथिला चित्रकलामा आधुनिक चेतना र व्यवसायिकता, मैथिली संगीतमा लोक लय निजत्व र आधुनिकता, मैथिली फिल्म निर्माण र व्यवसायिकता, मैथिली पुस्तक इतिहासक घाउ, मैथिली रंगमञ्च, मिथिलामा जातिवादीगत विभाजनको प्रभाव र विकल्प, नेपालको भाषा नीति र मैथिली, मैथिली भाषाको विकासमा सञ्चारको भूमिका र मिथिलामा पर्यटनको सम्भावना विषयमा छलफल गरिने आयोजक समितिले जनाएको छ ।

शब्दः सुजित कुमार झा, तस्विरहरुः घनश्याम मिश्र/जनकपुर