म मधेसको पक्षमा किन छु ? (मधेस आन्दोलन : नेपाल एकीकरण र राष्ट्रवादको पाठशाला हो)

म मधेसको पक्षमा किन छु ? (मधेस आन्दोलन : नेपाल एकीकरण र राष्ट्रवादको पाठशाला हो)
Nava Jyoti Saving & Credit Co-Operative Ltd.

खगेन्द्र संग्रौला

अघिल्लो पटक म जनकपुर आउँदा मधेस आन्दोलनको इतिहास, प्रकृति र सम्भावनालाई लिएर मधेसकै एउटा एफएमका पत्रकारसँग संवाद गरेको थिएँ । उसले मलाई सोधेको थियो कि ‘तिमी कहाँ बस्छौ ? माथि कि तल ?’ उनको प्रश्नमा के देखिन्थ्यो भने नेपाल दुइटा भइसकेको छ : एउटा पहाड छ, अर्को मधेस छ ।

मैले उसलाई सोधें, ‘के नेपाल खण्डित भइसक्या हो ?’ उसँग जवाफ थिएन । मैले के भनें भने ‘म चाहिँ दसगजामा बस्छु ।’ म जन्मले पहाडी, नेपाली भाषी । अझ नागरिकता त केकेको हिसाबले हिन्दू पनि । भाषा नेपाली, वर्ण गहुँगोरो । बसाइ पहिले पाँचथरमा, अहिले काठमाडौंमा ।
यसलाई अब कसरी पनि भन्नुहोला भने म नेपालको नागरिक हुन्छु । मेरो विश्वास के छ भने मधेस ब्युँझेको छ । मधेस यति लामो समयदेखि समान अधिकार र सम्मानको आन्दोलनमा छ । मधेसले यो आन्दोलन जित्ने छ । राज्यका संयन्त्रहरुमा यसले समान अधिकार प्राप्त गर्ने छ ।

मधेसले खण्डखण्डमा बाँडिएको नेपाललाई एकीकृत गर्ने छ । मधेसको आन्दोलन एकीकरणको आन्दोलन हो । म चाहिँ मधेसद्वारा एकीकृत र सामाजिक न्यायमा आधारित सबै नेपालीहरुको साझा पहिचान बन्ने प्रक्रियामा रहेको नेपालको नागरिक बन्ने छु ।

मधेसले खण्डखण्डमा बाँडिएको नेपाललाई एकीकृत गर्ने छ । मधेसको आन्दोलन एकीकरणको आन्दोलन हो । म चाहिँ मधेसद्वारा एकीकृत र सामाजिक न्यायमा आधारित सबै नेपालीहरुको साझा पहिचान बन्ने प्रक्रियामा रहेको नेपालको नागरिक बन्ने छु ।

मलाई मधेस थाहा छैन । म पाँचथरमा जन्मिएँ, राई/लिम्बुको बीचमा । म एसएलसी र इन्टरमिडिएट तेह्रथुममा पढेँ र त्यसपछि काठमाडौं गएँ । म जुन बेला काठमाडौं गएँ, त्यस बेलामा राजा महेन्द्रको जगजगी थियो । पञ्चायत लागु गरिएको थियो । निर्दलीय व्यवस्था थियो । राजनीतिक दलहरु प्रतिबन्धित थिए । कम्युनिस्ट/कांग्रेस कि त भूमिगत थिए कि प्रवासमा थिए कि जेलमा थिए ।

मैले महेन्द्रीय पाठशालामा पढेँ । संयोगले काठमाडौं गएपछि वामपन्थी युवाहरुसँग मेरो सम्पर्क भयो र म वामपन्थी बनेँ । अहिले फर्केर हेर्दा के देखिन्छ भने कम्युनिस्ट वा बामपन्थमा दुई वटा कुराको योग भएको रहेछ । एउटा, हिन्दू शुद्धता र अर्को, राजा महेन्द्रले अघि सारेको मण्डले राष्ट्रवाद । म त्यो पाठशालामा हुर्किएको हुँ ।

म काठमाडौंमा पढ्न जाँदा काठमाडौंमा तराई मधेसका भाइहरुको धेरै ठूलो संख्या थिएन तर थियो । महेन्द्रीय पाठशालाबाट र काठमाडौंको नेवार बस्तीबाट मैले चिनेको मधेसी भनेको ‘काले, मदिसे, धोती’ थिए । ‘मनु मखु मर्सिया खः’ भन्थे नेवारहरु । मेरै देशको मान्छेलाई त्यसो भनिँदा मेरो चित्त दुख्दैनथ्यो । किनभने म राष्ट्रवादी थिएँ । मण्डले राष्ट्रवादी । मेरो कम्युनिस्ट पाठशालाले पनि मलाई मण्डले राष्ट्रवादै सिकाएछ ।

सौभाग्यवश, मधेसका तीन वटा विद्रोह मेरो लागि मधेसलाई चिन्ने, त्यसको आकांक्षा, संवेदना बुझ्ने र इतिहासमा भागेको बहिस्करण, तिरस्कार र अपमानबारे जान्ने पाठशाला भएको छ । मधेसले आन्दोलन गरेर मेरो लागि पाठशाला खोलिदिनुभएको छ । त्यो पाठशालामा म मधेस पढिरहेको छु ।

म तपाईंलाई एउटा घटना सुनाउँछु । मधेससँग मेरो सबभन्दा पहिलो सम्पर्क भएको थियो, २०३७ सालमा । त्यतिबेला म शिक्षक आन्दोलनको नेता थिएँ । डेनमार्कका लागि पूर्वराजदूत विजयकान्त कर्ण विद्यार्थीको रुपमा त्यतिखेर जेलमा आएका थिए । मैले नजिकैबाट देखेको, भेटेको र केही समय सँगै बसेको मधेसी उही हो । सीके लाल द इन्डिपेन्डेन्ट भन्ने पत्रिकामा अंग्रेजीमा लेख लेख्नुहुन्थ्यो । सीके लालको लेखबाट म प्रभावित थिएँ । र, त्यो प्रभावलाई कहिले पनि मैले मधेससँग जोडिनँ । सीके लालको लेखन मलाई मन पथ्र्यो । व्यक्तिलाई मैले चिनेको थिइनँ ।

मैले आफ्नो साहित्य साधनाको इतिहासमा धेरै त बाहुन/क्षेत्रीकै बारेमा लखेको छु । किनभने लेखकले त्यही चिज लेख्दछ, जे उसले जान्दछ । मैले दलितको बारेमा ठूलो उपन्यास लेखेको छु । दलित मेरो गाउँमा पनि थियो । बाल्यकालदेखि नै मैले त्यसलाई चिनेको थिएँ ।मैले जनजाति, खासगरी राई/लिम्बुको बारेमा लेखेको छु । किनकि बाल्यकालमा मेरा साथी तिनीहरु थिए । तिनीहरुसँग सँगै बसेँ, सँगै खाएँ, सँगै झगडा गरेँ, सँगै प्रेम गरेँ । तर मधेससँग मेरो कहिले पनि सम्पर्क भएन । मलाई केमा शरम लाग्छ भने मैले मधेसबारे के पनि लेख्या छैन । सबभन्दा पछिल्लो लेख लेखेको भनेको राष्टपतिको सवारी हो ।

नेपालका कम्युनिस्टहरु अन्तर्राष्ट्रिय गीत अझ पनि गाइरहेकै छन् । माले, मसाले, मण्डले, जोसुकै हुन्, तिनीहरुले त अन्तर्राष्ट्रिय गीत गाइरहेकै छन् – मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ । तर, अहिले महेन्द्रीय राष्ट्रवादको झण्डा उठाएर आफ्नै देशको सहनागरिक मधेसीहरुलाई घृणा गरिरहेका छन् ।

साहित्यमा मैले मधेसबारे केही पनि लेखेको छैन । मेरो एक जना मित्र हुनुहुन्छ अनुभव अजित, जो जनकपुरकै हुनुहन्छ । कहिलेकाहीँ तिनले मलाई गिज्याउँछन् । मेरा कथाहरुमा केही ठाउँमा मारवाडीको चित्रण छ । त्यसमा पहाडीको शिष्टता र मारवाडीको तुच्छता चित्रित भएको भनेर उनी मलाई भन्छन् ।अब म तपाईंलाई एउटा रोचक र मेरो लागि शर्मनाक घटना सुनाउँछु । मधेस तीनटा आन्दोलनबाट गुज्रिरहेको छ । पहिलो मधेस विद्रोहमा, अझ त्योभन्दा अगाडि राजा ज्ञानेन्द्रको निरंकुशतन्त्रको विरुद्धमा लड्नका निम्ति डा. देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीको नेतृत्वमा हामीले नागरिक आन्दोलन प्रारम्भ ग¥यौं । नागरिक आन्दोलनको एउटा भेटघाट थियो अनामनगरमा । म सबभन्दा पछाडि बसेको थिएँ । केही पर बीचमा पिलरसँग जोडिएर एक जना मानिस बसेका थिए । त्यो मान्छे मेरो दृष्टिमा मान्छेजस्तो थिएन । यो धेरै अगाडिको कुरा होइन । २०६३ सालको मात्रै कुरा हो । ऊ एकदमै कालो थियो । त्यसलाई नेपाली भाषामा धम्मरधुस भन्छ । चौपट्टै कालो । मेरो आँखामा त्यो मान्छे मान्छेजस्तो लाग्दै लागेन । म चकित भएर हेरेँ ।

