इलाम, २९ असोज । इलामको महमाई–८ स्थित माईखोलाको लोदिया दोभानमा शुक्रबार भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । इलामको दानाबारीबाट अन्दाजी ४०–५० जना यात्रु बोकेर महमाईतर्फ जाँदै गरेको डुङ्गा दिउँसो ३.४५ बजे उक्त स्थानमा पल्टिएको थियो ।
डुङ्गामा सवार यात्रु मध्ये महमाई(१ बस्ने ७५ बर्षिय जस बहादुर राई, सोही ठाउँकी ४५ बर्षिया डम्बर माया मगर, ५८ बर्षिय हर्क बहादुर मगर, महमाई–२ कि ३९ बर्षिया पवित्रा पौडेल, मोरङ मधुमल्ला–२ का खेम खड्काको ६ बर्षिया छोरी अञ्जली खड्का र सोही उमेरकी पुष्पाञ्जली खड्का तेह्रथुम छातेढुङगाका २७ अन्दाजी बर्षिया कृष्ण कुमार घतामी र अन्दाजी ४० बर्षिया पहिचान खुल्न नसकेको एक पुरुष मृत्यु भएको छ।
दुर्घटनामा डुङ्गा चालक महमाई–८ का ४० बर्षिय पर्शु बास्तोला सहित १४ पुरुष र २० महिला गरी ३४ जना उद्दार तथा सम्पर्कमा आएको प्रहरी चौकी महमाईले जनाएको छ।
घटना स्थलमा स्थानीय प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले खोजी कार्य तथा थप अनुसन्धान भइरहेको पूर्व क्षेत्रीय प्रहरीले जनाएको छ ।