
राजविराज, १० मंसिर । २०७१ साल मंसिर १० गते सरकारले काठमाडौंको सुन्धारा क्षेत्रबाट तीन सय भन्दा बढी मधेशीहरुलाई छालाको रङ्ग देखेरै गिरफ्तार गरेको घटनाको स्मरण गर्दै शुक्रवार सप्तरीसहित मधेशका जिल्लाहरुमा रङ्गभेद विरोध दिवस मनाईएको छ ।
मधेशका जिल्लाहरुमा प्रहरीको सुरक्षा घेराका बीच गठबन्धनले रङ्गभेद दिवस मनाएका हुन् । प्रहरीले पूर्व निर्धारित कार्यक्रम स्थलहरुमा कार्यक्रममा अवरोध पुर्याए पनि स्वराजीहरुले स्थान परिवर्तन गर्दै कार्यक्रम आयोजना गरेका छन् ।
डा. सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले यस वर्ष समेत मधेशका जिल्लाहरूमा मंसिर १० गते शुक्रबार प्लाकार्ड र वैनरसहित शान्तिपूर्ण प्रदर्शन गरेका छन् । ’रंगभेद विरोध दिवस’ मधेशको झापादेखि कञ्चनपुर जिल्लासम्म आयोजना गरिएको जानकारी प्राप्त भएको छ ।
सप्तरी सदरमुकाम राजविराजमा पूर्व निर्धारित कार्यक्रम अनुसार हरिनन्देश्वर शिव मन्दिर प्राङ्गणमा भेला भएका स्वराजीहरुको वरिपरि प्रहरीले घेरा हालेका थिए । सोही क्रममा गठबन्धनका अभियन्ता डा. वीरेन्द्र कुमार यादव कार्यक्रम स्थलमा आउने क्रममा गठबन्धनका संयोजक डा. सिके राउत हो कि भनी ठानेर प्रहरीहरु उतै हानिएका थिए । डा. यादवलाई प्रहरीले एकछिन घेरा हालेका थिए ।
तत्पश्चात आफ्ना सहयोगीका साथ उनी राजविराजको मुटु मानिने गजेन्द्र चौक पुगेका थिए । त्यहाँ भेला भएका गठबन्धनका अभियन्ता एवम् समर्थकहरुले ‘स्वतन्त्र मधेश अप्पन देश’ भनी नाराबाजी गरेका थियो । प्रहरी घेराका बावजुद पनि सभाको आयोजना गरियो । उक्त सभामा गठबन्धनका अभियन्ता डा. यादवले मधेश आजाद नभएसम्म मधेशी जनताले अधिकार नपाउने विचार व्यक्त गरे ।
सभामा पूर्व सभासद् महेश यादव, मो. उस्मान मियाँ, श्यामसुन्दर मण्डल, अनिल मण्डल, राजनारायण यादवलगायतले सम्बोधन गरे । सभा चलिरहँदा प्रहरीले स्वराजीहरुको झण्डा, अपिल, टोपी तथा व्यानर खोस्ने प्रयास गरेका थिए । जनकपुरमा समेत प्रहरीले अभियानको कार्यक्रममा प्रहरीले अवरोध पुर्याएका छन् ।
आयोजित डा. सीके राउत जेलबाट रिहा भए पछि, २०७१ साल मंसीर १० गते काठमाडौंमा सार्क सम्मेलन चलिरहेको मौका पारेर काठमाडौंकै खुलामञ्चमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो । सोही कार्यक्रमकालागि तयारी गरिरहेका कार्यकर्ताहरुलाई मंसीर ९ गतेदेखि नै काठमाडौं तथा बाहिरबाट धरपक्कड गरिएको थियो । सोही दिनको स्मरण गर्दै गठबन्धनले रङ्गभेदी दिवस मनाउँदैआएका छन् । मंसीर १० गते पनि सो धरपकड गर्ने क्रम जारी नै रह्यो र सुन्धारा क्षेत्रबाट डा. सी.के. राउत लगायत ३०० भन्दा बढी मधेशीहरुलाई गिरफ्तार गरिएको थियो । त्यस क्षेत्रमा कालो छाला भएको मान्छे देखिने वित्तिकै गिरफ्तार गरिन्थ्यो । सोही क्रममा वीर अस्पताल जान लागेका विरामी कुरुवाहरु तथा कालो वर्णका सादा पोशाकका मधेशी प्रहरीहरु समेत गिरफ्तार भएका थिए ।