बाल्यकालमा हामीकहाँ वनझाँक्रीको कथा सुनाइन्थ्यो । धेरै लामो, डरलाग्दो कपाल भएको । कालो, डरलाग्दो अनुहार । मलाई अनुभव अजित त्यस्तै लाग्यो । केही समयपछि अनुभवले बोल्यो । अनुभवले नेपाली मैलेजत्तिकै वा मैलेभन्दा राम्रो बोल्यो । अनुभवको नेपालीमा मधेसी लवज थिएन ।

मैले इतिहासमा जे सिकेँ, त्यसलाई अत्यन्तै कष्टपूर्वक मेट्न खोजिरहेको छु । म तपाईंंको बीचमा आएको मधेस चिन्नको लागि हो । मधेस उत्पीडित क्षेत्र हो । पहाडी राज्यले दास बनाएको क्षेत्र हो । अढाई सय वर्षको दासताबाट मधेस ब्युँझेको छ ।

अनुभवले नेटिभ स्पिकरजस्तै बोल्यो । मलाई लाग्यो, यो काले–मर्सिया–धोती, यसले त मैलेजस्तै नेपाली बोलिरहेको छ । म एकदमै स्तब्ध भएँ । कसोकसो लज्जाबोध भयो । अहिले त्यही अनुभव मेरो सबभन्दा नजिकको साथी हो । मेरो साथी, मेरो भाइ र झण्डै मेरो छोरीको उमेरको भएकोले अनुभव मेरो छोराछोरीजस्तै छ । त्यसैले मधेससँगको सम्पर्क मेरो धेरै लामो छैन, छोटो छ ।

सौभाग्यवश, मधेसका तीन वटा विद्रोह मेरो लागि मधेसलाई चिन्ने, त्यसको आकांक्षा, संवेदना बुझ्ने र इतिहासमा त्यसले भागेको बहिस्करण, तिरस्कार र अपमानबारे जान्नको लागि पाठशाला भएको छ । तपाईंहरुले आन्दोलन गरेर मेरो लागि पाठशाला खोलिदिनुभएको छ । त्यो पाठशालामा म मधेस पढिरहेको छु ।

फेरि पनि पछाडि फर्केर हेर्दा कम्युनिस्टले मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ भन्छ । कार्ल मार्क्सकै कुरा गर्ने हो भने मार्क्सवादले रगतको रेखा लागेका देशको सिमानालाई मान्दैन । भविष्यमा संसार एउटै जाति हुनेछ भन्छ । नेपालका कम्युनिस्टहरु अन्तर्राष्ट्रिय गीत अझ पनि गाइरहेकै छन् । माले, मसाले, मण्डले, जोसुकै हुन्, तिनीहरुले त अन्तर्राष्ट्रिय गीत गाइरहेकै छन् – मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ । र, त्यसरी गाइरहेकाले पनि अहिले महेन्द्रीय राष्ट्रवादको झण्डा उठाएर आफ्नै देशको सहनागरिक मधेसीहरुलाई घृणा गरिरहेका छन् ।

मैले इतिहासमा जे सिकेँ, त्यसलाई अत्यन्तै कष्टपूर्वक मेट्न खोजिरहेको छु । म तपाईंंको बीचमा आएको मधेस चिन्नको लागि हो । मधेस उत्पीडित क्षेत्र हो । पहाडी राज्यले दास बनाएको क्षेत्र हो । अढाई सय वर्षको दासताबाट मधेस ब्युँझेको छ । त्यो जागिरहेको, ब्युँझिरहेको, एकताबद्ध भइरहेको, मनुष्यत्व खोजिरहेको, समानता खोजिरहेको, सम्मान खोजिरहेको मधेसीको बीचमा छु ।

सौभाग्यवश, मेरो लागि मधेस आन्दोलन अत्यन्त सुन्दर पाठशाला हो । मधेसकै जानकारीको कुरा गर्ने हो भने म अहिले ‘अपर केजी’मा मात्रै छु । म मधेसबारे धेरै कुरा सिक्न चाहन्छु ।

(पत्रकार प्रशान्त झाद्वारा लिखित ‘ब्याट्ल्स् अफ द न्यु रिपब्लिक’ र उज्ज्वल प्रसाईंद्वारा गरिएको खस नेपाली अनुवाद ‘गणतन्त्रको संघर्ष’ नामक पुस्तकको गत पुस १३ गते जनकपुरमा सम्पन्न विमोचन समारोहमा पत्रकार झासँगको संवादमा व्यक्त विचार)

प्रस्तुति– कुमार अमरेन्द्र /ईसमता डट्कम

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *