राजविराज, २२ माघ । राजविराज नगरपालिका वडा नम्वर–१ स्थित हटियामा तरकारी बेच्ने दुई महिला शुक्रवार निर्घात कुटिएकी छिन् ।
राजविराज नगरपालिका वडा नम्वर २ घर भएकी खुद्रा तरकारी व्यवसायी बिमला देवी चौधरी र सुशीला चौधरी कुटिएकी हुन् । दैनिकजसो ढाकीमा तरकारी बेच्न आउने उनीहरुलाई साँझ सुलोचना साह, कल्पना साह, अमिन साह र रोहित साहले निर्घात कुटपीट गरेका छन् ।
आफ्नो घर अगाडि ढाकी राखेर तरकारी बेच्दैआएकी उनीहरुबाट सुलोचनाले निशुल्क रुपमा तरकारी लिँदैआएकी थिईन् । शुक्रवार निःशुल्क रुपमा तरकारी दिन नमानेपछि साहसहित उनका परिवारका सदस्यहरुले कपाल तानेर घचेट्दै निर्घात कुटपीट गरेका थिए । कुटपीटबाट व्यवसायी थारु महिला घाइते भएपछि पडरियाबाट समेत आफन्तजनहरु आएपछि अवस्था तनावग्रस्त बन्न पुगेको थियो । यद्यपी तत्कालै प्रहरीको टोली पुगेपछि थप अप्रिय घटना हुनबाट जोगिएको छ । 
प्रहरीले तरकारी बेच्ने महिला बिमलालाई भ्यानमा राखेर उपचारकालागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पुर्याएको छ । यता कुटपीटमा संलग्न सुलोचनालाई समेत प्रहरी नियन्त्रणमा लिएको छ ।
