• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

दृष्टि विहिन तेजु मैथिलको सफल गायक बन्ने धोको

दृष्टि विहिन तेजु मैथिलको सफल गायक बन्ने धोको

राजविराज, १९ पुस । ‘दृढ संकल्प र ईच्छा शक्ति भए संसार कुनै कुरा असम्भ छैन’ भन्ने मान्यतालाई स्थापित गर्ने युवा हुन् युवा तेजु मैथिल । जन्मैदेखि दुबै आँखाको दृष्टि गुमाएका २१ वर्षिय उनी लक्ष्य प्राप्तिकालागि कडा संघर्ष गरिरहेका छन् ।
सप्तरीको ईनर्वा फूलबडिया वडा नम्वर–१ म जन्मस्थान भएका उनको वास्तविक भने तेजनारायण यादव हो । स्व. पुलकित यादव एवम् बिन्दा देवीका एकमात्र छोरा तेजुलाई आँखाको उपचार गराउन धरान, लहान, काठमाण्डौसम्म लगियो तर आँखा भने ठिक भएन । उनी ६ वर्षकै हुँदा बुवा पुलकित लिभर क्यान्सरबाट पीडित भई सदाका लागि विदा भए ।
एक बहिनीसहित पारिवारिक सम्पूर्ण जिम्मेवारी आमाकै काँधमा थपिए । सानैदेखि तिक्ष्ण बुद्धिका तेजुले गाउँका अन्य बालबालिकाहरुसँगै स्कूलमा पढ्ने रहर गरे । तर दुबै आँखा नदेख्ने भएका कारण गाउँको विद्यालयमा पढ्ने सपना पुरा हुन सकेन । उनी आमा र आफन्तजनको सहयोगमा राजविराजस्थित पब्लिक विन्देश्वरी उच्च माध्यमिक विद्यालयमा बे्रल लिपीको पढाई शुरु गरे ।
कक्षा ५ सम्म उक्त उच्च विद्यालयबाटै कक्षा ५ सम्मको पढाई पुरा गरे । माथिल्लो कक्षा पढ्नकालागि शिक्षकको व्यवस्था नभएका कारण उनको तीन वर्षसम्म पढाई अवरुद्ध रहन पुगे । माथिल्लो कक्षा पढ्नका लागि उनी लहान रेडक्रसमा कार्यरत रामचन्द्र यादव (फुपुका छोरा)को सहयोगमा लहान गए । स्थानीय पशुपति आदर्श उच्च माध्यमिक विद्यालयमा भर्ना भएर अध्ययन गर्न थाले ।2
निक्कै मेहनती छात्र तेजु हाल कक्षा ११ मा अध्ययनरत छन् । पढ्नमा समेत उनी जेहेन्दार छन् नै । उनमा गायनको विशेष खुबी रहेको छ । भविष्यमा शास्त्रीय सङ्गीतको अध्ययन गरेर कुशल गायक बन्ने संकल्प लिएका छन् । उक्त संकल्प पुरा गर्न उनी लहानमै राजदेवी सङ्गीत कला केन्द्रमा विद्या मिश्राबाट गायनको प्रशिक्षण लिईरहेका छन् ।
मैथिली गायनको क्षेत्रमा सम्राट मानिने कुञ्ज बिहारी मिश्र जस्तै बन्ने सपना साँचेका छन् । अध्ययन बाहेकका समयमा उनी दैनिक गायनको अभ्यासमा समेत जुट्ने गर्छन् । मैथिली भाषा, साहित्य एवम् संस्कृति संरक्षणमा समेत सक्रिय रहेका उनले मधेश आन्दोलन सम्बन्धि गीत समेत गाएका छन् । ‘चहटगर चटनी’ नामक मैथिली गिती एल्बमको गीत रेकर्डिङ्गका क्रममा राजविराज आईपुगेका उनले उक्त एल्बमबाटै आफूले पहिचान बनाउने बताए ।
लहानको समग्र एफएममा कार्यक्रम सञ्चालन गर्दैआएका उनी तबला, नाल आदि बजाउनमा माहिर छन् । लक्ष्य प्राप्तिकालागि संघर्ष गर्दैआएका तेजु मैथिली, भाषा, साहित्य र संस्कृतिको संरक्षणकालागि समेत आजिवन सक्रिय भूमिका निर्वाह गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
सहयोगीलाई लेख्न लगाएर परीक्षामा सामेल हुँदैआएका उनले ‘न्यूज टुडे’सँग भने ‘अहिले विभिन्न विद्यालयहरुमा बे्रल लिपी शिक्षकको अभाव रहेकोले अवसर पाए पढाउन चाहन्छु, यसले जिवन निर्वाह गर्न समेत केही सहज हुनेथियो ।’ सफल गायक बन्नका लागि जस्तोसुकै कठोर संघर्ष गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गर्दै तेजुले भने ‘कठोर संघर्ष र मेहनत गरेर भए पनि एक दिन अवश्य सफल गायक तेजु मैथिल भनेर चिनाउने मेरो संकल्प छ ।’