• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
चौरचनमा फस्टायो कुम्हारहरुको व्यापार

राजविराज, १८ भदौ । हिन्दुहरुको महत्वपूर्ण पर्व चौरचनमा प्रयोग हुने माटाका भाँडावर्तनहरुको गत–विगतका वर्षहरुभन्दा यसवर्ष महँगोमा बिक्री भएका कारण –कुम्हार(कुमाले)हरु खुशी भएका छन् ।
चौरचन पर्वका लागि आवश्यक पर्ने माटाका भाडावर्तनको व्यापार गत वर्ष मधेश आन्दोलनका कारण व्यापार प्रभावित भए पनि यसवर्ष बिक्री राम्रो भएका कारण कुम्हारहरु खुशी भएका हुन् । खासगरी मिथिला क्षेत्रमा हिन्दुधर्मावलम्वीहरुले घरघरमा मनाउने चौरचन अर्थात चौठीचाँद पर्वमा यसवर्ष राम्रो कारोबार भएको सप्तरीको इनर्वा गाविस–८ का उमेश पण्डितले बताए । विगतका दुईवर्षयता खडेरी गएको तथा चौरचन पर्वको समयमा पानी परेका कारण माटाका भाडावर्तन बजारसम्म ल्याउन नपाएको र गत वर्ष मधेश आन्दोलनले गर्दा व्यापार प्रभावित भएको बताउँदै उनले भने ‘गत–विगत वर्षहरुभन्दा यसपटक राम्रो कमाइ भएको छ, हामीले गरेको मेहनत सफल भएको छ ।’
चौरचन पर्वमा प्रयोग हुने कोहा, छाछ, छाछी, बौरकी, कौरनी, लदिया, ढकनालगायतका भाँडावर्तनहरु यसवर्ष महँगोमा बिक्री भएको उनले बताए । यसवर्ष मौसमलेसमेत साथ दिएकोले व्यापार राम्रो भएकोमा खुशी व्यक्त गर्दै उनले भने– साना कौरनी, बौरकी, छाँछीलगायतका साना वर्तनहरु २५ रुपैयाँका दरले तथा कौरना, छाँछ, कोहाआदी ६० रुपैयाँसम्ममा बिक्री गर्यौ । सामानहरु अत्यधिक मात्रामा खपत हुने गरेकोले माग अनुसार बनाउन नसकिएको पण्डितले बताए ।
सप्तरी मलेकपुर–९ मुसहरनियाँबाट सदरमुकाम राजविराज माटाका सामान बेच्न आएका सन्तोष पण्डितले समेत यस्तै खुशी व्यक्त गरे । माटाका भाडावर्तन बनाउने पुख्र्याैली पेशा अपनाउँदै आएयताकै सबभन्दा राम्रो कमाइ भएको उनले बताए । हामी कुमालेहरुले कमाउने सिजन नै यहिँ हो, अन्य समयमा त हाम्रो सामान खासै बिक्री हुँदैन, किनभने अचेल मान्छेहरु बढी बिलासी भएकोले प्लाष्टिकका सामानहरु नै किन्ने गर्छन्– उनले थपे– गतवर्ष वर्ष १० रुपैयाँमा बिक्री गरेको वर्तन यसवर्ष २५ रुपैयाँमा बिक्री गरेँ ।
माटाका भाँडावर्तन बनाउने पेशाप्रति निराशा जाग्दैगएको अवस्थामा यसवर्षको बिक्रीले गर्दा आफूहरु उत्साहित भएको उनले बताए । चौरचन पर्वका दिन अर्थात शुक्रवार दिनभरी आफूहरुको सामान बिक्री हुने बताउँदै उनले भने– यसरी नै सर्वसाधारणले हामी कुमालेहरुले बनाएका सामानहरु चाडपर्वमा मात्र प्रयोगमा ल्याएर हुँदैन, पहिलाको जस्तै दैनिक जीवनमा प्रयोग गरिदिएर प्रोत्साहन गरिदिनुपर्दछ ।
कुमालेले बनाएका भाँडावर्तनहरु दही, खीर, मीठाइ, फलफूल आदी राख्नका लागि प्रयोग गर्ने गरिन्छ । निष्ठा एवम् आस्थाका साथ मनाइने यो पर्वमा परिवारमा भएका हरेक व्यक्तिहरुको नामबाट माटाको भाडामा दही, खीर आदी राखेर शुक्ल चतुर्थीका दिन आइतवार साँझ उदाउँदो चन्द्रमालाई अर्घ दिइनेछ ।
चौठीचाँद बाबाको प्रतिकको रुपमा चन्द्रमालाई अर्घ दिनकालागि ब्रतालु महिलाले पुरी तथा खीर बनाउनकालागि प्रयोग गरिने चामल निक्कै सावधानीपूर्वक राखिने प्रचलन रहेको बताउँदै संस्कृतिकर्मी एवम् साहित्यकार करुणा झाले भनिन् ‘चौठीचाँदलाई चढाउने तयार पारिएको चामललगायतका पूजा सामग्री बच्चा वा पशुपञ्छी खाइदिँदा चर्मरोग हुने जनविश्वास अझैं कायम छ । यतिमात्र होइन, यो पर्वमा घरमा जतिवटा पशुचौपाया छ त्यतिवटा नै माटाको भाँडोमा दही, खीर आदी चढाइने गरिएकोले पशुको रक्षा तथा कल्याणकालागि समेत यो पर्व महत्वपूर्ण मानिएको उनले बताईन् ।