
पुस्तौंदेखि बाटोको समस्या यथावत
श्यामसुन्दर यादव
राजविराज, ७ जेठ । पोखरी डिलको ऐलानी जग्गामा झुप्रो बारेर बसेका सप्तरीको कोचाबखारी–७ का ३० घर मुसहर परिवार पुस्तौंदेखि बाटोको समस्या झेल्दैआएका छन् ।
बस्तीको चारैतिर अर्काको नम्बरी जग्गा रहेको र बाटोको व्यवस्था नभएका कारण उनीहरुलाई जिविकोपार्जनको समेत समस्या छ । आफ्नो नाउँमा एक धुर पनि जग्गा नभएका दुई सय पचास जना दलित मुसहरको मुख्य पेशा अर्काको बनी मजदुरी गर्नु नै हो ।
हिउँद र बाली नलगाएको बेला अर्काको खेतको आलीबाट हिँड्ने गरेको भए पनि बाली लगाएको समय तथा वर्षा याममा आवतजावत गर्न समेत मुस्किल परेको स्थानीय कदमलाल सदाले बताए । करिब डेढ सय मीटर जग्गामा बाटो भई दिए आफूहरुको समस्या हल हुने भन्दै उनले सुनाए ‘चुनावको बेला नेताहरुले बाटोको व्यवस्था मिलाई दिने आश्वासन मात्र दिने गरेका छन्, जितेपछि कोही मुख देखाउन आउँदैनन् ।’
बाटोको व्यवस्था गरिदिन नेताहरुलाई पटक–पटक आग्रह गर्दा पनि कसैले काम नगरेर आश्वासनका भरमा झुलाउने मात्र गरेको उनको दुखेसो छ । ‘हामी अनपढ मुसहरहरुलाई प्रलोभनमा पारेर नेताहरुले भोंट लिन्छन् तर हाम्रो दुख कसैले देख्दैनन्’ हकरी देवीले अगाडि भनिन् ‘बस्तीसम्म जाने बाटो भईदिएको भए पशुपालन गरेर भए पनि गुजारा चलाउन सकिन्थ्यो ।’
![]()
आफूहरुले बनी मजदुरी बाहेक गाईवस्तु पालेर आयस्तर उकास्न चाहे पनि बाटो नभएका कारण केही गर्न नसकेको स्थानीय हकरी देवी सदाले बताईन् । ‘बाटोघाटो छैन, चारैतिर अर्काको खेत पर्छ’ उनले भनिन् ‘चराउनलाई लैजान समेत अप्ठ्यारो छ ।’ वर्षाको बेलामा आलीको बाटो चिप्लेर लड्दा ज्याला मजदुरी गरी कमाएर ल्याएको अन्न र गिरहत ९जग्गाधनी०ले दिएको खानेकुरा समेत कैयौं चोटी नष्ट भएको उनले पीडा पोखिन् ।
बाटोको व्यवस्था गरिदिन नेताहरुलाई पटक–पटक आग्रह गर्दा पनि कसैले काम नगरेर आश्वासनका भरमा झुलाउने मात्र गरेको उनको दुखेसो छ । ‘हामी अनपढ मुसहरहरुलाई प्रलोभनमा पारेर नेताहरुले भोंट लिन्छन् तर हाम्रो दुख कसैले देख्दैनन्’ हकरी देवीले अगाडि भनिन् ‘बस्तीसम्म जाने बाटो भईदिएको भए पशुपालन गरेर भए पनि गुजारा चलाउन सकिन्थ्यो ।’ 
बनी मजदुरी गर्न पनि सधैं नपाईने, गाउँमा वैकल्पिक पेशा गर्न पनि बाटो नहुँदा अप्ठ्यारो भएकोले बस्तीका मुसहरहरु रोजगारीकालागि भारतको दिल्ली, पञ्जावतिर पलायन हुन थालेको स्थानीय धनीलाल सदाले बताए । बस्तीमा एउटा पनि शौचालय नरहेको र बाटोको समस्याले गर्दा शौच गर्न अन्त जान समेत मुस्किल रहेको उनले बताए । ‘बाटोको अभावले साह्रै सताएको छ, वर्षाको बेलामा शौचकालागि बाहिर जान समेत मुश्किल पर्छ ।’
गाउँमा बालबालिकाहरु रहे पनि बाटो अभावले विद्यालय नपठाउने गरेको स्थानीय नेता कैलु रामले बताए । उनले भने ‘मुसहर बस्तीमा जन्ती आए पनि विहे घरसम्म जान सक्दैनन्, गाउँ बाहिरको चौरमा गाडी राखेर बेहुला बेहुलीलाई हिँडाएरै लैजानुपर्ने विवशता छ ।’



