
मधेश र मधेशीमाथि सुनियोजित विभेद भईरहेको छः डा. हाछेथु
राजविराज, २४ चैत्र । डेनमार्कका पुर्व राजदुत एवम् राजनितिक शास्त्रका प्राध्यापक विजयकुमार लाल कर्णले राजनितिक दलको अलोकतान्त्रिक ब्यवहार र फास्ट ट्रयाकवाट ल्याईएको पश्चगामी संविधान ६ महिने आन्दोलनको प्रमुख कारक भएको बताएका छन् ।
विपी कोईराला नेपाल–भारत फाउण्डेसनको सहयोगमा जागृत नेपालले वुधवार राजविराजमा आयोजना गरेको ‘मधेश आन्दोलनको समिक्षा र अभिलेखीकरण’ विषयक अन्तक्रियाको पृष्ठभुमीबारे जानकारी दिँदै उनले यस्तो कुरा बताएका हुन् । जारी भएको संविधान २५० वर्षदेखि नेपालमा जारी विभेदकारी राज्य सत्तालाई टिकाउने दस्तावेजको रुपमा आएको र त्यस विरुद्ध जनताले सुरु गरेको विरोध मधेश आन्दोलनका रुपमा ६ महिनासम्म चलेको प्रष्ट पारे ।
राजनितिक दलहरुका वीचमा भएको १६ वुँदे सम्झौता नै त्रुटिपुर्ण रहेको वताएका कर्णले त्यस विरुद्ध सर्वोच्च अदालतले गरेको निर्णयलाई राजनितिक दल र सरकारले लत्याएपछि त्यहिवाट मधेश आन्दोलनको प्रारुप तयार भएको तर्क गरे । ‘१६ वुँदे सम्झौता विरुद्ध म लगायतले सर्वोच्चमा रिट दायर गरेका थियौं, तर सरकार र राजनितिक दलले सर्वोच्चको कुरा समेत सुनेनन्’ कर्णले भने–‘यहि सम्झौताले तयार गरेको मधेश आन्दोलनको प्रारुप कुनै न कुनै रुपमा वाहिर आउने लगभग पक्का थियो, आयो ।’
दलहरुले देशको सार्वभौमिकतालाई सत्ता प्राप्तिका लागि दुरुपयोग गरेको भन्दै कर्णले आलोचना गरे । उनले ६ महिनासम्म निरन्तर चलेको मधेश आन्दोलन ऐतिहासिक भएको भन्दै त्यसको इतिहास लेखिनुपर्ने आवश्यकता औंल्याए । मधेश आन्दोलनको इतिहास सुरक्षित गर्न दस्तावेजको आवश्यक्ता भएकाले आफुहरु सोही कार्यमा लागेको वताउँदै उनले आन्दोलनमा देखिएका सवल पक्षलाई अगाडि वढाउन र दुर्वल पक्षलाई सच्याउँदै अगाडि वढ्न सुझाव पनि दिए ।
राज्य पुनरसंरचना आयोगका पुर्व सदस्य प्रा. डा कृष्ण हाछेथुले मधेशी जनतामाथि हरेक दृष्टिकोणले विभेद भएको प्रष्ट्याए । उनले भने ‘मधेश पनि नेपाल हो भनेर मैले धेरै पछिसम्म वुझिन, नत परिवारले भन्यो, नत विद्यालयले नै सिकायो ।’ नेपालको शिक्षा नीति र पाठ्यक्रम नै विभेदपुर्ण रहेको तर्क गर्दै उनले मधेश पनि नेपाल हो भन्ने प्रष्टयाउने गरी पाठ्यक्रममा कतै उल्लेख नभएको वताए ।
मधेशी माथि भएका विभेदका स्वरुपको चिरफार गर्दै हाछेथुले पञ्चायतीकालमा अञ्चलाधिस कार्यालय जति मधेशमा र विकाश क्षेत्रका प्रमुख कार्यालयहरु पहाडमा राखिनुले पनि त्यसलाई पुष्टि गर्ने तर्क गरे । ‘अञ्चालाधिश कार्यालय भन्नु नै हतियार हो– जुन मधेशमा राखियो’ उनले भने–‘तर विकासको नाममा भएका विकाश क्षेत्रका प्रमुख कार्यालयहरु सवै पहाडमा राखिए ।’
मधेशको हुलाकी मार्ग दशकौंसम्म तयार हुन नसकेको उदाहरण प्रस्तुत गर्दै मध्य पहाडमार्ग छोटै समयमा लगभग तयार हुनु, मधेशका प्रमुख वजार सुक्दै गइरहेको बेला सरकार पहाडि क्षेत्रमा नयाँ वजार स्थापित गर्न लालायित हुनु लगायतका विषयहरु कोट्याउँदै अहिले पनि मधेश र मधेशीमाथि सुनियोजित रुपमा विभेद भईरहेको प्रष्ट पारे । समाजशास्त्री हाछेथुले भने ‘मधेशको उत्पीडनको विषयमा वकालत गर्दा मधेशीको प्रवक्ता वा मधेशी भनेर साथीभाइले भन्ने गर्छन् तर जे सत्य हो म बोल्छु ।
मधेशवादी दलका जिल्ला स्तरीय नेता, अधिकारकर्मी, संचारकर्मी लगायतको उपस्थिती रहेको उक्त कार्यक्रममा मधेश आन्दोलनको समिक्षा गरिएको थियो । वौद्धिक समाज सप्तरीका संयोजक प्रा. अमरकान्त झा, सद्भावना पार्टीका महासचिव मनिसकुमार सुमन, संघिय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र साह, नेपाल सदभावना पार्टी (गजेन्द्रवादी) का राष्ट्रिय अध्यक्ष विकास तिवारी, तमलोपाकी केन्द्रीय सदस्य साधना झा, सद्भावना पार्टीका केन्द्रीय सदस्य विशेश्वर रजक, मैथिली साहित्य परिषद्का अध्यक्ष शुभचन्द्र झा, युवा नेता युसुफ अलि, मानवअधिकारकर्मी जङ्गबहादुर सिंह, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धीरेन्द्र प्रसाद साहलगायत राजनीतिक दलका जिल्ला अध्यक्ष एवम् वौद्धिक व्यक्तित्वहरुले मधेश आन्दोलनको विषयमा समिक्षा गरेका थिए ।



