Top_Header_Right_Add
Crona Awareness

मैथिली साहित्यको एक उपलब्धि ः ‘जीवनदान’

मैथिली साहित्यको एक उपलब्धि ः ‘जीवनदान’

–नन्दलाल आचार्य

एउटा छोटो कथा भनौं, त्यसले मेरो कुरो बुझिन्छ होला । एउटा, कस्तो भयो भने, एकदिन बिहान–सवेरै एउटी बूढी आइमाई आएर गाउँको कुवामा केही हाली र भनी, अब जसले यो कुवाको पानी खान्छ, त्यो पागल हुन्छ । गाउँमा दुईवटा मात्र कुवा थिए । एउटा गाउँको कुवा थियो र अर्काे राजाको महलको कुवा थियो । साँझसम्ममा, वाध्यता थियो, सारा गाउँ पागल भयो, पानी पिउनै प¥यो त्यो कुवाको । केवल राजा, रानी र मन्त्री तीनजना, जसले त्यो कुवाको पानी पिएका थिएनन्, जोगिए, उनीहरू पागल भएनन् । सारा गाउँ साँझ पर्दा नपर्दै पागल भइसकेको थियो ।
सारा गाउँमा एउटा उडन्ते खवर के फैलियो भने राजाको दिमाग खराव भइसकेको छ । यो स्वभाविक पनि थियो किनकि सारा गाउँ पागल हँुदा एउटा व्यक्ति जो पागल हुँदैन, पागलजस्तै लाग्छ । त्यसैले गणित प्रष्ट छ, ती सबै व्यक्तिहरू असाध्यै चिन्तित भए र झन्झटमा परे । तीमध्ये जो विचारशील थिए र पागलहरूमध्ये पनि धेरै विचारशील हुन्छन्, त्यसैले पागल र विचारशीलहरू बीचमा असाध्यै थोरै दूरी हुन्छ । विचारशीलहरू प्रायः पागल हुन्छन् र पागलहरू प्रायः विचार गर्न थाल्छन् ।nandalal lal acharya
ती पागलहरूमध्ये कोही विचारशील थिए, कोही नेता थिए । ती सबैले भेला भएर सोचे, अब के गर्ने ? राजालाई नफेरे सबै नै गडबड हुने भयो, किनकि राजा पागल हुने हो भने कसरी चल्ला ? ती सबै राजमहल, साँझ पर्दा–नपर्दै राजमहल बाहिर भेला हुन पुगे । र, उनीहरूले नारा लगाए । राजालाई नफेरी अब काम चल्न सक्दैन । राजा पागल भइसकेका छन्, मन्त्री पागल छन्, रानी पागल छिन् ।
राजा, उनका मन्त्री, उनकी रानी माथि महलमा उभिएर विचार गर्न थाले, अब के गर्ने ? उनका सिपाहीहरू पनि पागल भएका थिए, नोकरहरू पनि उनका पागल भइसकेका थिए, सबै पागल थिए, अब के हुन्छ ? राजाले मन्त्रीलाई सोधे, चाँडै केही सोच, के गर्ने ? उनले भने, केवल त्यो कुवाको पानी पिउनु सिवाय अर्को कुनै उपाय छैन । ती तीनैजनाले सबैलाई भने, तिमीहरू एकछिन पर्ख, हामी आफ्नो पागलपनको उपचार गर्नेछौंं । उनीहरू गए र त्यो कुवाको पानी पिए । त्यो रात गाउँमा ठूलो खुशी मनाइयो । मान्छेहरू नाँचे र उनीहरूले गीत गाए, राजाको दिमाग ठीक भएको छ ।
मनुष्य जाति कुनै असाध्यै गहिरो पागलपनबाट ग्रसित छ । कुनै असाध्यै ठूलो विक्षिप्तताले हामीलाई गाँजेको छ । हाम्रा नयाँ केटा–केटीहरूलाई हामी त्यसैमा दीक्षित पार्छौं । जुन केटा–केटीहरू नाइँ भन्छन्, उनीहरू पागलजस्ता देखिन्छन् । हामी उनीहरूलाई जवरजस्ती ठीक पारेर त्यही पागल हुने बाटोमा घिसार्छौं ।
त्यसैले यो संसारमा स्वस्थ हुनु वडो खतरनाक कुरो हो । र, जुन मान्छे स्वस्थ हुन्छ, उसले स्वस्थ हुनुको ठूलो मूल्य चुक्ता गर्नुपर्छ । कसैले गोली खानुपर्छ, कसैले विष पिउनुपर्छ वा कसैले सूलीमा झुण्डिनुपर्छ । पागलहरूको संसार हो, त्यसैले स्वस्थ मान्छेहरू यहाँ सह्य हुँदैनन् । यो पागलहरूको संसारमा जो जति ठूलो पागल हुन्छ त्यति नै प्रिय हुन्छ । किनकि ऊ आफ्नैजस्तो लाग्छ, ठीक त्यही बाटोमा हिंँडिरहे जस्तै लाग्छ, जुन बाटोमा हामीहरू हिँंडिरहेका हुन्छौंं ।
त, म तपाईंहरूंलाई के भन्न चाहन्छु भने मनुष्य जातिलाई समातेर बसेको जुन गहिरो पागलपनको स्थिति छ, त्यसबाट छुटकारा पाउने बाटो कुन हो ? र, यदि कुनै मार्ग नखोज्ने हो भने मृत्यु त्यसको फल हुनेछ । र, जेसुकै गर्नुस्, अन्ततः मृत्युले पक्रनेछ, भोलि पक्रन सक्छ, आज पक्रन सक्छ, अहिल्यै पक्रन सक्छ ।
त्यसैले, आजको रात, एक त तपाईंंहरूलाई के भन्न चाहन्छु भने, यो कुरोमा हामी थारै सोचौं, थोरै विचार गरौं, तपाईंं जे गर्दै हुनुहुन्छ, त्यसबाट मृत्यु नै निस्कने हो भने तपाईंंको गराइको सार्थकता के रहन्छ ! तपाईंं जे गर्दै हुनुहुन्छ, यदि त्यसबाट अमृततिर तपाईंंका पाइला सर्दैनन्, अमृततिर तपाईंका आँखा खुल्दैनन्, जहाँ मृत्यु छैन त्यस दिशामा तपाईंंको जीवनको गति हुँदैन भने, त्यसको के उपयोगिता होला ? त्यसको कति परसम्मको अर्थ र प्रयोजन होला ?
यो माथिको लघुकथा दार्शनिक ओशोको हो । उनकै भाका र लयमा प्रस्तुत गरिएको उक्त लघुकथाले हाम्रो मन मस्तिष्कमा एक झड्का दिन सफल छ । त्यस्तै झड्का दिन सफल हालसालै बजारमा देखा परेको ६२ थान लघुकथा समाविष्ट लघुकथा–सङ्ग्रह ‘जीवनदान’ पनि हो । यो अन्तर्राष्ट्रिय मैथिली परिषद्, नेपालद्वारा प्रकाशन भएको छ जसमा भारत, श्रीलङ्का, चीन र नेपालका विविध सर्जकका लघुकथालाई मैथिली भाषामा अनुवाद गरिएको छ । यस सङ्ग्रहकी सङ्कलक, सम्पादक र अनुवादक करुणा झा हुन् । यस अघि नै झाले ‘भगजोगनी’ र ‘शङ्खघोष’ गरी दुई कृति साहित्य मन्दिरमा अर्पण गरिसकेकी छिन् । झाको प्रस्तुत तेस्रो कृति हो । उनी मैथिली, हिन्दी र नेपाली भाषामा कलम चलाउँछिन् । राष्ट्रिय र अन्तराष्ट्रिय विविध भाषिक, साहित्यिक र सांस्कृतिक संस्थाहरूमा आबद्ध उनले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका दर्जनौं पुरस्कार र सम्मान पाएकी छिन् । उनी निरन्तर भाषिक, साहित्यिक र सांस्कृतिक क्षेत्रमा सक्रिय छिन् ।
उनै करुणा झाद्वारा लिखित ‘जीवनदान’, ‘विपत्ति’, ‘सद्भाव’, ‘अभिशाप’ र ‘भाइचारा’ गरी पाँच मौलिक लघुकथाहरू उक्त सङ्ग्रहमा परेका छन् । यी पाँच कथाहरूकोे परिक्रमामा आधारित रही यो आलेख तयार गरिएको हो ।

१. ‘जीवनदान’– विरामी सदानन्दले पण्डितसँग ग्रहदशा सुधारिदिन अनुरोध गरे । पण्डितले सात वटा जिउँदा माछालाई जीवनदान दिए सब कुरा ठीक हुने बताए । सदानन्द माछा पसलमा पुगी ७ वटा माछा किन्न खोजे । कि आधा दर्जन कि एक दर्जन किन्नैपर्ने पसलेको कुराले उनी एक दर्जन माछा किन्न वाध्य भए । घरमा पुगी ७ वटा माछा पानीले भरिएको पलाष्टिकमा बोकी नदीतिर लागे । बाँकी बचेका ५ वटा माछा भातसँग खानका निम्ति तयार पार्न श्रीमतीलाई अह्राए ।
यस किसिमको कथानक भएको ‘जीवनदान’ कथाले मानवीय संवेदना धरासायी हुँदै गएको देखाएको छ ।
२. ‘विपत्ति’– रामसुन्दर नाम गरेको एक पत्रकारले फर्जी नाम रोशन सिंहबाट एक लेख पत्रिकामा छपायो जसमा समाजका शोषक, सामन्तहरूको भण्डाफोर गरिएको थियो भने दलित, स्त्री तथा निरीह वर्गप्रति सहानुभूति राखी समर्थन गरिएको थियो । त्यस लेखले ठूलो हलचल ल्यायो । सामन्तहरूद्वारा सञ्चालित गुण्डा प्रवृतिका केही व्यक्तिहरूले निर्दोष सक्कली रोशन सिंहको खुब रामधुलाई गरे । आफूले लेखेको हैन भनेर स्पष्टीकरण दिँदा पनि उसले धर पाएन । अन्ततः रोशनले आफैँले लेखेको र जे लेखेँ त्यो सही हो भनी अडान लिन थाल्यो । प्रहरीको हस्तक्षेपले गुण्डाहरूबाट उसलाई बचाइयो । पछि रोशनलाई नै दलित मुक्ति सङ्घर्षको अध्यक्ष बनाइयो । आखिरमा सत्यको जीत भयो । अपहेलित दलितहरूले मुक्ति पाए । सबैले उसकै जयजयकार गरे । पछि उसैले एक लाख रुपैयाको पुरस्कार समेत पायो । यी सबै घटनाको जानकार र प्रार्दुभावकर्ता रामसुन्दर टाउको ठटाउन थाल्यो ।
यसरी जोखिम मोल्नेले सफलता पाउँछ भन्ने देखाइएको छ । बुद्धि भएर मात्र हुन्न, जोखिमको सामना गर्ने सामथ्र्य नरहे बुद्धिको उपयोगले हातमा शून्य मात्र पर्छ भन्ने कुरा उक्त लघुकथाले रोचकताका साथ देखाएको छ ।
३. ‘सद्भाव’– घरमा पत्नीसँग बाझाबाझ गरे पनि सार्वजनिक कार्यक्रममा भने महिलाप्रति सद्भाव प्रकट गर्ने एक ढोंगी नेताको भित्री कर्तुतको खुलासा गरिएको कथा हो – सद्भाव ।
एक नेता दम्पतीहरूलाई अतिथि बनाएर दलित महिलाहरूले उनीहरूकै स्वागत कार्यक्रमको आयोजना गरेका थिए । गाउँभरिका दलित महिलाहरू उपस्थित थिए । महङ्गा पहिरनमा सुसज्जित नेता दम्पतीको भव्य स्वागत भयो । नेताले दलित महिला हक–अधिकार र शिक्षा–दीक्षाका बारेमा सारगर्वित भाषण ठोके । मनग्यै ताली भेटे । नेता पत्नीले पनि साडी वितरण कार्यक्रम सम्पन्न गरिन् । सबैले नेता दम्पतीको मुक्तकण्ठले प्रशंसा गरे । यस अघि नै पत्नीलाई नेताले सम्झाउने भाका हो भन्दै खबरदारी गरेका थिए– ‘महङ्ग साडी अछि खराब नई करब आ बेसी बाजै के जरुरी नही अछि ।’
निवास फर्कंदै गर्दा गाडी चढ्न लाग्दा साडीमा हिलो लाग्यो । महङ्गो साडी खराब गरी घाटा लगाएकोमा नेता रिसले चुर भए । त्यहीँ पत्नीको झाँको झारे । यसरी साडीमा फोहोर लागेकैमा अपमानजनक शब्द प्रहार गरी आफ्नै पत्नीको हुर्मत लिएको एक दलित महिलाले सुनिहालिन् । यस प्रकार कथामा नारी सद्भाव र सम्मान सबै भाषणमा मात्र सीमित भएको र व्यवहारमा उतार्न नसकिएको वर्तमानको आवाज बुलन्द गरिएको छ ।
४. ‘अभिशाप’– सौन्दर्यतामा लोभिएर संसारमा अनेकन् कुकृत्य हुने गरेका घटनाक्रमलाई प्रतिनिधित्व गर्ने लघुकथा हो –‘अभिशाप’ । यसले सौन्दर्यता नै अभिसाप भएकोले यसमा अहमता प्रदर्शन मानवीय कमजोरी भएको पुष्टि गरिएको छ ।
सबै मानिस फूलको सौन्दर्यता र बासनामा लोभिएर उसकै भक्त भएको तर आफूमा त्यस्तो विशेषता नरहेकोले वेवास्थामा परेको परिप्रेक्ष्य कोट्याउँदै पातले फूलसँग गुनासो पोख्यो– ‘सबकियो फूलकऽ सुन्दरता दिस मात्र आकर्षित होएत अछि । हमरा दिस किओ ध्यान नहि दैत अछि ।’
फूलले पनि आफू सौन्र्यताकै कारण वेश्या सरहको जीवन धान्दै आएको कुरा स्मरण गर्दै पातलाई सम्झाउन थाल्यो– ‘अपन सौन्दर्यताके कारण बाग आ दोकानमें सजिकऽ हम बेश्या जंका भेल छी ।’
वास्तवमा पात आफ्ना सहकर्मीहरूसँग जीवनभर रमाउँद ैपूरा जीवन व्यतित गर्छ । तर, फूलले भने सौन्दर्यता र वासनाका कारण अल्पायुमै चुँडिएर देवताका गोडामा बस्नुपर्छ । असल–दुष्ट जो भए पनि नेतानेतृ वा त्यस्तै महान् कहलिएका व्यक्तिका गलामा सुहाउनुपर्छ । अझ बगैंचा र पसलहरूमा सजिएर ग्राहकको मन तान्न सक्नुपर्छ । पैसामा बिकेर ग्राहकको हृदय सन्तुष्ट पार्ने बेश्याझैं हुनुपर्छ । यस अर्थले फूलको सौन्दर्यता नै स्वयम्का लागि घातक सिद्ध हुन्छ ।
सौन्दर्यताको पछि लाग्ने भूल सुधार्न चेत दिएर कर्मको पूजामा रमाउन उक्साएको उक्त कथाले हाम्रो जीवनको अति सू्क्ष्म सोचलाई छर्लङ्ग पारेको छ । समाजको मनोविज्ञानको एक पक्षलाई समेटेको ‘अभिशाप’ कथा उत्कृष्ट सन्देश प्रवाह गर्न सक्षम छ ।
५. ‘भाइचारा’– भुवनबाबुको घर अगाडि ढुङ्गा, लाठी र इँटा सहित उपस्थित मुस्लिम जत्थाको रौद्र रूपले भुवनबाबुको होस गुम हुन्छ । उसको मुसलमानी नोकर युसुफले मालिकलाई आफ्नो घरको चाबी दिई त्यहाँबाट भगाउँछ र ऊ सुरक्षित स्थानमा पुगेपछि आफू पनि सजातीय मुसलमानी जत्थामा मिल्न पुग्छ ।
यसरी मुसलमानी विद्रोहमा एक मुसलमान नोकरले आफ्नो शत्रुपक्षको ज्यान बचाई सद्भाव र भाइचाराको भूमिका निर्वाह गरेको कुरा ‘भाइचारा’ लघुकथामा देखाइएको छ ।
सामाजिक सद्भाव भड्काउने धेरै भए पनि केहीले त्यसको रक्षामा भूमिका खेलेर अनिष्ट घटना घट्नबाट जोगाई भाइचाराको सम्बन्ध दीगो राख्न आवश्यक छ भन्ने सन्देश सम्प्रेषण भएको प्रस्तुत ‘भाइचारा’ कथा रोचक र घोचक छ ।
समग्रमा हेर्दा, ‘जीवनदान’ मैथिली लघुकथा सङ्ग्रहमा परेका कथाकार करुणा झाका पाँच मौलिक कथाहरूले पाँचै थरीको सन्देश प्रवाह गरेका छन् । ती कथाहरूका आधारमा उनी मूलतः मानवतावादी विचारधाराले ओतप्रोत छिन् । जोखिम मोलेरै भए पनि असल कर्म गरे सफलता मिल्छ भन्ने अडानमा छिन् । नेतानेतृको भाषण प्रिय हुने तर व्यवहार कटु हुने देखाएकी छिन् । मानिसले सौन्दर्यताको पछि नलागिकन कर्मको पूजामा लाग्नुपर्ने वताएकी छिन् । जस्तोसुकै सङ्कटावस्थामा पनि आपसी सद्भाव र भाइचारा कायम गरेर मानवीय धर्म पालना गर्न आह्वान गरेकी छिन् ।
६२ वटा लघुकथाको छनौटमा कुसलता देखिन्छ । अनुवादमा समेत सहज र सरलपन छ । कतिपय स्थानमा वर्णविन्यासगत अशुद्धि छन् भने कम्प्युटर टाइपमै कमजोरी पनि देखिन्छ । अर्कातिर एकै शब्दको लेखाइ एक ठाउँमा एक थरीको छ भने अर्को ठाउँमा अर्कै थरीको छ । त्यस्ता शब्दहरूको उच्चारणगत हिसावले समानता पाइए पनि लेखाइमा भने द्विविधा आउने देखिन्छ । अझ मैथिली विमातृभाषीलाई यस्ता कुरा बिझाउनु स्वभाविक हुन्छ । तसर्थ आगामी संस्करणमा यस्ता कमजोरी हटाउने कुरामा लघुकथाकारको ध्यान जानु वाञ्छनीय छ । जे भए पनि सङ्ग्रहमा परेका अन्य विविध विद्वान्हरूका लघुकथाका दाँजोमा कम आँक्न नमिल्ने सारगर्वित पाँच कथा समावेस गरेर झाले अन्य विद्वान् बीच आफ्नो परिचय समान हैसियतमा उभ्याउन सकेकी छिन् भन्दा अतिशयोक्ति नहोला ।

कृति–‘जीवनदान’

विधा–लघुकथा

प्रकाशक–अन्तर्राष्ट्रिय मैथिली परिषद्, नेपाल

सहयोग राशी– रू. ५०।– पृष्ठ–४८+१२

nandalalacharya@gmail.com

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।