
खिम घले
पछिल्लो समयमा नेपाली राजनीतिमा डा. सीके राउत चर्चाको विषय बनेको छ । कोही उनले मुलुकलाई बिखण्डनको दिशामा लान लागको भन्दै सख्त कारवाहीको माग गर्छन् । कोही उनले उठाएका मुद्दाहरु मधेसी जनताको असन्तुष्टिको निकास भएकोले त्यसै अनुसार व्यवहार गर्नुपर्ने बताउँछन् । मधेसी राजनीतिक दलका नेताहरुको भनाइ भने आफूहरुलाई ‘साइज’मा ल्याउन र आफूहरुको प्रभावलाई मधेसमा कमजोर बनाउन राउतलाई राज्यपक्षले हिरो बनाइरहेको आरोप लगाउँछन् । कारण र आशय जेसुकै भए पनि नेपालमा अहिले सीके राउत एउटा चर्चाको पात्रा बन्दै गएको छ । तराईको समथर भूमिमा उनको कुरा सुन्ने उत्सुक र जिज्ञासुहरुको संख्या बढ्दै गएको छ । बिशेष गरेर मधेसी युवाहरुमा उनप्रतिको चासो र आकर्षण दुबै बढेको छ । उनको कुरा सुन्न लालयितहरुको संख्या दिन प्रतिदिन बढेको छ । तर, शनिबारदेखि मोरङ जिल्ला प्रशासन कार्यालयले उनको गतिविधिहरुमा रोक लगाएको छ । उनलाई सार्वजनिक भाषण गर्न दिइएको छैन ।
मधेसी नेताहरुमध्ये सबैभन्दा पाका महन्थ ठाकृुरले गृहमन्त्री वामदेव गौतमलाई एउटा कार्यक्रममा राउतले भनेको कुरा आफूले वर्षौंदेखि भन्दै आए पनि उनलाई अहिले समाउनुका कारण सोधेका थिए, ‘यही कुरामा समातेको हो भने मलाई त तपाईंले उहिल्यै समात्नु पर्ने भनेर भनें ।’ उनको कार्यक्रम रोक लगाउनका लागि परिचालित प्रहरी र उनको समर्थकहरु बीच शनिबार र आइतवार दुवै दिन झडप भएका छन् । आइतवारको झडपमा उनका समर्थकहरुमध्ये केही घाइते भएका छन् भने राउतको खुट्टा भाँच्चिएको छ । उनलाई राष्ट्रिय एकता र अखण्डता विरुद्धमा लागेको आरोप लगाउँदै उनको कार्यक्रमहरुमा रोक लगाइएको हो ।
को हुन् राउत ?
पूरा नाम चन्द्रकान्त राउत रहेका सीकेप्रति युवाहरुको आकर्षण बढ्नुको कारण उनको शैक्षिक योग्यता र उनले अमेरिकामा पाएको रोजगारीलाई त्यागेर नेपाल आउनु रहेको छ । सप्तरीको सामान्य परिवारमा जन्मेका राउतले टोकियो विश्व विद्यालय हुँदै अमेरिकास्थित क्याब्रिज युनिभर्सिटीबाट कम्प्युटर साइन्समा पीएचडी गरेका छन् । त्यस पछि उनले अमेरिकी वैज्ञानिकहरुको संस्था नासामा काम पाए । उनको नजिकका व्यक्तिहरुका अनुसार उनले त्यहाँ पाएको जागिर र अम्दानी सामान्य नेपालीका लागि कल्पना बाहिरको थियो ।
