मधेशका मसिहा गजेन्द्रनारायण सिंह र उनको अन्तिम ईच्छा

मधेशका मसिहा  गजेन्द्रनारायण सिंह र उनको अन्तिम ईच्छा
Bwtech New Add With Software & Bull SMS

सन्दर्भः गजेन्द्र पुण्यतिथि

Bishnu Mandalविष्णु कुमार मण्डल
आजन्म संघर्ष गरी जिउँदै मधेशका नेल्सन मण्डेला र गाँधी कहलिएका स्व. गजेन्द्रनारायण सिंहको अन्तिम इच्छा पुरा हुन सकेन । जीवनका विभिन्न कालखण्डमा आफ्ना हातबाट करोडौं रुपैयाँ खर्चिंदा पनि हीचक नमान्ने निःस्वार्थ नेता सिंहले आफ्ना जीवनकालमा सैकडौं नेता बनाए । हज्जारौं युवाहरुलाई नेतृत्व पंक्तिमा उभ्याए । जुन प्रमाणका रुप अहिले पनि नेपालको राजनीतिक क्षितिजमा मधेशको नेतृत्व गरिरहेका छन् । उनले सैकडौं मधेशी युवालाई डाक्टर, इन्जिनियर र अन्य क्षेत्रमा आफ्ना बुद्धि–बलले समावेश गर्ने अवसर प्रदान गरे ।
प्रमाणका रुपमा डा. बलभद्र दास वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अध्ययन संस्थान धरानका उपकुलपति हुन् भने डा. सुर्यनारायण यादव जो प्रसिद्ध बालरोग विशेषज्ञ हुन् । यस्तै डा. विश्वनाथ यादव फरेन्सीक विशेषज्ञका रुपमा कार्यरत छन् भने मलेकपुर–५ खुरहुरियाका ई. कामेश्वर यादव जो नेपाली सेनामा मेजर पदमा कार्यरत छन् । त्यस्तै उहाँका श्रेयबाट सैकडौं ईन्जिनियर र अन्य क्षेत्रका विशेषज्ञहरु सरकारी सेवामा आफ्ना वैशिष्ठ स्थान ओगटेका छन् ।
यसरी हेर्दा उनले हज्जारौं मधेशीलाई सेवा र रोजगारका साथै आफ्ना जीवनको इच्छा आकांक्षा पुरा गर्ने अवसर प्रदान गरे । तर, उनले आफ्नै जीवनको अन्तिमकालमा चिताएको इच्छा पुरा हुन सकेन् । हृष्टपुष्ट जीउ डाल, भव्य व्यक्तित्व र दुई तिहाई कपाल कालो रहेका गजेन्द्र नारायण सिंहले २०३४–३५ सालमा मधेशी अधिकारका लागि लड्ने योजना सहित राजविराज–४ मा करिब १२ कट्ठा क्षेत्रफलमा ‘सप्तरी सेवा आश्रम’ निर्माण गरेका थिए ।gajendra-narayan-ko-photo
दुई कोठे फुसको घर र अर्को पनि फुसकै एउटा खुला सभा हल निर्माण गरी उनले करिब दुई दशक लामो प्रवासकाल पश्चात नेपालमा बसी राजनीतिक यात्रा प्रारम्भ गरेका थिए । त्यस सप्तरी सेवा आश्रमबाट उनले २०३६ सालको जनमत सङ्ग्रहमा नेपाली काँग्रेसबाट सङ्गठन निर्माण गरी सम्पूर्ण मधेशका जिल्लाहरुमा बहुदलीय व्यवस्थाका पक्षमा प्रचार–प्रसार र आमसभाहरु सञ्चालन गरेका विषय सप्तरीका पुराना नेता तथा उहाँका सहकर्मीहरुलाई स्मरण होला ।
कठोर राजतन्त्रात्मककालमा षडयन्त्र गरी जनमत सङ्ग्रहमा बहुदलिय व्यवस्था पराजित हुन पुग्यो । तत्पश्चात नेपाली काँग्रेसभित्र मधेशी नेता तथा कार्यकर्ताहरुलाई पाखा लगाउन थालिए पछि उनी विक्षुब्ध भए । त्यसै क्रममा बाबा रामजनम तिवारी, गंगाधर झा, गुणानन्द चौधरी, सत्यनारायण दाससहितका सैकडौ नेता तथा कार्यकर्ताहरुले अलगै संगठन निर्माण गरी राजनीतिक यात्रालाई अघि बढाए ।
