‘ईच्छा मरण ऐन’ कार्यान्वयन हुनुपर्छः पुर्व सांसद शर्मा

‘ईच्छा मरण ऐन’ कार्यान्वयन हुनुपर्छः पुर्व सांसद शर्मा
Bwtech New Add With Software & Bull SMS

राजविराज, १६ मंसिर । वरिष्ठ राजनीतिकर्मी एवम् पुर्व सांसद कुबेर शर्माले ‘ईच्छा मरण ऐन’ कार्यान्वयन हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।
विहीवार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । डेनमार्क, बेल्जियम, स्वीटजरल्याण्ड, नेदरल्याण्ड, संयुक्त राज्य अमेरिकालगायतका देशहरुमा उमेरको हद पार भई कष्टप्रद अवस्थामा रहेका ज्येष्ठ नागरिकलाई सहमतिमा इच्छा मृत्युको हक सुनिश्चित रहेको बताउँदै उनले भने ‘नेपालमा समेत अति कष्टप्रद अवस्थामा ज्येष्ठ नागरिक जीवन जिउन बाध्य भईरहेका छन्, यस्तो अवस्थामा ईच्छा मरण ऐन यहाँ पनि आवश्यक छ ।’
विश्वका धनी देशहरुमा ८० वर्ष नाघेका नागरिकहरु ठूला संख्यामा बेसहारा जीवन बाँच्न बाध्य भएको जानकारी दिँदै उनले भने ‘राज्यले आत्महत्यालाई दण्डनीय ठहराएको छ तर कुनै पनि व्यक्ति स्वयंमले मर्ने ईच्छा व्यक्त गरेमा उसलाई प्राण त्याग्न कुनै धर्म, परम्परा र ऐनले रोक्नु हुँदैन ।’ स्वेच्छाले मृत्युवरण गर्न राज्य, समाज र स्वास्थ्यकर्मीहरुले सहज बाटोबाट ईच्छा पुर्ती गर्न सहयोग गर्नुपर्नेमा उनले बताए ।
पूर्व सांसद शर्माले विश्वका केही देशहरुमा उमेर पुगेका दिर्घरोगीहरुले चाहेमा अस्पतालको तर्फबाट डाक्टरहरुले रोगीलाई प्राण त्याग्न उपयुक्त औषधी दिने कानूनी छुट पाएको पत्रकार सम्मेलनमा जानकारी दिए । फ्रान्समा केही डाक्टरहरुले आफ्ना वृद्ध रोगीहरुलाई उनको ईच्छामा र कोहीलाई नातेदारको अनुरोधमा जीवन समाप्त गर्ने काम गरेको चर्चा गर्दै उनले भने ‘परापूर्वकालमा समेत जीवनको चौथो खण्डमा बुढाबुढीहरु सन्यास लिएर घरपरिवार त्यागेर जङ्गल पस्ने गर्दथे, ईच्छा मरणको परम्पराको रुपमा स्विकार गरिएको छ ।’
परिवारको भिन्दै बस्ने चलनले वुद्धवृद्धाहरुको जीवन थप पीडादायी हुने गरेको बताउँदै जापानमा हाराकिरी आत्महत्या गर्ने प्रथा रहेको बताए । ईच्छामरण चाहने पैसठ्ठी वर्ष उमेर पुगेका रोगग्रस्त वृद्धवृद्धाहरुलाई ईच्छामरणको अधिकार दिनुपर्ने बताउँदै शर्माले भने ‘विरामी अचेत अवस्थामा भएको खण्डमा यो निर्णय नजिकका सरोकारवालाले गर्ने अधिकार हुनुपर्छ, देशका प्रवुद्धवर्ग, राजनीतिक दलहरु र सर्वसाधारण व्यक्तिलाई ईच्छामरण ऐन चाँडो भन्दा चाँडो पास गराउनमा सहयोग गर्न आग्रह छ ।’
सोही पत्रकार सम्मेलनमा वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीलगायत लेखक एवम् पत्रकारहरुको सहभागिता रहेको थियो ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *