राष्ट्रपतिको असामयिक सवारी

राष्ट्रपतिको असामयिक सवारी
Bwtech New Add With Software & Bull SMS

खगेन्द्र सङ्ग्रौला, काठमाडौं
पुस ८, २०७२- काठमाडौंमा सुन्दा कुरो एउटा थियो, जनकपुर जाँदा यता सुनिएको कुरोभित्रबाट अर्के कुरो प्रकट भयो । काठमाडौंमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको जनकपुर सवारीमा भएको मुर्दावाद र ढुंगामुढासँगै अर्को संवेदनशील प्रकरण थपिएको थियो । त्यो हो, विधवाका गोडाले टेक्दा अपवित्र भयो भनेर गरिएको जानकी मन्दिरको शुद्धीकरण । राष्ट्रपति भण्डारीलाई लक्षित गरी महिला अस्मिताको खिल्ली उडाउने प्रकृतिको यस घटनालाई सकेसम्म उछालेर असामयिक सवारीको विवादास्पद पक्षलाई भने छोप्न खोजिएको मलाई आभास भयो । थलैमा गएर पछि थाहा पाएँ, काठमाडौंमा थाहा नपाइएको वा बुझपचाइएको कुरोभित्र गाँट्ठी कुरो यस्तो रहेछ ।

राष्ट्रपतिको गाथको सुरक्षार्थ मन्दिरभित्र रेकी अर्थात् सुरक्षाजाँच गरिएछ । जाँचका क्रममा छालाका जुत्ता र जाँचकी कुकुर मन्दिरभित्रको पूजामण्डपसमेत स्पर्श गर्न पुगेछन् । धार्मिक संवेदनाको एकरत्ति परवाह नगरी हुनगएको त्यो विवेकशून्य कृत्यले आस्थावानहरूको चित्तमा अपमान र आक्रोशको आगो बालेछ । र जुत्ता र कुत्ताको उपस्थिति र स्पर्शबाट बिटुलिएको मन्दिर गंगाजल छर्केर चोख्याइएछ । त्यसै क्रममा जुत्ता र कुत्ताको आघातले व्याकुल भएको कुनै धर्मभीरु व्यक्तिको उद्वेलित र असंयमित चित्तबाट ‘विधवाले टेकेको मन्दिरको सफाइ’जस्तो नारीद्वेषी वचन प्रकट भएको रहेछ ।
यता राजधानीस्थित पशुपतिनाथको मन्दिरमा जुत्ता र कुत्तालाई प्रवेश निषेध छ । यो कठोर धार्मिक संहिताको दृष्टान्त जनकपुरमा राष्ट्रपति भण्डारीको सवारी चलाउने सज्जनहरूलाई कण्ठ हुनुपर्ने हो । ठूलो भक्त पशुपतिको मूलगेट बाहिर चर्मजन्य वस्तु छाडेर भक्तिमुद्रामा भित्र पस्छ । बाहिर आफ्ना पत्रु जुत्ता फुकालेर ठूलो भक्तका शानदार जुत्ता लगाएर सानो भक्त टाप कस्छ । भित्र भक्तिभाव चल्छ, बाहिर चोरीचकारी । तैपनि पशुपतिनाथमा कठोर धार्मिक नियमको नित्य पालना भएकै छ । जानकीधाममा बलात् यो धार्मिक संहिता उल्लंघन गरियो र हुनुसम्म बबाल भयो । निर्दोष अरिंगालको गोलामा ढुंगो हान्दा बिच्केको अरिंगालको गोलोले जे गर्छ, जानकीधाममा आस्थावान र आन्दोलनकारीले त्यही गरे । यो सब असामयिक सवारी तथा जुत्ता र कुत्ताको करामत हो ।

hfgsL dlGb/df /fi6«klt hgsk'/sf] hfgsL dlGb/df ljjfxk~rdL dxf]T;jdf /fi6«klt ljBfb]jL e08f/L . tl:a/ M chos'df/ ;fx, hgsk'/wfd, /f;;

जुत्ता र कुत्ता यस विवादास्पद विषयका शीर्षक र पेटव्यहोरा हुन्, विधवा प्रकरण त पादटिप्पणीमात्र हो । तर मूलधारका धेरैजसो सञ्चार माध्यममा विषयको शीर्षक र पेटव्यहोरालाई काटियो र भयानक उत्तेजनासाथ पादटिप्पणीको पुच्छर हल्लाइयो । विधवाको उच्चारण गर्ने पात्रमाथि शब्दकोशमा भएका सबै निन्दासूचक शब्द खन्याइए । सरकार र प्रतिपक्षका आफूलाई महान मनिषी ठान्ने नेताबीच यो निन्दाकर्ममा उग्र प्रतिस्पर्धा चल्यो । महिला अधिकारकर्मी पाखुरा सुर्किँदै जंगिए । बडेबडे सम्पादकले जटिल यथार्थका अन्तरकुन्तरमा मिहिन दृष्टि दिन किञ्चित् लेठो नगरी सम्पादकीय लेखे, लेखै ठोकिदिए । अरू त अरू, पत्रकार महासंघधरि आफ्नो पेसागत कर्म र धर्मबाट विचलित भएर तथ्यका पत्रहरूको खोजतलासमा नगाली कोलाहलमय निन्दा अभियानमा आँखा चिम्लेर लामबद्ध भयो । राजतन्त्रमा सभक्ति सरकारी भाषा बोल्ने गोरखापत्र एउटा थियो, गणतन्त्रमा गोरखापत्रहरूको लस्कर गोचर भयो ।
सत्ता गठबन्धनको ‘राष्ट्रवाद’ र अधिकारमुखी मधेस आन्दोलन बीचको भीषण घर्षणबाट यसै पनि पहाड र मधेसबीच भयावह खाडल पैदा भएको छ । राष्ट्रपतिको सवारीले यो खाडलमा ड्रमका ड्रम पेट्रोल खन्याइदियो । विवाह पञ्चमीजस्तो शान्त धार्मिक अनुष्ठान रणभूमिमा परिणत भयो । आकाश र धरती एवं सडक र मन्दिरको प्रांगण हतियारधारी सुरक्षाकर्मीको कब्जामा परे । र दुर्भाग्यवश, राष्ट्रपति भण्डारी आस्थावान जन र आन्दोलनकारीको आक्रोशको तारो बनिन् । जनकपुरमा सुनेँ— राष्ट्रपतिको सवारीप्रति जानकी मन्दिरका पण्डितहरूको असहमति थियो । राम–जानकी विवाहको यज्ञ बिथोलिने चिन्ताबाट ती व्याकुल थिए । राष्ट्रपतिलाई सुरक्षा दिन कठिन हुने खुफिया फाँटको राय थियो । तैपनि बलमिच्याइँसाथ सवारी चलाइयो । यो अनिष्टकारी सवारी केवल राष्ट्रपतिको रहरको नतिजा हो कि अरू कसैको अहंकारको अभिव्यक्ति ? छानबिन हुनुपर्ने गाँट्ठी कुरो त यो हो । तर राष्ट्रपतिको अपमान गर्नेको खोजी गर्न छानबिन समिति गठन गरिएछ ।

नश्लवादी राष्ट्रवादले आफ्नो श्रेष्ठता सिद्ध गर्न शत्रुको आविष्कार गर्छ र शत्रुको कल्पित तुच्छतामा आफ्नो दम्भी श्रेष्ठता बोध गर्छ । के यो छानबिनको अभिप्राय त्यही हो ? के यो छानबिन मधेस आन्दोलनमाथि अर्को कलङ्क थप्ने र पहाड र मधेस बीचको दूरी अझ बढाउने चेष्टा हो ? यी सबै विखण्डनमुखी कर्मका कर्ता सत्ताको नेपथ्यमा को छ वा को—को छन् ?
राज्यको सर्वोच्च आसनमा विराजमान हुने राष्ट्रपति आलङ्कारिक पद हो । वास्तवमा राष्ट्रपति राष्ट्रको खोपामा सजिने मौन देवता हो । आलङ्कारिक राष्ट्रपति सलामी ग्रहण गर्छ, दर्शनार्थीहरूलाई आशिर्वाद दिन्छ, सामाजिक सामञ्जस्यको कामना गर्छ, विधेयक स्वीकृत गर्छ, भोज ख्वाउँछ र शान्त मनोदशामा दिन बिताउँछ । राष्ट्रपति राष्ट्रिय एकताको प्रतीक हो । त्यसैले आफू विवादित हुने वा जनतामा विभाजन ल्याउने वचन, निर्णय वा कर्मबाट कर्तव्यपरायण राष्ट्रपति बाह्र हात पर बस्छ ।

दुर्भाग्यवश, राष्ट्रपति भण्डारीको जनकपुर सवारीमा कटवाल काण्डको पुनरावृत्ति भएको छ । पूर्व राष्ट्रपति यादव क्षेत्राधिकार नाघेर रचिएको कटवाल काण्डपछि खण्डित भएका थिए । तिनमाथिको जनआस्था टुक्रिएको थियो । ती सिङ्गो राष्ट्रका साझा राष्ट्रपति बन्न चुकेका थिए । अहिले राष्ट्रपति भण्डारीको त्यही गति भएको छ । असामयिक जनकपुर सवारीबाट क्षणभरमै तिनले राष्ट्रका आधा जनताको आस्था र सम्मान गुमाएकी छन् । यसरी गरिमामय राष्ट्रपति पदको दुरुपयोग गर्ने–गराउने कर्ता र सूत्रधारहरू को हुन् ?
जनकपुरमा राष्ट्रपति भण्डारीप्रतिको विरोध वा प्रतिकार वास्तवमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित थिएन । त्यो त सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित थियो । सायद विरोध गर्नेलाई ओली महोदयद्वारा नश्लवादी राष्ट्रवादको नशामा लठ्ठिएर गरिएको मधेुस आन्दोलन र आन्दोलनकर्मीहरूको अखण्ड उपहास र अपमानको स्मरण गरायो होला । नतिजा जे जे भयो, त्यो त्यही अनुहार, त्यसको सोच, त्यसका वचन र त्यसका कर्मले निम्त्याएको अवश्यम्भावी नतिजा हो । विपरीत तत्त्वहरूबीच नित्य घर्षण भइरहने यस गतिमान नरलोकमा कसैको क्रिया जस्तो हुन्छ, त्यसप्रतिको प्रतिक्रिया त्यस्तै नभई छाड्दैन । कुरूप क्रियाको सुन्दर प्रतिक्रिया चाहनु अयथार्थवादी इच्छा हो ।
आन्दोलनरत मधेसी जनहरू अझै पनि एकीकृत नेपालको छातामुनि समान अधिकार, पहिचान र सम्मानको खोजीमा तल्लिन छन् । नश्लवादी राष्ट्रवादले तिनको आन्दोलनमा दिल्लीको उक्साहटकारी हात देखे पनि र तिनमाथि विखण्डनको जतिसुकै आरोप लगाए पनि मधेसीहरू जहर पचाएर अखण्ड नेपालभित्रै न्याय खोज्न यत्नशील छन् । तर नश्लवाली राष्ट्रवादको उपेक्षा, लाञ्छना र अपहेलनाका कारण तिनको धैर्यका बाँध टुट्ने खतरा पल—प्रतिपल बढ्दो छ । राष्ट्रपति भण्डारीको उत्तेजक र अपमानकारी सवारी र त्यसपछिका लाञ्छनाहरूले मधेसलाई झन् तल धकेलेका छन् । र मधेस आन्दोलन आन्दोलनकारीहरूको रोजाइ र इच्छाविपरीत गोइत, ज्वाला सिंह र सीके राउत प्रवृत्तितर्फ ढल्किने खतरा पनि बढ्दो छ । जनकपुर प्रकरणको तिललाई उछालेर पहाड बनाउन लागिपरेका अखण्डित नेपालका गायकहरूका दृष्टिमा इतिहासको गर्भमा लुकिबसेको यो भयावह यथार्थ कसरी ओझेल परेको होला ? ईकान्तिपुरबाट

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *