
राजविराज, २ माघ । राज्यपक्षले स्वतन्त्र मधेश गठबन्धनको अभियानमा लागेकाहरुलाई पक्राउ गर्ने तयारी गरिरहँदा गठबन्धनले समेत ‘जेल भरो आन्ंदोलन’लाई अगाडि बढाउने भएको छ ।
स्वतन्त्र मधेशको माग गर्दै डा. सिके राउतको नेतृत्वमा गठबन्धनले मधेशका जिल्लाहरुमा आफ्ना गतिविधिहरु गर्दैआएका छन् । डा. राउतले आफ्नो फेसबुक पेजमा उल्लेख गरे अनुसार ९० हजार सक्रिय सदस्यहरुमध्ये १० प्रतिशत अर्थात ९ हजार सदस्यले गिरफ्तारी दिने छन् । बाँकी सदस्यले समर्थहरुलाईं प्रशिक्षण दिने र सङ्गगठन विस्तारमा लाग्ने उनले खुलासा गरेका छन् । यद्यपी हाल भने उनले औपचारिक रुपमा उक्त आन्दोलनको औपचारिक घोषणा भने गरेको छ्रैन ।
राष्ट्रिय परिषदको योजनामा आजादी आन्दोलनको औपचारिक घोषणा र विश्व समर्थन पाउनकालागि आह्वान गर्नु अघि सक्रिय सदस्य संख्या १० लाख पुर्याउने उनले समाजिक सञ्जाल मार्फत खुलासा गरेका छन् । दुई–चार जनालाई गिरफ्तार गरी हिरासतमा राखेर मुद्दा लगाउँदैमा आन्दोलन नरोकिने उनले उद्घोष गरेका छन् ।
हालसम्म गठबन्धनको सक्रिय सदस्य करिब ९० हजार रहेको तथा समर्थकहरु गाउँ–गाउँ र टोल–टोलमा रहेको डा. राउतले उल्लेख गरेका छन् । समाजिक सञ्जालमा उल्लेख भए अनुसार स्वराज शान्तिपूर्ण आन्दोलनमा लागेकाहरुलाई जेल जानकालागि समेत प्रशिक्षण दिने कार्य जारी रहेको छ । हाल एक–दुई ठाउँमा नमूना जनमत संग्रह भएको उल्लेख गर्दै डा. राउतले भनेका छन् ‘हाम्रो ट्रेनिङ्ग साधनाकै हिस्सा हो, आगोको भट्टीमा तातेपछि हामीमा थप निखार आउनेछ ।’
एकसाता अघि सप्तरीको मलेकपुर गाविसको खुरहुरिया र मुसहर्नियामा आयोजित गठबन्धनको कार्यक्रममा प्रहरीले अवरोध पुर्याउँदै पक्राउको प्रयास गरेका थिए । यस्तै सप्तरीको कल्याणपुर–३ का राजनीतिकर्मी मो. उस्मान मियाँलाई डा. सिके राउतको सङ्गठनमा लागेको भन्दै गत पुस २२ गते पक्राउ गरी दुई दिनसम्म ईलाका प्रहरी कार्यालय कडरबोनामा राखेका थिए ।
यता गठबन्धनमा आवद्ध स्वयम्सेवकहरुको शान्तिपूर्ण प्रशिक्षण सप्तरीसहित मधेशका जिल्लाहरुमा केही महिनादेखि सञ्चालन हुँदैआएको छ । उनको अभियानमा युवाहरुकासाथै बुद्धिजिवी जमातको सहयोग तथा समर्थन अत्यधिक रहेको राजनीतिक विष्लेशकहरुको भनाइ छ ।