त्यसैका परिणाम स्वरुप कालान्तरमा वि.सं. २०४० सालतिर गजेन्द्रनारायण सिंहको नेतृत्वमा ‘नेपाल सद्भावना परिषद्’ नामक संस्था स्थापना गरियो । उक्त परिषद्द्वारा जिल्ला, गाउँ र वडासम्म सद्भावना परिषद्का समितिहरु विस्तार भयो । जुन संगठन तत्कालिन पञ्चायती शासकहरुलाई थर्काउने स्वरुपका एक मात्र संगठित मधेशी संगठनका रुपमा विकसित र प्रशंसित रहे । उक्त संगठनको २०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका रहेको थियो ।
तत्पश्चात २०४७ सालमा उक्त परिषद् ‘नेपाल सद्भावना पार्टी’ का रुपमा परिणत भयो । अत्यन्त समावेशी रुपमा गठित सो पार्टीका बहुसंख्यक र अल्पसंख्यक जातजातिका अतिरिक्त मुस्लिम, दलित, थारु, आदिवासीहरु पदाधिकारी र सदस्यका रुपमा पदासिन रहेका थिए । दुई  वर्षको अल्प समयमा उक्त पार्टी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलियो ।
नेपाल अधिराज्यको संविधान २०४७ लागु भए पश्चातका विभिन्न संसदीय निर्वाचन र स्थानीय निर्वाचनहरुमा नेपाल सद्भावना पार्टी रुपी राजनीतिक स सङ्गठनले अपेक्षाकृत उच्च स्थान प्राप्त गरे । जसको परिणाम स्वरुप तल्लो निकाय गा.वि.स. र नगरपालिकादेखि संसदसम्म उक्त पार्टीका प्रतिनिधिहरुको सम्मानजनक उपस्थिति हुन पुग्यो । सो अवधिमा स्वयं नेता गजेन्द्र नारायण सिंह पटक–पटक आपूर्ति तथा उद्योग वाणिज्य मन्त्री र स्थानीय विकास मन्त्री जस्ता सम्मानित मन्त्रीका रुपमा पदस्थापित हुनु भयो । जुन मर्यादा क्रमका हिसाबले तेश्रो र चौथो स्थान रहेको थियो । यसरी सप्तरी सेवा आश्रमलाई मुख्य कार्यथलो बनाई उनी एउटा सानो स सङ्गठनका नेतादेखि मेची र महाकालीसम्म फैलिएको सम्पूर्ण मधेशका नेता बने । मधेशका मसीहाका रुपमा सम्मानित भए । तर दुर्भाग्यवश उनले जीवनको उत्तराद्र्धमा इच्छाएको कामना पुरा हुन सकेन ।Samadhi
युवावस्थादेखि बृद्धवस्थासम्म सप्तरी सेवा आश्रमलाई केन्द्र बनाई राजनीति गरेका सिंहले जीवनको उत्तराद्र्धमा उक्त सप्तरी सेवा आश्रमलाई ‘गजेन्द्रनारायण सिंह जनकल्याण ट्रष्ट’ का रुपमा परिणत गर्ने सोच बनाए । उक्त कार्य योजना अनुरुप उनले ट्रष्टको एक तदर्थ संस्थापन समिति बनाए । प्रा. विजयेन्द्र झाको अध्यक्षतामा गठित उक्त समितिका सचिव सिताराम मण्डल, कोषाध्यक्ष सिताराम कावरा र गुलाब प्रसाद सिंहसहित सदस्य रहेका थिए ।
वि.सं. २०५७ सालमा सप्तरी सेवा आश्रमका सम्पूर्ण जग्गा सोही ट्रष्टका नाममा दर्ता हुने गरी कानूनी प्रावधानकालागि सम्पूर्ण कागजात दुरुस्त गराउनुभयो, नेता गजेन्द्र नारायण सिंहले । उहाँद्वारा हस्ताक्षरित निवेदन सहितका सम्पूर्ण कागजात मालपोत कार्यालयमा दर्ता गरियो । प्रकृयाकै क्रममा उक्त फाइल केन्द्र र सम्बन्धित मन्त्रालयबाट अनुमोदनका लागि पठाइयो । उहाँ स्वयं आफ्ना राजनीतिक कार्यका साथै उक्त फाइल सम्बन्धी कार्यान्वयनकालागि २०५८ पुसको अन्तिम साता गृहनगर राजविराजबाट काठमाडौं पुग्नुभयो । तर, दुर्भाग्यवस माघ १० गते काठमाडौंमै उहाँको देहावसान भयो ।
उनको स्वर्गारोहण पश्चात काठमाडौंबाट विशेष हेलिकाप्टरद्वारा राजविराज अवतरित पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न हज्जारौं जनविध्वल उनका शुभचिन्तक, समर्थक र आम जनमानस सहित सहभागी रहेका शवयात्रा सम्पूर्ण नगर परिक्रमा गरी मधेशका मसिहा सिंहद्वारा आफ्नै जीवनकालमा निर्मित ऐतिहासिक सप्तरी सेवा आश्रमभित्रै राज्यद्वारा गारद, सम्मान र सलामी पश्चात अन्त्येष्ठि गरियो । यसरी आफना जीवनकालमा सम्पूर्ण मधेश हाँक्ने केन्द्र बन्न पुगेका सप्तरी सेवा आश्रमको माटोमा स्व. सिंहका पार्थिव शरीर विलिन हुन पुग्यो ।
अन्त्येष्ठि सम्पन्न भएको वर्ष दिनभित्रै नेपाल सरकारद्वारा उहाँ अग्निभूत हुनु भएका समाधिमा समाधिस्थल निर्माण गरियो । नेता सिंहले मधेश अधिकारकालागि आयोजन गर्ने गरेको प्रशिक्षण तथा अन्य सभा समारोह गर्ने उद्देश्यले निर्माण गर्नुभएका ‘क्रान्ति भवन’ अगाडि उक्त समाधिस्थल अहिलेसम्म विद्यमान रहे पनि ऐतिहासिक ‘क्रान्ति भवन’ अतिक्रमणको सिकार भई भत्काइएर सो ठाउँमा एउटा नीजि विद्यालय सञ्चालित रहेका छन् ।Gajendra Narayan Sing
पारिवारिक दृष्टिले निःसन्तान मधेशका प्रणेता गजेन्द्र नारायण सिंहको अवसान पछि उनकी एक मात्र धर्मपत्नी आनन्दी देवी सिंह पार्टी विभाजन र खिचातानीका क्रममा अपहरणमा समेत परेकी थिईन्  । कहिले भैरहवा कहिले पटना र कहिले अन्यत्र विभिन्न ठाउँमा अपहरण गरी राखिएकी श्रीमति सिंह समेत अन्तिम समयमा सोही सप्तरी सेवा आश्रममा प्राण त्याग गरिन् । अत्यन्त मर्माहत अवस्थामा भएको उनको निधन पश्चात सप्तरी सेवा आश्रम अतिक्रमित हुन गयो । सर्वप्रथम नेता सिंहका नीति निवासमा रहेका उनका संग्रहणिय दुर्लभवस्तुहरु कहाँ गयो, कल्ले लग्यो ठेकान छैन । स्व. सिंहकै समकक्षी तथा सहकर्मी नेताहरु वि.पी., गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई र मनमोहन अधिकारी आदिको अवसान पश्चात राज्यद्वारा तिनीहरुका नाममा विभिन्न संग्रहालय र ट्रष्टहरु निर्माण भई सकेका वर्तमान अवस्थामा नेता सिंहका लागि राज्यद्वारा केही गर्न नसकिएपनि स्वयं गजेन्द्र नारायण सिंहद्वारा स्वअर्जित सम्पति र भौतिक प्रशाधनहरु ध्वस्त हुनु निश्चय विडम्बनाको विषय हो । यसरी उनले जीवनको अन्तिम समयमा ‘गजेन्द्र नारायण सिंह जनकल्याण ट्रष्ट’ रुपी संस्थाबाट आम मधेशीको उद्धार र विकासका लागि समर्पित गर्ने इच्छा समेत पुरा हुन सकेन् ।
गजेन्द्रनारायण सिंह राष्ट्रिय व्यक्तित्व हुन । उनका नाममा राज्यले हुलाक टिकट प्रकाशित गरेका छन् । उनको अन्त्येष्ठिमा राज्यद्वारा सम्मान स्वरुप गारदसहितको सलामी अर्पण गर्नुका साथै सरकारद्वारा उनको समाधि निर्माण गरिनाले पनि उनी राष्ट्रिय व्यक्तित्व हुने प्रमाणित गर्दछ । राज्यद्वारा सञ्चालित जनउपभोगी संस्था जस्तो गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र, गजेन्द्र चौक आदिले समेत उनी