
वीरगंज,४ पुस । जारी मधेस आन्दोलनलाई पुनः सशक्त एवम् परिणाममुखी बनाउने उदेश्यका साथ संघिय समावेसी मधेसी गठबन्धनसँग आवद्ध नेपाल सदभावना पार्टीले शनिवार पर्सा जिल्लाको ग्रामिण भेगमा जनजागरण कार्यक्रम गरेको छ ।
नेपाल सदभावना पार्टी पर्साका अध्यक्ष मनोज कर्णको नेतृत्वमा वीरगञ्जबाट निस्केको पार्टीको टोली अमरपट्टी, झौवा, प्रसौनी, हँसवा, मधुवनी हुदै बहुअर्वा भाठाको चौकमा त्यहाँका स्थानिय भरभलादमीसँग भेटघाट गर्दै आन्दोलनको सफलताकालागि सदरमुकाम र वीरगञ्ज नाकामा उपस्थिती एवं ग्रामिण भेगमा भइरहेको पेट्रोलियम पदार्थको ढुवानी कार्यलाई निरुत्साहित पार्न आग्रह गरेका छन् ।
गाउँहरु परिक्रममा पश्चात बहुअर्वा भठाको गद्रौल चौकमा हरिन्द्र सहनीको अध्यक्षतामा आयोजित जनजागरण सभामा सम्बोधन गर्दै नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य शिव पटेलले आन्दोलनमा सक्रिय सहभागिता जनाउन ग्रामिण जनतासँग आग्रह गरे । कार्यक्रममा नेपाल सदभावना पार्टीका उपाध्यक्षद्वव भागिरथ मुखिया बिन, सन्तोष साह, सचिव कृष्णा पटेल, सञ्जय साह, राजेश सर्राफ, हरेन्द्र ठाकुरलगायतको समेत उपस्थिति रहेको थियो ।



