
काठमाडौं ६ बैशाख । एक महिनाको प्रहरी हिरासत पछि आइतबार स्वतन्त्र मधेश गठबन्धनका चार जना कार्यकर्ताहरु धरौटीमा रिहा भएका छन् ।
जनही २० हजारको दरले धरौटी राख्दै विशेष अदालत काठमाडौंले उनीहरुलाई रिहा गरेको हो । रिहा हुनेहरुमा गठबन्धनका केन्द्रीय प्रवक्ता अब्दुल खान, बाँके संयोजक हरपाल सिंह, बाँके समानान्तर संयोजक राममनोहर यादव र नेता इरफान अहमद शेख रहेका छन् ।
रिहा भएपछि हिरासत भित्रको यातनाबारे हुलाकी न्यूजसँग कुराकानी गर्दै हरपाल सिंहले भने,‘चैत्र ६ गते हामी पक्राउ परेपछि हामीलाई प्रहरी हिरासत भित्र निकै धम्की दिइयो । बाँकेका एसपी टेकबहादुरले सीके राउतका कार्यकर्ताहरुलाई छातिमा गोली हान्नु पर्छ भन्दै धम्काए । बोर्डरमा लगेर गोली ठोक्छौं भन्दै यातना दिए ।’
सिंह भन्छन्,‘म शिख धर्ममान्ने भएकोले पनि मलाई धेरै भेदभाव गरियो । तँ पंजाबी, तँ धोती, तँलाई खालिस्तान पठाई दिन्छु भन्दै बारम्बार गाली गरे । एसपी साहवले स्वयम् मलाई खालिस्तान पठाइ दिने धम्की दिए ।’
बाँकेबाट काठमाडौं ल्याउँदा चितवनको जिल्ला प्रहरी कार्यालयमा पनि दुव्र्यवहार भएको सिंहले गुनासो गरे । उनले भने,‘हामीलाई काठमाडौं ल्याउने क्रममा सबभन्दा बढी दुव्र्यवहार चितवनमा भयो । एक रात त्यहाँ राखेको थियो । त्यहाँका प्रहरीहरुले अमानवीय व्यवहार गरे । त्यसबारे हामीले अहिले खुलाउन चाहन्नौं ।’ साभारः हुलाकी न्यूज डट्कम



