छठ पर्वको दोस्रो दिन आज खरना

छठ पर्वको दोस्रो दिन आज खरना
Bwtech New Add With Software & Bull SMS

दिपेन्द्र यादव / इनरुवा, २० कार्तिक । देशैभरि बसोबास गर्ने मधेशी, थारु लगायतका समुदायले श्रद्धा, भक्ति र सांस्कृतिक प्रतिबिम्बको रुपमा मनाइने छठ पर्व अन्तरगत आज खरना गरिँदैछ ।
चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अरबा–अरबाइन, दोस्रो दिन खरना, तेस्रो दिन बेलुकी अस्ताउन थालेको र चौथो दिन उदाउँदो सूर्यलाई पूजा गरिन्छ । सुनसरीका ग्रामिण तथा शहरी क्षेत्रमा पनि छठ पर्वकालागि पुजा सामग्री किन्न बजारहरुमा चहलपहल बढेको छ ।
निर्धनता र निःसन्तानबाट मुक्ति पाउन एवम् मानव जातिको उत्थान गर्न र अरोग्यका लागि यो पर्व मनाउने गरिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ । आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि पाइन्छ ।पर्वको पहिलो दिन चतुर्थीमा ब्रतालु महिला एवं पुरुष नृत्यकर्मपछि शुद्ध शाकाहारी खाना खान्छन् ।
यसलाई ‘नहाय खाय’ अर्थात नुहाएर खानु भनिन्छ । यो दिन नुहाई, धुवाँई, चोखो भई ब्रतालु महिला एवं पुरुषहरुले लहसुन, प्याज नहाली कालो नुन प्रयोग गरि खाना खाने गर्छन् ।
यस्तै दोस्रो दिन पञ्चमीमा दिनभरि उपवास बसिन्छ, यस दिनलाई ‘खरना’ भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रती यो दिन दिनभरि उपवास बस्ने गर्छन् । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ ।
यो दिन बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ भाँडोमा सख्खर, दूध र चामलको खीर पकाइन्छ । उक्त खीर केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र चढाइसकेपछि व्रतीले प्रसादको रूपमा ग्रहण गर्छन् । परिवारका अन्य सदस्यहरूले पनि यसलाई प्रसादको रूपमा ग्रहण गर्ने चलन रहेको छ ।
पर्वको तेस्रो दिन षष्ठी उपवास बसेका ब्रतालुहरु साँझपख जलाशयमा गई अस्ताउँदो सूर्यको पुजा गर्ने गर्छन् । र चौथो दिन बिहान पुनः जलाशयमा गई उदाउँदो सूर्यको पुजा गरि समाप्त हुन्छ । छठ पूजाका लागि आवश्यक पर्ने सामानहरूलाई चोखो राख्न ब्रतालुहरूले विशेषरूपमा रेखदेख गर्छन् भने यस पर्वमा फलफूल, अदुवाको बोट, उखु, सुथनी, पानी फल, नरिवल, बोडी, नाङ्लो, कन्या, ढकी, माटोको दियो र कराई आवश्यक पर्छ ।
छठ पर्वलाई व्यवस्थित गर्न स्थानीय युवकहरूले समिति बनाई व्यवस्थापन गर्ने गरेका छन् भने यो पर्व जलाशय, पोखरी वा नदी भएको स्थानमा मनाइन्छ । पूर्णरूपमा शाकाहारी हुने यो पर्वमा ठकुवा, भुसुना, फलफूल र कसारले विशेष महत्व राख्छन् ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *