
राजविराज, २३ पुस । विरोधका कार्यक्रमलाई निरन्तरता दिँदै विहीवार राजविराजमा शहीदहरुको आत्माको चीरशान्तिको कामना गर्दै मैनवत्ती प्रज्ज्वलन गरिएको छ ।
मधेशी मोर्चा नगर समितिद्वारा आयोजित सभाका वक्ताहरुले मधेशको सम्बोधनमा ढिलाइ भए अवस्था भयावह हुनसक्ने बताएका छन् । उनीहरुले मधेशको मागलाई वार्ता तथा सम्वादको माध्यमबाटै निकास खोजिनुपर्नेमा जोड दिए । मधेशी जनताको मुक्तिकालागि शहीदहरुले दिएको बलिदानीलाई खेर जान नदिन आफूहरु जस्तोसुकै संघर्ष गर्न तयार रहेको बताए ।
मोर्चाका राजविराज नगर समितिका अध्यक्ष उमेश साह कमाण्डोको अध्यक्षतामा आयोजित विरोध सभामा मधेश रक्षा वाहिनीका जिल्ला अध्यक्ष विनोद कुमार यादव, मधेशी जनअधिकार फोरम गणतान्त्रिका जिल्ला सचिव अरबिन्द यादव, चन्द्रनरायण यादव, सद्भावना पार्टीका जिल्ला सदस्य भोगेन्द्र मण्डल, महिला नेतृ पूनम यादव, रमिला साहलगायतले सम्बोधन गरेका छन् ।
यसैगरी राजविराज स्थित गजेन्द्र चौकमा शहीदहरुको सम्झनामा मैनवत्ती प्रज्ज्वलन गरिएको छ । यस्तै जिल्लाको झहुरा चौकमा समेत मैनवती प्रज्ज्वलन गरिएको छ । कार्यक्रममा मधेशी मोर्चाका क्षेत्रीय संयोजक कमलदेव यादव, नेता राधेश्याम पंडित, शिवशंकर यादव, नर्घो गाविसका पूर्व अध्यक्ष मुसहरु यादवलगायतको उपस्थिति रहेको थियो ।



