निजामती ड्रेसकोड गैर निजामतीदेखि भिन्न हुनुपर्छ

निजामती ड्रेसकोड गैर निजामतीदेखि भिन्न हुनुपर्छ
Bwtech New Add With Software & Bull SMS

अजय कुमार झा

अजय कुमार झा

सामान्यतया पोसाक भन्नाले लुगा (पहिरन) भन्ने बुझिन्छ । कुनै पनि पेसाकर्मीको पहिचान गर्न उसको पोसाकबाट सहज हुन्छ । अर्थात हरेक पेसाकर्मीको ड्रेसकोड हुनु उचित मात्र होईन, जरुरी पनि छ । डाक्टर, स्वास्थ्यकर्मी, नर्सले सेतो एप्रोन लगाउने चलन विश्वव्यापी नै छ । प्रहरी र सेनाको आ–आफ्नै युनिफर्म अर्थात ड्रेसकोड हुन्छ । ठीक त्यसैगरी नेपाल सरकारले निजामती कर्मचारीका लागि समेत ड्रेसकोड तोकेको छ । यद्यपि निजामती कर्मचारीले स्वास्थ्यकर्मी, प्रहरी, सेनाको जस्तो ड्रेसकोडको पालना गरेको देखिँदैन, तर यहाँ निजामती कर्मचारीहरूलाई पनि तोकिएको ड्रेसकोडमा भिन्नता देखिनु उपयुक्त हुन्छ भन्ने ठानेर यो पंक्ति कोरिएको हो ।

लोकसेवा आयोग ऐन, २०६६ को दफा २(च) ले निजामती कर्मचारीको परिभाषा गरेको छ, जस अनुसार “निजामती सेवा वा पद” भन्नाले सैनिक अधिकृत वा जवान र सशस्त्र प्रहरी वा प्रहरी कर्मचारीको सेवा वा पद तथा निजामती सेवा वा पद होइन भनी ऐन द्वारा तोकिएको अन्य सेवा वा पद बाहेक नेपाल सरकारका अरु सबै सेवा वा पद सम्झनु पर्छ ।
२०७२ आश्विन ३ गते जारी भएको नेपालको संविधान, २०७२ को धारा २४३(१) को “स्पष्टीकरण”  मा “निजामती सेवाको पद” भन्नाले सैनिक वा नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपालको कर्मचारीको सेवाको पद तथा निजामती सेवाको पद होइन भनी ऐन बमोजिम तोकिएको अन्य सेवाको पद बाहेक नेपाल सरकारका अरु सबै सेवाको पद सम्झनु पर्छ भनेर यस्तै परिभाषा गरिएको पाइन्छ ।
निजामती सेवा भन्नाले नेपाल प्रशासन सेवा, नेपाल न्याय सेवा, नेपाल वन सेवा, नेपाल कृृषि सेवा, नेपाल शिक्षा सेवा, नेपाल परराष्ट्र सेवा, नेपाल ईन्जिनियरिङ्ग सेवा, नेपाल लेखा परीक्षण सेवा, नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा, नेपाल विविध सेवाका कर्मचारीलाई बुझिन्छ । निजामती कर्मचारीको आचरण सम्बन्धी नियमावली, २०६५ को नियम २ (क) अनुसार ‘निजामती कर्मचारी’ भन्नाले निजामती सेवा ऐन, २०४९ बमोजिम निजामती सेवामा कार्यरत कर्मचारी सम्झनु पर्छ र सो शब्दले स्वास्थ्य सेवा ऐन, २०५३ बमोजिमको स्वास्थ्य सेवामा कार्यरत कर्मचारी समेतलाई सम्झनु पर्छ भनी व्यापक परिभाषा गरेको पाइन्छ । समग्रमा निजामती कर्मचारी भन्नाले निजामती सेवाको पदमा बहाल रहेको व्यक्ति सम्झनु पर्छ ।
सरकारले २०६८ साउन १ गते देखि प्रत्येक निजामती कर्मचारी कार्यालयमा उपस्थित हुँदा ड्रेसकोडको अनिवार्य पालना गर्नुपर्ने व्यवस्था गरेको छ । साताको एक दिन शुक्रबार कर्मचारीले आफूखुसी पोसाक लगाउन सक्छन् । सरकारले निजामती कर्मचारीलाई पोसाक भत्ता दिने गरेको छ र यो रकम प्रत्येक वर्ष चैत महिनाको तलबसँगै भुक्तानी दिने गरेको छ । ड्रेसकोड निर्धारणबाट मुख्य सचिवदेखि कार्यालय सहयोगीसम्ममा एकरूपता देखिएको छ । आफू खुसी पोसाकमा कार्यालय आउने परम्परा सकिएको छ । ड्रेसकोडकै कारणबाट सेवाग्राहीले निजामती कर्मचारीलाई सजिलै चिन्न सक्ने भएको छ । सेवाग्राहीको भीडभाड हुने कार्यालयमा कर्मचारीले तोकिएको पोसाक लगाएर आउँदा बिचौलिया र कर्मचारीको पहिचान हुन सजिलो हुन्छ ।
सरकारले निजामती कर्मचारीलाई तोकेको ड्रेसकोड अनुसार पुरुषले गाढा निलो पैन्ट, सेतो सर्ट, गाढा निलो कोट तथा कालो जुत्ता लगाउनु पर्छ । तर तराईको जिल्लाहरूमा गाढा निलोकोट अनिवार्य छैन । हिमाली क्षेत्रमा गाढा निलो कोटको सट्टा गाढा निलो रंगको ज्याकेट तथा स्पोटर््स जुत्ता प्रयोग गर्न सकिने र जाडो समयमा कोट वा ज्याकेटभित्र स्वेटर प्रयोग गर्न सकिने व्यवस्था छ । त्यस्तै महिला निजामती कर्मचारीले गाढा निलो पैन्ट, सेतो सर्ट, गाढा निलो कोट, कालो जुत्ता, स्याण्डल वा आकासे गाढा निलो सारी, गाढा बैजनी रंगको सारीको पारी, पारी अनुसारको ब्लाउज वा आकासे गाढा निलो कुर्ता तथा गाढा बैजनी सादा सलवार र सल लगाउनु पर्दछ । हुनत ड्रेसकोड पालनामा अरुचीहरू देखिएपछि सरकारले ड्रेसकोड पालना नगर्ने कर्मचारीलाई निजामती सेवा नियमावली, २०५० को आचरण महल अनुसार कार्यबाही गरिने परिपत्र गरेको पाइन्छ ।
सरकारले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका लागि पृथक पृथक पोसाक तथा युनिफर्म तोकेको छ । युनिफर्मबाटै सर्वसाधारणले अमुक व्यक्ति जनपद प्रहरी, अमुक व्यक्ति सशस्त्र प्रहरी, अमुक व्यक्ति नेपाली सेनाको हो भनी सजिलै छुट्याउन सक्छन् । तर एउटै रंगको पोसाक, युनिफर्म तीनवटै सुरक्षाकर्मीले लगाउने हो भने चिन्न गाह्रो हुन्छ कि को प्रहरी, को सशस्त्र प्रहरी वा को सेना ? स्थापित भएको तथ्य, अस्तित्व एवं पहिचान गुम्न गई बराबर हुन पुग्छ । त्यसैले पृथक पहिचान कायम राख्न पनि अरु भन्दा फरक किसिमको पोसाक चाहिन्छ । निजामती कर्मचारीलाई तोकिएकै ड्रेसकोड नेपाल राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक, नेपाल खानेपानी संस्थान, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकमका कमर्चारीका लागि पनि तोकिएकोे छ । एउटै ड्रेसकोड निजामती र गैर निजामती (संस्थान, प्राधिकरण आदि) सबै कर्मचारीले धारण गर्ने हुनाले निजामती कर्मचारीको सेवा वा समूहगत पहिचानमा समस्या भएको छ । कुन कर्मचारी कुन निकाय वा सेवाको भनी छुट्याउन गाह्रो भएको छ ।
निजामती कर्मचारीको हालको पोसाक अरु निकायको कर्मचारीका पोसाकसँग हुबहु मिल्ने भएकाले अरुको अस्तित्व एवं पहिचान गुम्ने भएकोे छ । निजामती कर्मचारीको गैर निजामती भन्दा बेग्लै पहिचान हुनु जरुरी छ । किन कि यो राज्यको स्थायी सरकार हो । निजामती कर्मचारीको पोसाक अरुको भन्दा फरक हुन जरुरी छ । यसर्थ निजामती कर्मचारीको पोसाकको रंग परिर्वतन गरी गैर निजामतीसँग नमिल्ने फरक रंगको पोसाक तोक्नु पर्ने देखिन्छ । अनि मात्र निजामती कर्मचारीको आफ्नै पहिचान कायम हुनेछ । नेपालको संविधान, २०७२ को धारा १८ मा भएको समानताको हक बमोजिम निजामती कर्मचारीलाई तोकिए अनुसारको पोसाक जस्तै निजामती सेवाका अस्थायी वा करारतर्फका कर्मचारीहरूका लागि पनि पोसाकको व्यवस्था गर्नु पर्ने देखिन्छ ।
(लेखक निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन, सप्तरीका अध्यक्ष हुनुहुन्छ ।)

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *