• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

‘संवाद र सहकार्यबाटै देशले निकास पाउने’

‘संवाद र सहकार्यबाटै देशले निकास पाउने’

राजविराज, २४ माघ । नेपाल जेसीजले शुरु गरेको समृद्ध राष्ट्र निर्माणका लागि संबाद र सहकार्य राष्ट्रब्यापी अभियान–२०७२ अन्र्तगत राजविराजमा आयाजित अन्तरसंवाद कार्यक्रमका बक्ताहरुले सम्वाद र सहकार्यबाट मात्र मुलुकले निकास पाउने बताएका छन् ।
देश संकटको अवस्थामा रहेको भन्दै उनिहरुले मुलुकमा भएको संवादहिनताको अवस्था र बिभाजनको रेखालाई मेट्न शिर्ष नेता, आन्दोलनकारी र सरकार गम्भिर सम्वादमा जुट्न आग्रह गरे । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जगत बहादुर पोखेलले हाल भइरहेको आन्दोलन तथा नाकाबन्दीले देश संकटमा फस्न लागेको हुँदा नेपालका राजनैतिक दलहरुलाई सहमति गर्न दवाव दिने उदेश्यले यो अभियान सञ्चालन गरेको बताए । अध्यक्ष पोखरेलले जेसीजले कसैको एजेण्डा नबोक्ने बरु यथार्थ र न्यायोचित कुरा सही ढंगले उठाउने स्पष्ट पारे ।
नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष गोबिन्द सिंहले सत्तामा हुनेले आफूलाई सर्वेसर्वा ठान्ने र सत्तामा नहुनेलाई वेवास्ता गर्ने प्रवृति हानिकारक भएको बताए । सदभावना पार्टीका केन्द्रीय सदस्य दिपेन्द्र चौधरीले आन्दोलनको उचित सम्बोधन नहुँदा लम्बिएर पिडादायी भएको बताए । राष्ट्रिय मधेस समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष सतिश सिंहले आत्मसम्मान र स्वाभिमानका लागि भएको मधेस आन्दोलनलाई राष्ट्र विभाजनका रुपमा नहेर्न आग्रह गरे ।
कार्यक्रममा कोक्यापका केन्द्रीय अध्यक्ष रेम वि.क., नागरिक समाजका कार्यवाहक अध्यक्ष थानसिंह भन्साली, सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधान, गैसस महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, सगरमाथा यातायात संघका अध्यक्ष नुरुल होदा अन्सारीले संवाद र सहकार्यको माध्यमबाट अहिले देखिएको समस्याको समाधान खोज्न आग्रह गरे । अभियानमा बोल्ने वक्ताहरुले मधेस आन्दोलनलाई उचित सम्बोधन गर्न ढिला गर्न नहुने बताए ।
पश्चिम धनगढिबाट सुरु भएको नेपाल जेसिजको समृद्ध राष्ट्र निर्माणका लागी संवाद र सहकार्य राष्ट्रव्यापी अभियानमा पाँचौ दिन आइतबार राजविराजबाट विराटनगर प्रस्थान गरेको छ । विराटनगरमा एक समारोहबीच अभियानको समापन गरिने कार्यक्रमका संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।
नेपाल जेसीजका महासचिव बिष्णु बरालको सञ्चालन र राजविराज जेसीजका निवर्तमान अध्यक्ष दिपेन्द्र कुमार दासको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष महेश पौडेलले अभियानको उद्देश्यबारे प्रष्ट्याएका थिए । कार्यक्रममा राजविराज जेसीजका अध्यक्ष मिलन सिंह पूर्व अध्यक्षहरु शंकर शारदा, शंकर दास, उमेश दाहाल, अनन्त साह, मनोहर कुमार पोखरेलसहितका सहभागिता रहेको थियो ।