
राजविराज, १५ माघ । जिल्ला पशु कार्यालयका प्रमुख डा.काशीनाथ यादवले सप्तरी जिल्ला बर्डफ्लु संक्रमण मुक्त रहेको बताएका छन् ।
जिल्लास्तरीय बर्डफ्लु रोग प्राविधिक समितिले शुक्रबार आयोजना गरेको समिक्षात्मक कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् । सम्बन्धित निकायले हालसम्म जिल्लामा रोग देखा नपरेको यद्यपि सतर्कता र सजगता भने कायमै रहेको बताएका छन् ।
कुखुरा, हाँसजस्ता पंक्षीको तथा उनीहरुको सुलीको संसर्गबाट सर्ने बर्डफ्लुको नियन्त्रणका लागि आफूहरु प्रयासरत रहेको बताए । यादवले शंकास्पद नयाँ पंक्षीको फर्ममा प्रवेश गराउने, बर्डफ्लु रोग संक्रमित भई लक्षण नदेखाउने पंक्षीमा, एकबाट अर्काे फर्ममा हुने पंक्षीको ओसारपसार, संक्रमित अण्डा मार्फत चल्लामा रोग सर्न सक्नेतर्फ, मरेका पंक्षीहरुको ओसारपसारतर्फ आफूहरु गम्भीरपूर्वक ध्यान दिएको डा. यादवले जानकारी दिए ।
सप्तरीमा १० लाख ८८ हजार जम्मा कुखुरा रहेकोमा अण्डा दिने लेयर्स जातको कुखुरा तीन लाख ६५ हजार ६ सय ५१ रहेको, स्थानीय कुखुरा एक लाख १० हजार, पाँच सय ३५ रहेको र साकिनी कुखुरा ३५ हजार ३ सय रहेको डा. यादवले बताए । उनका अनुसार जिल्लामा हाँसको संख्या २७ हजार ४ सय ३३ रहेको छ ।
प्रमुख जिल्ला अधिकारी नारायण भट्टको अध्यक्षतामा आयोजित कार्यक्रममा सुरक्षा प्रमुखहरुका साथै सरोकारवाला निकायका प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।



