
राजविराज, २७ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराले संविधान संशोधन गरेर मधेशलगायत आन्दोलनरत पक्षको माग सम्वोधन गर्नुपर्ने पक्षमा आफूहरु रहेको बताएका छन् ।
सप्तरी सदरमुकाम राजविराजमा शनिवार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो कुरा बताएका हुन् । सिमाङ्कनको विवाद समाधान गर्न मधेशसँग जोडिएका पहाडि जिल्लालाई पहाडमा र मधेशी बसोवास जिल्लालाई मधेशमा राख्नुपर्ने तथा जनसङ्ख्याको आधारमा प्रतिनीधित्वलगायतका मागहरु सम्वोधन हुनुपर्नेमा उनले जोड दिदै भने ‘संविधान संशोधन गरेर मधेशलगायत आन्दोलनरत पक्षको माग सम्वोधन गरेर समस्याको निकास खोज्नुपर्नेमा हामी प्रतिवद्ध छौं ।’
स्थानीय चुनावमा जान गाउँपालिकाको अवधारणा अगाडि बढाएर सम्भव नहुने तर्क राख्दै अध्यक्ष जबराले वर्तमान संरचनामै चुनाव गराउनुपर्ने बताउँदै उनले भने ‘स्थानीय चुनावमा जान गाउँपालिकाको अवधारणा अगाडि बढाएर सम्भव छैन, यो वाहियात मात्र हुनेछ, वर्तमान संरचनामै चुनाव गराउनु फलदायी हुनेछ ।
आफूहरुको पार्टी राष्ट्रियता, प्रजातन्त्र, उदारवाद र हिन्दू गणतन्त्रको मूल नाराकासाथ अघि बढेको जानकारी दिनुहुँदै वहाँले धर्मनिरपेक्षता देशमा जबरदस्ती थोपारिएकोले जनमत सङ्ग्रहबाट यसको टुङ्गो लगाउनुपर्ने बताए । राप्रपा अध्यक्ष जबराले अङ्गीकृत नागरिकताको सवालमा आफूहरु स्पष्ट रहेको बताउनुहुँदै अङ्गीकृत नागरिकताधारीले राष्ट्रको सर्वोच्च पदमा जानुपर्ने माग गलत रहेको धारणा राखे ।