तर, राउत त्यहाँ रमाएनन् । अमेरिकाका बसाई र जागिर छाडेर सन् २०११ तिर उनी नेपाल आए । सुरुमा आउँदा उनीसँग कुनै योजना भएको जस्तो देखिएको थिएन । तर, विस्तारै उनले काठमाडौंको सट्टा तराई–मधेसका गाउँहरुमा आफूलाई केन्द्रित बनाउँदै लैजान थाले । उनले मधेस स्वराज नामक अभियान सुरु गरे । उनको अभियानको मूल ध्येयको रुपमा उनले मधेसमाथि नेपाली राज्यले उपनिवेश लादयो भन्ने रहेको छ । उनको लेख रचना तथा वक्तव्यहरुमा छुट्टै अस्तित्व भएको मधेसमाथि पहाडी नेपाली राज्यले उपनिवेश लादेको भन्ने गरेका छन् । साथै उनले त्यसबाट छुटकारा पाउनको लागि मधेसी जनता आफै जागरुक हुनुपर्ने जुर्मुराएर उठ्नुपर्ने भन्ने गरेको छ । उनी अहिले पनि त्यही मधेस स्वराज अभियान चलाइ रहेका छन् । तर, उनले अदालतमा भने सिधै मधेसलाई छुट्टै राज्य बनाउने आफ्नो उद्देश्य नभई यही प्रकारको विभेद रहेमा मधेस छुट्टिन्छ भनेको बताएका छन् ।
हालै स्कटल्याण्डको स्वतन्त्रता संग्रामकै उदाहरण लिन सकिन्छ । बेलायती प्रधानमन्त्रीलगायत तीन जना प्रमुख नेताहरुले स्कटल्याण्डलाई यूकेभित्रै थप अधिकार दिने लिखित प्रतिबद्धताले टुक्रिनबाट जोगाउन सहज बन्यो, नकी स्कटिसहरुको मुख थुनेर संभव भएको हो ।
पक्राउ र रिहाइ
मधेस स्वराज अभियान चलाइरहेकै बेला करिव चार महिनाअघि उनलाई सुनसरीको रंगेलीबाट प्रहरीले पक्राउ गर्यो । उनलाई राष्ट्रिय एकता र अखण्डताको विरुद्ध षड्यन्त्र गरेको भन्दै देशद्रोहको अभियोग लगाइयो । अदालतमा मुद्दा दर्ता हुनुअघि नै उनका वकिलहरुले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा हाले ।सर्वोच्चको आदेशमा उनलाई काठमाडौं ल्याइयो । राउतको देशद्रोहको मुद्दा बिशेष अदालतमा पुग्यो । उनका समर्थनहरुको सर्वोच्च अदालतको परिसरमै समेत नारावाजी गरे । त्यसमा पनि बिशेष गरेर राजधानीमा बढ्दै गरेका मधेसी युवाहरुको संलग्नता थियो ।
उनलाई देशद्रोहको मुद्दामा अदालतले ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दियो । तर, उनले त्यसलाई प्रचार ‘स्टन्ड’को रुपमा प्रयोग गरे । धरौटी तिरेर निस्कनुको सट्टा उनले अमरण अनसन घोषणा गरे । उनी केही समय अनसनमा समेत बसे । यति मात्र होइन, उनले चार खालस्थित बन्दी गृहमा आफूमाथि दुर्व्यवहार गरिएको दावी गरे । यसले पनि उनीप्रति सहानुभूति राख्नेहरुको संख्या बढायो । अन्तत् उनी धरौटीमा रिहाइ भए र फेरी तराई मधेसका जिल्लाहरुमा आफ्नो अभियान सुरु गर्न पुगे ।
सरकारले हिरो बनायो
पक्राउ गरिनु अघिसम्म सीके राउतका बारेमा खासै चर्चा र चासो थिएन । राजधानी र पहाडी क्षेत्रमा त के तराई मधेसका समाजमा समेत राउतको पहुँच सीमित थियो । उनका कार्यक्रमहरु बन्द कोठाभित्र हुन्थे । उनको कुरा सुन्नेहरुले पनि त्यति वास्ता गर्दैनथे । तर, उनको पक्राउ र धरौटीमा रिहाइसँगै उनीप्रतिको चासो बढेको छ । उनको कुरा सुन्नका लागि जम्मा हुनेहरुको संख्या बढेको छ ।
समस्या ज्यूँकात्यूँ रहनु र विगतमा भएका सम्झौता र सहमतिहरुको कार्यान्वयन हुनुको सट्टा त्यसलाई लत्याउने खालका अभिव्यक्तिहरु आइरहनु भनेको सीके राउतहरुको लागि मैदान तयार हुनु हो । मधेसमा मात्र होइन, जनजाति आन्दोलनमा पनि यस्ता राउतहरु जन्मने खतरा बढ्न थालेको छ । यसलाई मधेसी दलका नेताहरुले सरकारले बनाएको हिरो भनेका छन् । उनीहरुले पक्राउ परेको बेला सामुहिक रुपमै रिहाइको अपील गरेका थिए । साथै सरकारलाई आफूहरुको प्रभाव घटाउन सीके राउतलाई हिरो बनाउने योजना अनुरुप पक्राउ गरेको आरोप लगाएका थिए ।
मधेसी नेताहरुमध्ये सबैभन्दा पाका महन्थ ठाकृुरले गृहमन्त्री वामदेव गौतमलाई एउटा कार्यक्रममा राउतले भनेको कुरा आफूले वर्षौंदेखि भन्दै आए पनि उनलाई अहिले समाउनुका कारण सोधेका थिए । ‘यही कुरामा समातेको हो भने मलाई त तपाईंले उहिल्यै समात्नु पर्ने भनेर भनें’, ठाकुरले एक अनौपचारिक कुराकानीमा भनेका थिए ।
त्यसो त मधेसी नेताहरु मात्र होइन, अन्यले पनि उनको पक्राउ अनि रिहाईलाई एउटा अनौठो घट्नाकै रुपमा लिए । कतिपयले संघीयतालाई नरुचाउने पक्षले राउतलाई देखाएर यसले मुलुकलाई बिखण्डन गर्छ भन्ने देखाउनका लागि पनि यो कदम चालेको अनुमान लगाए । यद्यपी उनलाई किन समातियो, धरौटीमा रिहा किन गरियो ? भन्नेमा आशंका कायमै छ । त्यसपछि पनि कहिले उनको कार्यक्रम रोक लगाउने, कहिलो समातेर छाड्ने गरिरहेकै छन् ।
राउतहरु किन जन्मिन्छन् ?
राउतले अहिले जे भनेका छन् । मधेसी दलहरु गठन हुँदा तिनका नेताहरु पनि यसै भन्थे । उनीहरुको भनाइ मधेसमा पहाडी ‘औपनिवेश’ भयो भन्ने नै थियो । यो कुरा धेरै अघि नेपाल सद्भावना पार्टी गठन गर्ने गजेन्द्रनारायण सिंले पनि भनेका थिए । अझै पनि तिनीहरुले आवश्यकता अनुसार त्यस्तो भनाई राख्ने गर्छन् । मधेस आन्दोलन हुनुको पछाडीको कारणहरु मध्ये एउटा मधेसीहरु माथि अरुले शासन गर्छन् भन्ने नै थियो ।
मधेस आन्दोलनपछि मधेसी नेताहरुले नेपालको राजनीतिमा निक्कै ठूलो हिस्सा ओगट्यो । राष्ट्रपति, उपराष्ट्रपति र प्रभावशाली मन्त्री मधेसी नेताहरु बने । मधेसबाट काठमाडौं पढ्न आउनेहरुको संख्यामा केही प्रतिशत बृद्धि भएको छ । तर, अझै मधेसको अवस्था ज्यूँकात्यूँ छन् । त्यसपछिका समयमा पनि खासमा मधेसी जनताको जीवनस्तर, तिनले प्राप्तगर्ने अधिकार र तिनीहरुको आत्मसम्मानमा बढोत्तरी भएको छैन ।
प्रधानमन्त्री सुशील कोइरालादेखि एमाले नेता केपी ओलीसम्मले मधेस र आदिवासी जनजातिका बारेमा कुरा गर्नेहरुलाई बिखण्डनकारी भनेर लल्कार्न थालेका छन् । यस्तो अवस्थामा उत्पीडित समुदायको मध्यमार्गी धारमा रहेका दल तथा अगुवाहरु कमजोर देखिन थालेका छन् ।
अझ दोस्रो संविधानसभाको निर्वाचनपछि मधेसी दलका नेताहरु शक्तिहीन हुँदै गएका छन् । प्रधानमन्त्री सुशील कोइरालादेखि एमाले नेता केपी ओलीसम्मले मधेस र आदिवासी जनजातिका बारेमा कुरा गर्नेहरुलाई बिखण्डनकारी भनेर लल्कार्न थालेका छन् । यस्तो अवस्थामा उत्पीडित समुदायको मध्यमार्गी धारमा रहेका दल तथा अगुवाहरु कमजोर देखिन थालेका छन् ।
समस्या ज्यूँकात्यूँ रहनु र विगतमा भएका सम्झौता र सहमतिहरुको कार्यान्वयन हुनुको सट्टा त्यसलाई लत्याउने खालका अभिव्यक्तिहरु आइरहनु भनेको सीके राउतहरुको लागि मैदान तयार हुनु हो । मधेसमा मात्र होइन, जनजाति आन्दोलनमा पनि यस्ता राउतहरु जन्मने खतरा बढ्न थालेको छ । यिनीहरुको समर्थकहरुको संख्यामा बढोत्तरी हुनु राम्रो संकेत होइन ।
अबको बाटो
सीके राउतका अभिव्यक्तिहरु राष्ट्रिय एकता र अखण्डताका लागि चुनौती हुन् । उनको हालसम्मका भनाइहरुबाट निचोड के निकाल्न सकिन्छ भने उनको भित्री अभिष्ट मधेससँग स्वराजको अधिकार छ भन्ने नै हो । यसको अर्थ स्वतन्त्र मधेसको वकालत हो भनेर अर्थ्याउन मिल्छ । तर, प्रश्न के राउतको मुख थुनेर यो विषयलाई साम्यपार्न सकिन्छ । के नेपाली राज्य साँच्चि नै मधेसी, जनजाति र अन्य उत्पीडित उपेक्षितहरुको लागि आत्म सम्मानपूर्वक बाँच्न पाउने खालको छ ?
यी सबै प्रश्नको उत्तर भनेको नेपाली राज्यको स्वरुपको पुनर्संरचनाले मात्र मधेसमा होस् या जनजातिमा होस् जन्मिएका र भविश्यमा जन्मिने राउतहरुको मुकाविला गर्न सक्छ । राज्यको पुनर्संरचना गरेर वा काठमाडौं केन्द्रित, बाहुन क्षेत्री केन्द्रित र मध्य पहाडी भाग केन्द्रित राज्य संरचनालाई पुर्नसंरचना गरेर सबैले अपनत्व अनुभव गर्ने, सबैको हिस्सेदारी रहेको राज्यको निर्माणले मात्र राउतहरु जन्मिनबाट रोक्न सक्छ ।
हालै स्कटल्याण्डको स्वतन्त्रता संग्रामकै उदाहरण लिन सकिन्छ । बेलायती प्रधानमन्त्रीलगायत तीन जना प्रमुख नेताहरुले स्कटल्याण्डलाई यूकेभित्रै थप अधिकार दिने लिखित प्रतिबद्धताले टुक्रिनबाट जोगाउन सहज बन्यो, नकी स्कटिसहरुको मुख थुनेर संभव भएको हो । मूल साभारःबेलायतबाट प्रकाशित नेपाली साप्ताहिक everesttimes.net (ईसमता डटकम)