राष्ट्रिय व्यक्तित्व हुन भन्ने पुष्टि गर्दछ । यसरी राष्ट्रिय व्यक्तित्वका रुपमा रहेका व्यक्तिको सम्पति राष्ट्रियकरण भई जन उपयोगी बनाउनु पर्ने एउटा मान्यता रहेको छ भने त्यस्ता व्यक्तित्वका नाममा स सङ्ग्रहालय या ट्रष्ट आदि निर्माण गर्नु राज्यको दायित्व समेत मानिन्छ । तर ती सवै मान्यतालाई लत्याउँदै सम्बन्धित निकायले उनीद्वारा निर्मित ‘गजेन्द्र नारायण सिंह जनकल्याण ट्रष्ट’, उहाँका नीजि निवास तथा सरकारद्वारा निर्मित समाधिस्थलको संरक्षण  सम्बद्र्धन र उपभोग गर्नुका सट्टा अतिक्रमणको चपेटामा पर्न दिनु निश्चय विडम्बना मानिन्छ ।
आम मानव सन्तानको भरण पोषण र सम्पति तथा प्रतिष्ठा आर्जनमा आफ्ना जीवन बिताउँछन् । निःसन्तान भएर पनि दुनियाँलाई सन्तान मानेका गजेन्द्र नारायण सिंह त्यस्ता सोचबाट भिन्न व्यक्ति थिए । युवावस्थामैं जातिपातिको भेदभावलाई तिलाञ्जली दिई जनेऊ समेत फुकालेर फालेका स्व. सिंह आजीवन यस्ता भेदभाव र छुवाछुतबाट पृथक रहने गरेका थिए । कहिले दलित भोज, कहिले सहभोज आदिको आयोजन गरेर उनले समाजमा व्याप्त छुवाछुत र आफ्ना पराया भन्ने भावना अन्त गर्ने प्रयास गरि नैं रहे । सप्तरी सेवा आश्रममा आयोजन हुने यस्ता भोज र सहभोजहरु अहिले पनि उदाहरणीय र स्मरणीय रहेको छ ।gajendra ticket
धार्मिक एवम् सामाजिक मान्यता र न्यायको मूलभूत सिद्धान्त अनुरुप मानवको अन्तिम इच्छाको पूर्ति हुने व्यवस्था रहेको छ । उदाहरणकालागि मृत्युदण्ड दिने अपराधीलाई समेत फाँसीमा चढाउनु पूर्व उनको अन्तिम इच्छाबारे सोधनी भई त्यसको परिपूर्ति राज्य र सम्बन्धित निकायले गर्ने गरेको कैयौं घटना हेर्न र सुन्न पाईन्छ । त्यस्तै फौजदारी र दैवानी दुवै किसिमका मुद्दाहरुमा सम्बन्धित व्यक्तिले व्यक्त गरेका अन्तिम बोली वा लेखतलाई कानूनी मान्यता दिने गरिन्छ । उदाहरणका लागि आत्महत्या गर्ने व्यक्तिले स्वयं आफ्ना इच्छानुरुप आत्महत्या गरेको प्रमाण सावित भए उक्त अपराधमा मुछिएका व्यक्ति छुटकारा पाउँछन् । कुनै व्यक्तिले मर्ने बेलामा गरेको इच्छापत्रले कानूनी मान्यता प्राप्त गरेको सिद्धान्त प्रतिपादित नै भएको देखिन्छ ।
उपरोक्त सिद्धान्त र कानूनी मान्यता अनुरुप पनि मधेशका मसिहा गजेन्द्रनारायण सिंहको अन्तिम इच्छा सप्तरी सेवा आश्रमलाई ‘गजेन्द्र नारायण सिंह जनकल्याण ट्रष्ट’ बनाउने थियो र त्यसलाई कार्यान्वयन गर्ने दायित्व राज्य र अन्य सम्बन्धित निकायको हो, भन्ने विषयमा दुईमत नहोला । किनभने २०३४–३५ सालदेखि २०५६ सालसम्मको २१ वर्षको लामो अवधिमा गजेन्द्रनारायण सिंहको ध्यान ट्रष्ट बनाउनेतिर गएन ।
उनी सो समयलाई संगठन निर्माण र मधेशको उत्थान तिरै आफ्ना ध्यान केन्द्रीत गर्नुभएको विषय उनको जीवन इतिहास हेर्दा स्वतः छर्लड्डिन पुग्छ । तर २०५७ सालमा उनको मनभित्र आफ्ना आश्रमलाई ट्रष्टका रुपमा परिणत गर्ने इच्छा हुनु र २०५८ माघ १० गते उहाँको देहावसान हुनुले, उक्त इच्छा उनको अन्तिम इच्छा थियो भन्ने प्रमाणित गर्दछ । तसर्थ आजन्म देश, मधेश र जनताकालागि संघर्ष गर्दै जीवन विताएका मधेशका मसिहा गजेन्द्रनारायण सिंहको अन्तिम इच्छा पुरा गराउने दायित्व राज्य, स्थानीय प्रशासन, मधेशी दलहरु, आम बुद्धिजीवि, समाजसेवी, पत्रकार तथा आम जनमानसको हुन जान्छ ।
यस कार्यका लागि स्व. गजेन्द्र नारायण सिंहसँग सदैव समिपस्थ रहेका ने.स.पा. (गजेन्द्रवादी) का अध्यक्ष विकास कुमार तिवारीसहितका व्यक्तिहरुले प्रयास पनि गरेका छन् । अध्यक्ष तिवारीद्वारा दायर मुद्दाको रिटमा पुनरावेदन अदालत, राजविराजले गजेन्द्रनारायण सिंहको समाधिस्थल र उनका नीजि निवास आम जनमानसकालागि सदैव खुला राख्ने र अतिक्रमण गर्न नदिने अन्तरिम आदेश जारी गरेको छ । स्थानीय प्रशासन, राजविराज नगरपालिकासहित अन्य सम्बन्धित निकायका नाममा जारी उक्त अन्तरिम आदेशको पालना गरिनुको बदला उक्त सप्तरी सेवा आश्रममा नीजि विद्यालय सञ्चालनका साथै अतिक्रमण गरी नीजि उपभोग गर्ने षडयन्त्र जारी रहेको छ । यदि यस्ता अतिक्रमण गर्ने प्रवृतिले अझ प्रश्रय पायो भने निकट भविष्यमै उक्त ऐतिहासिक स्थलमा थप अतिक्रमण हुँदै गई बिक्री वितरण र काटछाँट समेत हुन सक्ने सम्भावना बढ्दै जाने सम्भावना देखिन्छ । क्रान्ति भवन भत्काएर विद्यालय बनाएपछि गजेन्द्रनारायण सिंहको अन्तिम इच्छा र अदालतको आदेशको अवहेलना हुने गरी मुख्य निकासद्वारमै अतिक्रमण गरी नीति ठूला भवन निर्माण हुदैछ ।
राजविराज नगरपालिकाबाट नक्सापासको स्वीकृति बिना नगरपालिकाबाट निर्माण कार्य रोक्काको आदेश हुँदा पनि सो को कुनै परवाह नगरी समाधिस्थल र निवास समेतलाई छेक्ने गरी नीजि भवन  निर्माण भइरहेको छ । अदालतको अन्तरिम आदेश र स्व. सिंहको अन्तिम इच्छा विपरित हुन लागेको यस गैर कानूनी कार्यलाई रोक्ने सवैको दायित्व हुन आउँछ ।
तसर्थ मधेशका प्रणेता गजेन्द्रनारायण सिंहको अन्तिम इच्छा पुरा गराउन स्थानीय प्रशासन, मधेशी दल, मधेश आन्दोलनकालागि सक्रिय मधेशी मोर्चा स्व. सिंहका शुभचिन्तकसहित बुद्धिजीवि, पत्रकार र आम जनमानसको कर्तव्य बन्न पुगेको छ । यसै परिप्रेक्ष्यमा स्व. सिंहको १४औं पुण्य तिथिको अवसरमा सम्बन्धित सवै निकायले उनको अन्तिम इच्छा पुरा गराउनेतर्फ यथोचित कदम बढाउनु आजको आवश्यकता रहेको छ ।
अन्तमा मलाई जुँगाको रेखी आएदेखि नै मधेशका मसिहा गजेन्द्रनारायण सिंहको सामिप्यता प्राप्त भई उनको अवसानसम्म सदैव साथ रहँदा हासिल गरेका ज्ञान र अनुभवलाई जीवनभर प्रसार गर्ने प्रतिबद्धतासहित आज १४औं पुण्यतिथिका अवसरमा प्रातः स्मरणिय नेता गजेन्द्र नारायण सिंहप्रति भावभिनी श्रद्धा सुमन अर्पण गर्दै उहाँको अन्तिम इच्छा पूर्ण होस् भन्ने कामना गर्दछु ।
(लेखक मण्डल नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व सभापति एवम् अधिवक्ता हुन् ।)

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *