सप्तरीको बलिया गाउँमा कुपोषणको पहाडः कहाँ छन् सरकार ?

सप्तरीको बलिया गाउँमा कुपोषणको पहाडः कहाँ छन् सरकार ?
Bwtech New Add With Software & Bull SMS

बोधराज सुवेदी/महुली, २३ मंसिर । सप्तरीको डाढा गाविसको वडा नम्वर– ७ स्थित बलिया गाउँमा कुपोषाणको कारणले एक सत्र वर्षिय किशोरको मृत्यु भयो । सरकारी पक्षको उदासिनताको कारणले १७ वर्षिय शम्भु कुमार रामको कुपोषणले गत मंसिर १२ गते ज्यान गएको हो । विगत पाँच वर्षदेखि कुपोषणबाट पिडीत रामको परिवारमा वुवा, आमा र एक भाइ रहेका छन् । वाथ रोगले पिडीत ५५ वर्षिय वुवा देव नारायण राम, ५० वर्षिय आमा शिवु राम र १५ वर्षिय भाइ विद्यानन्द रामलाई छोडेर गएका रामको घरमा अहिले खाने एक गेडो अन्न पनि नरहेको छिमेकीहरु बताउँछन् ।
१६ घुर घडेरी मध्ये १२ धुर मृतक शम्भुको उपचारमा सकिएपछि अव राम परिवारको वस्ने वास र खाने गाँस दुवै लगभग समाप्त भएको अवस्था छ । आपतको बेला साथ पाउनुपर्नेमा गाउँकै ठुलाबडावाट तिरस्कृत भएर वाँच्नु परेको मृतकका वुवा देव नारायण रामको गुनासो छ । ‘छोरोले छोडेर गएको पिडा थिंदै थियो, त्यसमाथी गाउँका ठालुले कलको पानी समेत खान दिएनन्’ गहभरी आँसुपार्दै रामले भने– ‘छिमेकमा रहेका मुस्लिम दाजुभाइले आफ्नो चापाकल प्रयोग गर्न दिएका हुनाले नुहाउने, खोले(कनिकाको झोल) पकाउने र पिउने पानीसम्म पाएको छु हजुर ।’
कुपोषणबाट अकालमा कसैको मृत्यु नहोस भनेर राज्यले निशुल्क उपचारको कार्यक्रम चलाएको भए पनि सोकोलागि सम्बन्धित निकायवाट आवश्यक सहयोग नपाउँदा रामले उक्त सुविधावाट वञ्चित रहनु परेको रामका आफन्तहरुको भनाई छ । राज्यको सुविधा उपयोग गर्न आवश्यक पर्ने गाविसको सिफारिस माग्न जाँदा सचिव केशव झाले हप्काएर पठाएको मृतक रामका वुवाले दुखेसो पोखे । उनले भने ‘गाविसमा गएर सहयोग मागेपछि सरकारले सहयोग गर्छ भन्ने सुनेर सचिवसंग विन्ति विसाउँदा उल्टै हप्काएर वाहिर निकालिदिए ।’
त्यसैगरी सोही गाउँका २५ वर्षिय राम पुकार खंगको नियती पनि उस्तै छ । हाड र छाला मात्र वाँकी रहेको उनको शरिर कुपोषणकै कारणले मृत्युको मुखमा पुग्ने अवस्थामा रहेको छ । विगत तीन वर्षदेखि कुपोषणले पीडित खंगको उपचारकोलागि आफुसँग पैसा नरहेको र सरोकारवाला निकायमा परिवारको पहुुँच नहुुुँदा यस्तो अवस्था आएको हो । खंगले निःशुल्क उपचारको सिफारिसकोलागि गाविसमा सम्पर्क गरेको तर कसैले वास्ता नगरेको गुनासो गरे । उनले भने,‘आफुसँग भात खाने खर्च त छैन, दवाई केबाट गर्नु, कसैले सहयोग गर्दैनन् बरु उल्टै हप्काउँछन् ।’
वुवा ६० वर्षिय झवर खंगका दुवै आँखामा मोतिविन्दु लागेको र ५५ वर्षिया आमा लिखियादेवी पनि वाथ रोगले पीडित भएपछि खंगको परिवारले दिनको एक छाक खान पनि मुस्किल परेको छिमेकी रामसेवक रामले बताए । खान नपाएर जीउँदो लास बनेको खंगको जीवन रक्षाकोलागि हामी सवैले पहल गर्नुु पर्ने उनको भनाई छ । मानवताको नाताले आफुुले सक्दो सहयोग गरेको वताउँँदै उनले खंग बचाउ अभियान नै सञ्चालन गरेर राज्यलाई दवाव दिनुुपर्ने उनको तर्क छ ।
पूर्व पश्चिम लोकमार्गको महुली खण्डबाट करिव १० किलो मिटर दक्षिण र जिल्ला सदरमुकाम राजविराजवाट करीव ११ किलो मिटर उत्तरमा रहेको महुली मन्सापुर भित्रीबाटोमा पर्ने डाढा गाविसको वडा नं. ७ बलियामा कुल ६५ घर राम र खंग समुदायको वस्ती रहेको छ । दिनभरी बनीबुतो गरेर बेलुकाको छाक टार्नु यी दलित समुदायको दैनिकी हो । टाउको लुकाउन फुसको छाप्रो समेत नभएका उनीहरुमध्ये कसैकसैको मुश्किलले वढीमा १० धुर घडेरी रहेको छ । घरमा अन्नको दानो छैन । बनीबुतो गरेर ल्याएको रकमले परिवारका सवै सदस्यलाई पुरा पेट खान नपुग्ने अवस्था छ । अघाउञ्जेल खान नपाएर यहाँका अधिकांस नवजात शिशु र किशोर किशोरीहरु कुपोषणको शिकार हुने गरेका छन् ।
यस्तो संवेदनशील मामलामा राज्यपक्ष पुरै वेखवर रहनु खेद पूर्ण छ । राज्य मात्र होइन सस्तो लोकप्रियतमा रमाउने अधिकारवादी संस्थाहरु, कथित दलित अधिकारको दुहाई दिएर नथाक्ने निकायहरुले समेत शम्भु कुमार राम र राम पुकार खंग जस्ताको उद्धार गर्न र उनीहरुको अधिकार दिलाउन नसक्नुु विडम्बना नै भन्नुपर्छ । शम्भुु र राम पुकार त एक प्रतिनिधी पात्र मात्र हुन् । नेपालमा उनीहरु जस्ता कतिले कुपोषित भएर मृत्युवरण गर्नु परिहेको होला । राज्यलाई राज्य हुनुुको र अधिकारवादीहरुलाई आफ्नो कर्तब्यको महशुस छ त ? आज आम नागरिकले यही प्रश्न गरिरहेका छन् ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *