• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्वार्ता

बन्दुक र वार्ता एकसाथ सम्भव छैनः नेता हृदयेश त्रिपाठी

बन्दुक र वार्ता एकसाथ सम्भव छैनः नेता हृदयेश त्रिपाठी

नेपालको राजनीतिमा चर्चित पात्र हुन् हृदयेश त्रिपाठी । नवलपरासीको कठहवा गा.वि.स. गुणेपर्सेनी–३ निवासी उनी तराई मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष जिम्मेवारी सम्भाल्दैआएका छन् । राजनीति शास्त्रमा स्नातक तह उत्तीर्ण गरेका त्रिपाठी वामपन्थी राजनीतिबाट प्रभावित भई बि.सं.२०३१ सालदेखि राजनीतिमा प्रवेश गरी हाल मधेशको राजनीतिमा सक्रिय रहँदैआएका छन् । 

मधेशका मसिहा स्व. गजेन्द्रनारायण सिंहले स्थापना गरेको नेपाल सदभावना पार्टीबाट मधेशको राजनीतिमा सक्रिय भएका उनी हालसम्म मधेशी जनताको हक अधिकार स्थापित गराउनकालागि संघर्षरत छन् । तमलोपाका वरिष्ठ उपाध्यक्ष त्रिपाठीले गणतन्त्र अघि र गणतन्त्र प्राप्ति पश्चात पटक–पटक मन्त्री भई उदाहरणीय एवम् उल्लेखनीय कामहरु गरेका छन् ।
मधेश आन्दोलनका प्रणेता स्व. गजेन्द्रनारायण सिंहसँग रहेर निक्कै लामो अनुभव सङ्गालिसकेका उनी गजेन्द्रबाबुलाई आदर्शको रुपमा मान्दैआएका छन् । उनले २ वर्ष भूमिगत जीवन, ८ महिना निर्वासित र २१ महिना राजनीतिक बन्दीका रुपमा जेल जीवन बिताएका छन् ।
नेपालको राजनीतिमा खारिएका उनी स्पष्ट वक्ता एवम् कुशल राजनीतिक खेलाडिका रुपमा चिनिन्छन् । जारी मधेश आन्दोलनमा नेतृत्वदायी भूमिका निभाउँदैआएका उनी सरकारसँग वार्ता गर्नकालागि गठित कार्यदल सदस्यको जिम्मेवारीमा समेत रहेका छन् । सिमाङ्न, नागरिकता, जनसंख्याको आधारमा क्षेत्र निर्धारण, हरेक निकायमा मधेशीको समानुपातिक सहभागितालगायतका मागहरु राख्दै जारी आन्दोलनमा नेतृत्वदायी भूमिका निभाउँदै आएका छन् नेता त्रिपाठीले । प्रस्तुत छ समसामयिक राजनीतिक विषयवस्तुको ‘न्यूज टुडे’का सम्पादक श्यामसुन्दर यादवले गरेको कुराकानीको केही अंशः
न्यूज टुडेः सरकारसँगको वार्ता प्रक्रियालाई यहाँहरुले किन रोक्नु भएको छ ?
त्रिपाठीः  वार्ताबाटै समस्याको समाधान गर्न हामीले चाहेकै हौं तर वार्तालाई बिथोल्ने काम राज्यपक्षले नै गर्दैआएको छ । यता हामी सरकासँग वार्तामा बसेका हुन्छांै, उता आन्दोलनकारीहरुमाथि निर्ममतापूर्वक गोली वर्षाएर हत्या गर्ने काम भइरहेको हुन्छ । बन्दुक र वार्ता एकसाथ सम्भव छैन ।
अधिकार र पहिचान सुरक्षित नभएसम्म निर्णायक संघर्ष जारी रहन्छ । वार्ता र सम्वादबाट हामी पछाडि हटेका छैनौ । १०–११ दिनदेखि वार्ता प्रक्रिया रोकिएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको अब वस्ने बैठकले आन्दोलनका स्वरुप तय गर्नेछ ।
न्यूज टुडेः असोज ३ गते जारी भएको संविधानलाई एसियाकै उत्कृष्ट संविधान भनेर तीन दलका नेताहरुले भन्दैआएको छ नि ?
त्रिपाठीः यो संविधान तीन दलका लागि उत्कृष्ट होला, तर मधेशी, थारु, मुस्लिम, दलित, महिला, आदीवासीलगायतका समुदायको हितमा छैन । खस आर्यलाई परिभाषित गरी त्यही पेरीफेरीमा संविधान लेखिएको छ तर वर्षौंदेखि शोषित उत्पीडित जनताका हक अधिकार खोसिएको छ ।
खस जातीको कब्जामा रहेको अधिकारलाई थारु र मधेशीले बराबरी चाहेको छ । नागरिकतामा समेत वर्तमान संविधानमा विभेद छ । राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट ८ जना राख्ने प्रावधान राखिएको छ । यो सर्वथा गलत हो । जनसंख्याको आधारमा प्रदेशको क्षेत्र निर्धारण हुनुपर्दछ । २० वर्षमा प्रतिनीधि सभा सदस्यको पुनरावलोकन गर्ने कुरा संविधानमा उल्ललेख छ । यो प्रत्येक दश वर्षमा हुने राष्ट्रिय जनगणना पछि पुनरावलोकन हुनु पर्दछ । Hridesh Tripathi (2)
न्यूज टुडेः  हालै नयाँ संविधानमा गरिएको संशोधनप्रति तपाईहरुको मौन समर्थन रहेको भनी विभिन्न सञ्चारमाध्यमहरुमा समाचार पनि आएको छ, भित्री रहस्य के हो ?
त्रिपाठीः संशोधनप्रति मोर्चाको कुनै समर्थन छैन । तीनै महावैज्ञानिकहरुले जारी गरेको संविधान संशोधन उनीहरुकै लागि स्वीकार्य होला, हाम्रा लागि भने होइनन् । शब्दजालको खेल जस्तै हो यो संशोधन । छापामार शैलीबाट तीन दलले संविधान बनायो र बन्दुकको बलमा लागु गर्न खोज्यो । ठाउँ–ठाउँमा गल्ती र विभेदका शब्दहरु रचेर संविधान बनाईएको छ ।
नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिको प्रस्ताव पारित भएको भए मधेशीहरुको हितमा हुन्थ्यो । तर, उनको प्रस्तावलाई बेवास्ता गरेर नेता मिनेन्द्र रिजालको प्रस्तावलाई पारित गरेकोले यो त्रुटिपूर्ण छ ।

आन्दोलनको निकासको चाभी (साँचो) सरकार र प्रमुख तीन दलको हातमा छ । मधेशी, थारुलगायतका समुदायले राखेको मागलाई राज्यले सम्बोधन गरि संविधानमा संशोधन गरिदिए आन्दोलन गरिरहनुपर्ने अवस्था नै रहँदैन । आन्दोलन गर्नु हामीहरुको रहर होइन, कांग्रेस, एमाले र एमाओवादीले सिर्जना गरेको बाध्यता हो ।

न्यूज टुडेः यहाँहरुको आन्दोलन शिथिल हुँदै गएको छ नि ?
त्रिपाठीः हेर्नुस, मधेश आन्दोलन शुरु भएको बेला कसैलाई विश्वास लागेको थिएन कि यती लामो आन्दोलन हुन्छ । सफलता र विफलता राज्यको चरित्रमाथि निर्भर गर्दछ । कर्णाली प्रदेशको माँग ६–७ दिनमै सम्बोधन भयो । तर, मधेश आन्दोलन साढे पाँच महिना जारी रहँदा करिब ५ दर्जन निहत्था मधेश जनतामाथि गोली वर्षाएर ज्यान लिँदा पनि राज्य पक्ष गम्भिर देखिएको छैन । यसले मधेशी जनतालाई राज्यले गरिरहेको चरित्र उदाङ्गो गरेको छ नेपालको शाषक जङ्गली शासकहरुले अहिले पनि मधेशी जनतालाई कर दाता र मतदाता मात्रै बुझेका छन् । ०६२÷०६३ को आन्दोलन, प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्र प्राप्तिको लडाइमा मधेशी जनताले बलिदानी दिएका छन् । तर, त्यही समुदायलाई खस शासकहरुले दास बनाएर राख्ने मनसाय राखेका छन्् ।
यो संघर्ष अघिल्लो पिढीलाई हस्तान्तरण गर्ने अवस्था आउन सक्छ । समानताको हक प्राप्ती नभएसम्म आन्दोलन जारी रहन्छ ।
न्यूज टुडेःकाँग्रेस, एमाले र एमाओवादीका जननिर्वाचित मधेशी सभासद्हरुले हस्ताक्षर गरेको संविधान कसरी मधेश विरोधी हुनसक्छ ?
त्रिपाठीःतपाईले ठिक भन्नुभयो मधेशी सभासद्हरुले वर्तमान संविधानमा हस्ताक्षर गरेको छ तर ती सभासद्हरु मधेशी मतदाताहरुमाथि जिम्मेवार नभएर तीनै मधेश विरोधी पार्टीहरुप्रति वफादार भएकै कारण यस्तो अवस्था आएको हो । आफैले मत दिएर जिताएका सभासद्हरुमाथि जनताको व्यापक आक्रोश र असन्तुष्टि छ । त्यही कारण संविधान जारी गरेपछि सहज रुपमा जनताको बीचमा जान सकेका छैनन् ।
न्यूज टुडेः मधेशी मोर्चाले सप्तरीसहितका जिल्लाहरुमा तीन ठूला दलहरुलाई गतिविधि गर्न रोक लगाएर तपाईहरुले पनि त निःषेधको राजनीतिको शुरुवात गरेको जस्तो लाग्दैन ?
त्रिपाठीःनिषेधको राजनीति हामीले गरेका होइनौं । सत्ता उन्मादमा रहेका एमाले, एमाओवादी र त्यसैका सहयोगी नेपाली काँग्रेसले सुनसरीको इटहरीमा मधेशी मोर्चाको मञ्च जलाएको शायद तपाईलाई याद होला । थारु–मधेशीको शान्तिपूर्ण आवाजलाई बन्दुक दबाउन पञ्चायती सरकारभन्दा पनि क्रुर वर्तमान सरकारले श्रृङ्खलावद्ध रुपमा नरसंहार गरेर आतङ्क मच्चाईरहेको छ ।
मधेशी, थारु, थारु, मुस्लिम आदीवासीलगायतका समुदायको अधिकार खोसिएको अवस्थामा दमनकारी मधेश विरोधी पार्टीहरुलाई निःषेध गर्नु स्वभाविक हो ।timthumb
न्यूज टुडेः तराई मधेश लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरले ‘मधेश आफैमा राष्ट्रियता हो’ भनिराखेको छ, के हो वास्तविकता ?
त्रिपाठीः मधेशमा समान, भूगोल, जनसङ्ख्या, संस्कृति र भाषा छ । नेपालभित्रै मधेश आफैंमा राष्ट्रियता हो । राज्य एक हुन सक्छ तर, राष्ट्रियता एक हुन सक्दैन । काँग्रेसमा रहँदा पनि पार्टी अध्यक्ष महन्थ ठाकुरले मधेशी राष्ट्रियताकै कारणले मधेशमाथि भेदभाव भएको कुरा उठाउनुभएको थियो ।
न्यूज टुडेःतपाईहरुले नेपालभित्रै समृद्ध एवम् स्वायत थरुहट–मधेश प्रदेशको माग राखेर शान्तिपूर्ण आन्दोलन गरिराख्नु भएको छ भने अर्कोतर्फ छुट्टै मधेशको कुरा पनि उठिरहेको छ नि ?
त्रिपाठीः सबभन्दा महत्वपूर्ण कुरा खासगरी प्रमुख तीन दलले बुझ्नु जरुरी छ । यदि यो मधेश आन्दोलन समाप्त भयो भने नेपालको दूर दिन शुरु हुन्छ । मधेशी जनतामा अलगावको भावना बढ्न सक्छ । अबको देशको भविष्य राज्यको चरित्रमाथि निर्भर गर्छ ।
मधेशी जनताले अहिले पनि नेपालभित्रै आफ्नो हक अधिकार खोजिरहेको छ । यदी राज्यले माग सम्बोधन गर्नुको साटो बन्दुकले नै दबाउने कुचेष्टा गरिरह्यो भने निर्णायक जनता हो, जनताले नै निर्णय गर्नेछन् । मधेशी र थारु समुदायले केन्द्रमा साझा शासन र थरुहट–मधेशमा आफ्नो शासन मधेशमा चाहेको छ ।
न्यूज टुडेः नाकाबन्दी खुल्ला हुने चर्चा चलेको सही हो त ?
त्रिपाठीः वीरगञ्ज बाहेक लगभग सबै नाका खुल्ला नै छन् । मोर्चाका नेता महेन्द्र राय यादवले नाकाबन्दीको विषयमा १८ गतेको बैठकले तय गर्ने भनी पत्रकारहरुलाई दिएको प्रतिक्रियालाई केही मिडियाले गलत प्रचारवाजी गरिरहेको छ । नाका खोल्ने वा नखोल्ने विषयमा हाम्रो औपचारिक निर्णय भएको छैन ।
न्यूज टुडेः यहाँहरुको आन्दोलन मधेशका आठ जिल्लामा मात्रै भइरहेको छ, अन्य जिल्लाहरुमा खासै प्रभाव देखिंदैन नि ?
त्रिपाठीःयो कुरा बिलुकलै गलत हो । पश्चिममा कैलाली र रुपन्देहीमा सर्वाधिक आन्दोलन भएको कुरा तपाईलाई पनि थाहा होला । झापा र कञ्चनपुरमा आन्दोलनको प्रभाव कम छ । झापामा आदिवासी र मधेशीहरु अल्पसंख्यक छ ।
तपाईलाई म स्मरण गराउन चाहन्छु, कैलालीमा हज्जारौं थारुहरु पलायन भएका छन् । धेरै नेता जेलमा छन् । अझैं राज्य आतङ्को त्रास कायमै छ । आन्दोलन नाप–तौल गरेर हुँदैन । कुनै जिल्लामा कम र कुनै जिल्लामा बढी हुनु स्वभाविक हो ।
न्यूज टुडेःआन्दोलनमा भएको प्रहरी दमनको विषयमा यहाँहरुले केही सोचिराख्नुभएको छ कि ?
त्रिपाठीःतपाईले ठिक कुरा उठाउनु भो, राज्यद्वारा भइरहेको दमनको विषयमा अन्तर्राष्ट्रिय स्तरसम्म कुरा उठिरहेको छ । राज्यको चरित्रको विषयमा विभिन्न देशहरुले थाहा पाएर नै नेपाल सरकारलाई दवाव समेत दिइरहेका छन् । संयुक्त राष्ट्र संघ, युरोपियन युनियनलगायतका अन्तर्राष्ट्रिय निकायले शान्तिपूर्ण मधेश आन्दोलन र राज्यको दमन विषयमा सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको छ । दोषीहरुलाई कानूनको कठघरामा उभ्याउने काम हामी गर्न पछि पर्दैनौं ।
न्यूज टुडेः मधेश आन्दोलनको उद्देश्य एउटै हो भने तपाईहरु एकताबद्ध भएर आन्दोलन नगर्नुको कारण के होला ?
त्रिपाठीःहेनुस् श्यामसुन्दरजी, म मधेशको आन्दोलको सिपाही हुँ । अध्यक्ष वा कुनै पदकोलागि पार्टी फुटाउने काम गरेको छैन, गर्दिन पनि । मोर्चाको अब बस्ने बैठकमा जयप्रकाश प्रसाद गुप्ता, राजकिशोर यादवल, शरतसिंहगायतका शक्तिहरुसँग समेत सहकार्य गरेर महागठबन्धन बनाएर अगाडि बढ्ने विषयमा छलफल गर्नेछौं ।
न्यूज टुडेः आन्दोलनको समयमा मोर्चाकै घटक पार्टीहरुले आन्दोलन भन्दा पार्टी प्रवेश कार्यक्रमलाई प्राथमिकता किन ?
त्रिपाठीः मोर्चा घटककै पार्टीहरुले हाल गरिरहेको पार्टी प्रवेशको कार्यक्रमप्रति मेरो विमति छ । म भन्न चाहन्छु ‘हिम्मत छ भने काँग्रस, एमाले र एमाओवादीबाट पार्टीमा प्रवेश गराओस् । समान उद्देश्यका साथ संघर्षरत पार्टीहरुबाटै एक–आपसमा आउने–जाने क्रमले केही फरक पर्दैन ।hridesh-tripathi
न्यूज टुडेः वर्तमान मधेश आन्दोलन भारतबाट परिचालित रहेको सही हो त ?
त्रिपाठीःआफ्नो भूमिकाका कारण भारत बेला–बेलामा प्रशंसित र आलोचित हुँदै आएको छ । नेपालको हरेक परिवर्तनहरुमा भारतको समर्थन र सहयोग छ । नाकामा भारतीय जनता आएर बसेको छैन नि, त्यहाँ त मधेशी जनता नै बसेका छन् । खोक्रो राष्ट्रवादी भनाउनेहरुले यस्तो आरोप लगाएको हो ।
आन्दोलनमा हाम्रो बुहारी र भारतको छोरी मारिएको छ । भारतसँग रोटी–बेटीको सम्बन्ध छ । यो सम्बन्धलाई कसैले चाहेर पनि तोड्न सक्दैन ।
मधेश कुनै शासक वर्गले आर्जित गरेको भू–भाग होइन । सुगौली सन्धीबाट मधेशको कञ्चनपुर, कैलाली, बाँके–बर्दीया छाडेर भेरी नदीदेखि कोशी नदीको भूमि नौ जना मधेशी जमिन्दारको प्रयासमा आएको हो । ब्रिटिस इण्डियाले भनेको थियो ‘जो जहाँ बस्न चाहन्छ स्वेच्छाले बसोस्’ सोही अनुसार कोही यता बसे र कोही उता गए । मधेश कुनै राजा महराजा वा सेनाले जितेको भू–भाग होइन भन्ने कुरा राज्यपक्षले पनि बुझ्नु जरुरी छ ।
न्यूज टुडेः तपाईको बिचारमा जारी मधेश आन्दोलनको निकास के होला ?
त्रिपाठीःआन्दोलनको निकासको चाभी (साँचो) सरकार र प्रमुख तीन दलको हातमा छ । मधेशी, थारुलगायतका समुदायले राखेको मागलाई राज्यले सम्बोधन गरि संविधानमा संशोधन गरिदिए आन्दोलन गरिरहनुपर्ने अवस्था नै रहँदैन । आन्दोलन गर्नु हामीहरुको रहर होइन, कांग्रेस, एमाले र एमाओवादीले सिर्जना गरेको बाध्यता हो ।