
सनोज ठाकुर । एकान्त पाउनासाथ म थरीथरीका कुरा सोचिरहन्छु । कहिले सबैलाई जितेर संसारकै ठूलो मान्छे बन्ने मन हुन्छ । कहिले अर्कालाई पछि पारेर अघि बढ्दा पछि पर्नेको सराप भेटिन्छ भन्ने लाग्छ । सबैलाई रिझाएर अघि बढ्न सके नै वास्तविक सफलता पाइन्छ भन्ने लाग्छ ।
सानो कक्षामा छँदा कक्षामा प्रथम भए त संसारकै राजा हुन्छु जस्तो लाग्थ्यो । प्रथम हुन के गर्नुपर्छ भनेर आमालाई सोधेँ । उहाँले सधैँ ध्यान दिएर पढे, सफलता आफ्नै पकेटमा हुन्छ भन्नुभयो । परीक्षाको समयमा मात्र नभई अरू बेला पनि निश्चित समय छुट्याएर पढ्नाले कक्षामा मात्र नभई जीवनमै प्रथम भइन्छ भनेर बुबाले थप्नुभयो ।
त्यस अघि म अभिभावकका लागि पढ्थेँ । बुबाआमाका कुरा पछि म आफ्नै लागि पढ्न थालेँ । स्कूलले निःशुल्क किताव दिन्थ्यो । घरपपिरवारले कापी–कलम र व्याकरण÷ग्रामरका पुस्तक किनिदिन्थ्यो । आफूले माग गरेका अन्य सहयोगी सन्दर्भ सामग्री समेत जुटाउन मलाई गाह्रो हुन्नथ्यो । मेहनत गर्दागर्दै म कक्षामा प्रथम हुन थालेँ । विद्यालयले आयोजना गर्ने हरेक प्रतियोगितामा प्रथम पुरस्कार हात पार्न थालेँ । चारैतिरबाट प्रशंसा भेट्न थालेँ । हरपल आनन्दित हुन थालेँ ।
मलाई जित्ने कक्षामा कोही थिएनन् । अतिरिक्त क्रियाकलापमा मलाई उछिन्ने स्कूलमै कोही भएनन् । प्रतियोगिता हुनुपूर्व नै प्रथम पुस्कारको अभिलाषा राख्ने मान्छे नै भएनन् । मेरो मनमा घमण्ड चढ्न थाल्यो । चुलबुलेपन पनि उत्तिकै बढ्न थाल्यो । म आफूलाई अजातशत्रु नै ठान्न थालेँ ।
मेरो घमण्डी व्यवहार देखेर विज्ञान–गणित पढाउने बाल्मीकि प्रसाद सिंह सरले रिसाउँदै भन्नुभयो– “अहाँके मनमे घमण्ड चढगेलै ।” म उहाँदेखि असाध्यै डराउँथेँ । नैतिकवान् मान्छेसँग जो पनि डराउँछ । उहाँ नियमित कक्षमा उपस्थित भएर तजनमन लगाएर पढाउनु हुन्थ्यो । कान अलिक कम सुन्ने उहाँको कमजोरीको फइदा लिएर मैले होहल्ला गरेकै थिएँ । त्यसै कुराबाट हो या अन्य कुनै घटनाबाट हो उहाँ मदेखि रिसाउनुभएको रहेछ ।
म डराउँदै घर फर्किएँ । घरमा धेरै कुरा सोचेँ– सोझासीधामाथि छिचोमिचो गर्दा कुनै न कुनै दिन रहस्य अवश्य खुल्छ, विद्यार्थी सपार्न चाहने शिक्षकलाई उपद्रो मन पर्दैन । भोलिपल्ट कक्षामा पस्नुपूर्व नै बाल्मीकिसरकहाँ पुगेर ‘सरी सर ! अबदेखि कहिल्यै बदमासी गर्दिनँ’ भनेँ । त्यस दिन उहाँ खुशी हुनुभयो । र, भन्नुभयो –“सधैँ सत्य बोल र इमान्दार बन । सुख, शान्ति र सफलता तिमीलाई नमस्कार गर्न आउँछ ।”
त्यस दिनदेखि मेरो मनको उछृङ्खलपन भाग्यो । म शिष्ट र मर्यादित विद्यार्थी बन्नतिर उन्मुख भएँ । भोलिका दिनमा पनि मान्यवरको मायालु र मित्रजनको सहयोगी भइरहने सङ्कल्प गर्दछु ।
कक्षा–८, श्री महावीर मावि, विषहरिया–४, सप्तरी ।



