
रबिन्द्र यादव
नवलपरासी, ९ भदौ । नवलपरासीको दक्षिणी सिमावर्ती क्षेत्रको गुठी सुर्यपुरामा रहेको एक मात्र गण्डक जलविद्युत केन्द्रले सम्झौता विपरीत साँझको बेला पटक–पटक बिधुत कटौती गर्दा १२ गाउँ विकास समितिका बासिन्दाहरु समस्या भोग्न बाध्य भएका छन् ।
गण्डक जलविद्युत केन्द्रसँग वरिपरिको १२ किलोमिटरसम्म विद्युत कटौती नगर्ने सम्झौता भए पनि केन्द्रले पटक–पटक लाइन काटिरहेको तराई मधेस बिद्यार्थी फ्रन्टका केन्द्रीय महासचिव युवराज मौर्याले बताए । साँझको बेला बिधुत कटौतीले बिद्यार्थीहरुको पढाइमा प्रत्यक्ष असर पारेको भन्दै मौर्याले तराई मधेस बिद्यार्थी फ्रन्टले आन्दोलन गर्नुको विकल्प नरहेको चेतावनी दिएका छन् ।
यता गण्डक जलविद्युत केन्द्रका सहायक ईन्जिनियर ओमप्रकाश चौधरीले साँझको बेला ओभर लोडले आफै ट्रिपिङ्ग भइरहेको बताए । वि.सं १९०३ मा उद्घाटन भएको गण्डक जलविद्युत केन्द्रको पुरानै सामग्री बिग्रेपछि त्यही पुनः मर्मत गरि प्रयोग गर्दै आइरहेको हुनाले बिद्युत कटौती समस्या झन थपिदैगइरहेको जानकारी दिए । सम्बन्धित निकायलाई पटकपटक सुचित गर्दा पनि ध्यान नदिरहेको उनले गुनासो गरे ।
हाल गण्डक जलविद्युत केन्द्र सुरजपुराको ५ एम.भि.ए मात्र रहेकोमा हाल ट्रिपिङ्ग कटौती रोक्नलाई १६.५ एम.भि.ए.को ट्रान्सर्फमर निर्माण कार्य भइरहेको केन्द्रका सुपरभाइजर अमित चौधरीले बताए । उनका अनुसार नयाँ बन्न लागेको प्रोजेण्ट १३२ केभीएको ट्रान्सर्फमर रहने छ । पावर हाउस प्रशासनले अनावश्यक बत्ती बाल्नु, बिद्युत चोरी हुकिङ्ग गर्नु, जनचेतनाको कमी लगायतका समस्याको कारणले विभिन्न गाउँमा लगाइएको ट्रान्सर्फमर बिग्रने र बिद्युत कटौती बढेको बताउँदै यसलाई रोकथाम गर्न कर्मचारीको प्रयास प्रर्याप्त नरहेको उनले बताए ।



