• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

आज सखडाबाट शुभारम्भ हुँदै मेची–महाकाली रथयात्रा

आज सखडाबाट शुभारम्भ हुँदै मेची–महाकाली रथयात्रा

राजविराज, ३० असार । राष्ट्रिय शान्ति एवं मानव कल्याणको हेतु सप्तरीको छिन्नमस्ता सखडेश्वरी शक्ति–पीठ सखडाबाट विहीबार राष्ट्रिय शान्ति मानव कल्याण मेची–महाकाली रथयात्रा शुभारम्भ हुन लागेको छ ।
नेपालमै पहिलो पटक हुन लागेको लक्षचण्डी रुद्र महायज्ञको क्रममा बिहान १०ः३७ बजे यज्ञस्थल सखडाबाट रथयात्रा शुभारम्भ हुन लागेको हो । नेपालको ७५ वटै र भारतको बिहार राज्यको ३८ वटै जिल्लाको साढे चार महिनाका दरले कुल नौ महिनाको भ्रमण गरी महायज्ञ सुरु हुनुभन्दा एक साताअघि यो रथ यज्ञस्थलमा फर्कने कार्यक्रम रहेको महायज्ञ आयोजक समितिको सचिवालयले जनाएको छ ।
रथयात्राको प्रारम्भिक कार्यक्रम अनुसार रथयात्रा सर्वप्रथम पूर्वाञ्चल क्षेत्रको भ्रमण सम्पन्न गरी पश्चिमतर्फ लाग्ने छ । असार ३० देखि साउन ९ गतेसम्म सप्तरी, सुनसरी, मोरङ र झापा जिल्लाका विभिन्न गाउँ–नगर, मठ–मंदिरको भ्रमण गर्ने क्रममा असार ३० गते सुनसरीको पिण्डेश्वर, असार ३१ र साउन १ गते चतरा, साउन २ गते इटहरी, ३–५ गते विराटनगर, ६–७ गते रंगेली, ८ गते सिजुवा र ९ गते उर्लाबारीमा रथयात्राको रात्रिविश्राम हुने कार्यक्रम रहेको पीठाधीश महाकान्त ठाकुरले जानकारी दिएका छन् ।
उनका अनुसार सखडाबाट निस्किने यो रथ राजविराजको वागेश्वरी मंदिर, राम मंदिर, शिव मंदिर, चण्डी भगवती मंदिर, हनुमान मंदिर (कंचनपुररोड), राजदेवी मंदिर, वैष्णो काली मंदिर र गणेश मंदिर (स्वर्ण टोल) मा पूजा–अर्चना गरी हनुमाननगरतर्फ लाग्ने कार्यक्रम रहेको छ । राष्ट्रिय शान्ति र मानव कल्याणका लागि हुन लागेको यस रथयात्राको शुभारम्भ कार्यक्रममा, पूजा–अर्चना हुने मठ–मंदिरमा र सप्तरी खण्डको भ्रमण कार्यमा सहभागी भई रथयात्राको अगुवाई गरी दिन हुन माताका सबै भक्त, सज्जनवृन्द, किसान, व्यापारी, शिक्षक, विद्यार्थी, पेसाकर्मी, श्रमिक, पत्रकार, नागरिक समाजलगायत समस्त सप्तरी जिल्लावासीसँग पीठाधीश ठाकुरले आग्रह गरेका छन् । रथयात्रामा शान्ति सुरक्षा तथा अन्य आवश्यक सहयोग उपलब्ध गराई दिनु हुन सप्तरी प्रशासन तथा सुरक्षा निकायहरूमा समेत उनले अनुरोध गरेको छ ।