
राजविराज, २३ पुस । सप्तरीको राजविराज कारागारमा एक कैदीको बुधबार राती मृत्यु भएको छ । राजविराज नगरपालिका वडा नम्वर–८ निवासी ५५ वर्षीय अशोककुमार गुप्ताको मृत्यू भएको हो । जण्डिस रोग र ज्वरोबाट ग्रसित कैदी गुप्ता राति करिब १० बजेको समयमा अचानक बेहोस भएका थिए । बेहोस भएका उनलाई राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । यद्यपी उनको तत्कालै मृत्यू भएको थियो ।
अन्दाजी ५० वर्षिय गुप्ताको शवलाई पोष्टमार्टम पश्चात अन्तिम संस्कारकालागि पत्नी शकुन्तला र जेठो छोरा मनोजको जिम्मा लगाइएको छ । गत जेठ २७ गते गुप्तालाई जिल्ला अदालतले चोरी मुद्दामा एक वर्षको कैद र रु एक हजार ८२३ जरिवाना गरी राजविराज कारागारको थुनामा पठाइएको थियो । मृतकका जेठो छोरा मनोज पत्रिका वितरकको काम गर्दैआएका छन् ।



