• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

नेता महतोको राजनीतिक भेंटघाट तीव्र, सीमांकनसहितको माग पूरा नभएसम्म आन्दोलन नरोकिने प्रतिवद्धता

दिल्ली, २५ पुस । नयां दिल्लीमा उपचार गराएर स्वास्थलाभ गरिरहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले शनिवार भारतीय कांग्रेसका दुई वरिष्ठ नेतासँग भेटघाट गरेका छन् ।
भारतका पूर्व विदेश मंत्री सलमान खुर्शीद र पूर्व केन्द्रीय मंत्री कपिल सिब्बलसँग महतोले भेटघाट गरेका हुन् । नयांँ दिल्ली स्थित इण्डिया इन्टरनेशनल सेन्टरमा दिउंसो भएको भेटघाटमा कांग्रेसका दुई वरिष्ठ नेताले नेपालमा जारी मधेश आन्दोलनलाई आफ्नो पार्टीको पूर्ण नैतिक समर्थन रहेको जनाएका छन् । भेंटघाटको क्रममा पूर्व विदेश मन्त्री सलमान खुर्शीदले मधेश आन्दोलनको क्रममा भएको दमन निन्दनीय रहेको र कुनै पनि लोकतान्त्रिक देशमा यसप्रकारको दमन स्वीकार्य नहुने बताएका छन् ।
खुर्शीदले मधेशको सवालमा भारत सरकारले खुलेर कदम नउठाएको गुनासो गर्दै मधेशको मांग बारे आफूले व्यक्तिगत र पार्टीको तर्फबाट पनि भारत सरकारमाथि दबाब बनाउने बताएका छन् । उनले संसदमा दर्ता गराएका संविधान संशोधन प्रस्तावले मधेशको मांगलाई सम्बोधन गर्ने कि नगर्ने बारेमा जिज्ञासा राखेका थिए । 1 (2)
जवाफमा महतोले हाल संसदमा दर्ता गरेको संशोधन प्रस्तावले मधेशको मांग सम्बोधन नहुने स्पष्ट पारेका छन् । उनले सीमांकनसहितको सबै मांग पूरा नभएसम्म आन्दोलन नरोकिने बताए । महतोले संविधान संशोधनमा तीन ठूला दल खास गरि सत्तारूढ दल एमाले र एमाओवादीले संशोधन नचाहेको र त्यसको अपजस मधेशी मोर्चालाई दिने षड्यन्त्र गरिरहेको बताए ।
महतोको स्वास्थ्य अवस्था बुझ्न पूर्व केन्द्रीय मन्त्री र राज्यसभा सांसद कपिल सिब्बलले पनि भेट गरेका छन् । सिब्बलले संविधान संशोधन मार्फत मधेशको दुई वटा महत्वपूर्ण मांग सम्बोधन हुने जानकारी आफूहरूले पाएको बताएका छन् । तर महतोले यस कुरामा कुनै सत्यता नरहेको र यो संविधान संशोधनले मधेशीको मुद्दालाई सम्बोधन नहुने स्पष्ट पार्दै संविधान संशोधनको प्रस्ताव मधेशी मोर्चाको जानकारी बिना नै दर्ता गराईएको बताए । नेता महतोले भाजपाका नेपाल मामिला हेर्ने केही नेताहरूलाई भेट्ने कार्यक्रम रहेको छ ।