मधेसमा होइन, राज्यसत्तामै समस्या छः सिंचाइमन्त्री यादव

मधेसमा होइन, राज्यसत्तामै समस्या छः सिंचाइमन्त्री यादव
Nava Jyoti Saving & Credit Co-Operative Ltd.

मन्त्री यादव भन्छन्– सिंगो मधेसलाई र मधेसीलाई भारतीय भनेर गालीगलौज गरेर आत्मरति लिने उग्र पहाडिया राष्ट्रवाद नै अहिलेको मुख्य समस्या हो

काठमाडाैं । गएको माघ ५ गते मध्यरात तत्कालिन संविधानसभा रणमैदानमा परिणत भएको थियो । त्यतिबेला कुर्चि उचालेर फाल्ने अग्रपंक्तिमा देखिएका थिए, सिंचाइमन्त्री उमेश यादव । मधेस आन्दोलन चलिरहेको बेला सिंचाइमन्त्री बनेका यादवको दृष्टिकोणमा मधेस आन्दोलन के हो ? उनी भन्छन्,– ‘समस्या मधेसलाई होइन, राज्य सत्ताको मुख्य अंगमा छ ।’ एउटा सिंगो मधेसलाई, सिंगो मधेसीलाई भारतीय भनेर गालीगलौज गर्ने,  आत्मरति लिने उग्र पहाडिया राष्ट्रवाद नै अहिलेको मुख्य समस्या भएको उनी बताउँछन् ।  सरकारकै मन्त्री रहेका उनी दमन गरेरै मधेस आन्दोलन सिध्याइन्छ भनेर सोच्नु गलत हुने बताउँछन् ।  मधेसी जनतालाई मारेर समस्याको समाधान खोज्नेहरु देशभक्त हुन नसक्नेसमेत उनी बताउँछन् । तिनै सिंचाइमन्त्री उमेश यादवसँग गरिएको कुराकानी ।

अहिले मुलुक संकटको अवस्थामा छ । तपाई त्यो बेलामा मधेशबाटै मन्त्रीको रुपमा हुनुहुन्छ । अहिलेको समग्र प्रक्रियामा कहाँनेर गतिरोध भइरहेको देख्नु हुन्छ ?

म एनेकपा माओबादीको तर्फबाट सिंचाईँ मन्त्रीको रुपमा सरकारमा प्रतिनिधित्व गदैछु । मैले मधेसको कुरा गर्दा अहिलेको राष्ट्रिय परिस्थिति र परिबेशलाई बुझ्न सक्नुपर्ने हुन्छ । एकात्मक राज्यसत्ताको विरुद्धमा हामी जनयुद्ध लड्यौं । जनयुद्धको माध्यामबाट अहिलेको प्रक्रियासम्म आउँदा एकात्मक राज्य सत्ता र चिन्तनलाई भत्काउने काम भयो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कामहरु गरियो । महिलाका अधिकारहरुलाई स्थापित गर्ने काम गर्यौं । यति गर्दा गर्दै पनि हामीले पूर्ण समानुपातिक बनाउन सकेनौं । बहुसदस्य निर्वाचन प्रणाली बनाउन सकेनौं । प्रत्यक्ष राष्ट्रपतिको चुनावको कुरा हामीले गर्न सकेनौं । संसदीय ब्यवस्थालाई कुनै न कुनै रुपमा स्वीकार गर्नुपर्ने स्थिति आयो । हुनत यो संसदीय ब्यवस्था पनि यहाँ च्यातिएको छ । किनभने संसदीय ब्यवस्थामा दुई वर्ष अविश्वासको प्रस्ताव ल्याउन नपाइने भन्ने कुरा हुँदैन । त्यो हिसावले हुबहु संसदीय ब्यवस्था स्वीकारिएको पनि भएन । यसरी हेर्दा हामीले केही हारेको केही जितेको तथा संसदबादीहरुले पनि केही हारेको केही जितेको अवस्था छ । तर राजतन्त्रले भने पूर्ण रुपमा हारेको कोणबाट हामी अगाडि बढिरहेका छौं ।

पहिलो संविधानसभाले स्वीकार गरेका कतिपय मूल्य मान्यताहरु अग्रगामी एजेण्डाहरुलाई कांग्रेस, एमाले गठबन्धनले मान्न तयार भएनन् । आज हामीले भोगेको समस्या कांग्रेस एमालेमा रहेको उच्च वर्गमा रहेको शासकीय अहंकार एउटा कारण छ । अर्को त्याहाँ रहेको संभ्रान्त वर्गहरु, ती कुलिन वर्गहरु कुनै न कुनै रुपमा ब्यवस्था परिवर्तन भएपनि आफ्नो वर्चश्व कायम गर्ने गरी कुरा गर्ने रहेछन् । अहिलेको देशको समस्या समाधान नहुनुमा पराजित सामन्ती सत्ता र तिनका नाइकेहरु र त्यसलाई विगतमा सघाउने कुलिन वर्गहरु र नोकरशाह वर्ग तथा एउटा पराजित राज्यसताका नाइकेहरु र त्यसलाई सघाउने संभ्रान्त कुलिन वर्गहरु र अर्को नोकरशाह दलाल वर्गको प्रतिनिधित्व गर्ने पार्टी कांग्रेस र एमालेमा रहेको उच्च वर्ण र वर्गको शासकीय अंहकारवादको चिन्तन प्रवृति हावी हुनु नै मुख्य समस्या हो ।

उसाे भए, त्यो प्रवृत्ति त अहिलेका प्रधानमन्त्रीमै छ होला, होइन त ?  

मैले पात्रको नाम यहाँ किटान गर्न चाहिन । मुख्य कुरा मैले नेपाली कांग्रेस र एमाले भनें । त्यसमा कोही अलि नरम होला, कोही अलि गरम होला । मुल प्रविति ती पार्टीहरुको वर्ग चरित्र, संगठनात्मक चरित्र, वैचारिक आधारहरु त्यतैतिर छन् । पात्र, ब्यक्ति गौण कुराहरु भए ।
सरकारले भारतको नाकाबन्दी भन्न पनि नसक्ने र समस्या सुल्झाउन पनि नसक्ने अनि मधेसको आन्दोलनलाई पनि सम्बोधन गर्न नसक्ने यसको हलो शासकीय प्रवृतिकै चिन्तनमा हो ?

कतिपय कुटनीतिक मामिलामा प्रयोग हुने शब्दहरुले गर्दा कतिपय कुरा सिधै भन्न नसकिएको एउटा कुरा हो । यसलाई कुन रुपमा हेर्छु मैले भने, एउटा उग्र राष्ट्रवादीको रुपमा प्रस्तुत हुने, अन्ततः राष्ट्रलाई नै कमजोर पार्ने । तत्कालिन राजा महेन्द्रले राष्ट्रवादको चर्को कुरा गरेको होइन ?

राजा महेन्द्रले चर्को राष्ट्रवादको कुरा गरे तर त्यसले राष्ट्रलाई धेरै मजबुत पार्यो कि कमजोर पार्यो ? महेन्द्रीय राष्ट्रवादलाई प्रशंसा गर्नेहरु आज पनि छन् । त्यसकै गुणगान गाएर, त्यसकै सेरोफेरोमा चर्का चर्का कुरा गरेर मर्न पाए हुन्थ्यो भन्ने चाँही धेरै उग्र राष्ट्रवादी देखिने तत्वहरु छन् । ती एउटा पार्टीमा मात्र नभएर धेरै पार्टी र पार्टी बाहिरका पनि छन् । तिनै महेन्द्रीय राष्ट्रवादीहरुले मधेसीहरुलाई मुलुकको दोस्रो दर्जाको नागरिक बनाएको हो ।

मधेसीलाई मधेसी अल्पमतमा पार्ने योजना र षड्यन्त्रअनुसार कार्यान्वनयन गरेको,  थारुहरुलाई कमैया, हली, गोठाला, बादी बनाएको र दलितहरुलाई मनुस्मृतिकै सेरोफेरोमा राखेर कानूनमा जे जस्तो लेखेपनि त्यस्तै ब्यवहार गरेको, पहाडका आदिवासी जनजातिहरुलाई पनि त्यसैगरी सिद्धाएको र एउटा निश्चित जाती र समुदाय भित्र पनि निश्चित वर्गलाई मात्रै माथि उठाएको अवस्था हो । शासक जातीका रुपमा त ब्राम्हण र क्षेत्री त निचिन्छ, तर ब्राम्हण र क्षेत्रीभित्र पनि उच्च संभ्रान्त वर्गलाई कुलिन वर्गमार्फत नै सिंगो देशलाई कंगाल बनाएको इतिहास त छ नि । अहिले पनि ती प्रवृत्ति र चिन्तनहरु हावी भइरहेको स्थिति छ ।

मधेस आन्दोलनका समस्या ?

लामो समयसम्म नै आन्दोलन गइरह्यो भने उहाँहरुको कमाण्डबाट चिज बाहिर जाने स्थिति छ । अहिले पनि उहाँहरुको पूर्ण कमाण्ड छ भनेर म भन्दिनँ । उहाँहरुको कमाण्डमा भएको भए उहाँहरुले गरेको निर्णयविपरीतका गतिविधिहरु हुने थिएनन् । उहाँहरु आफैले पनि कतिपय ठाउँमा घुसपैठ भएको कुरा स्वीकार्नु भएको छ । त्यो अर्थमा यो संवेदनशील विषय हो । मधेसलाई बुझ्ने सन्दर्भमा यहाँ अर्को रोग पनि देखा परेको छ । एउटा सिंगो मधेसलाई, सिंगो मधेसीलाई भारतीय भनेर गालीगलौज गर्ने,  आत्मरति लिने उग्र पहाडिया राष्ट्रवाद,  जो देशलाई नै कमजोर पार्ने कामतिर उद्धत छन् । रुप पक्षमा उग्र राष्ट्रवादको कुरा गर्ने र देखिने अन्ततः देशलाई नै कमजोर पार्ने एउटा चिन्तन प्रवृति हावी छ ।

दोस्रो तर्फ सिङ्गो पहाडियालाई गाली गरेपछि मात्रै मधेसवादी भइने चिन्तन र प्रवृति छ । मलाई लाग्छ दुईवटै अतिवादी प्रवृति अर्थात सम्पूर्ण पहाडियालाई दुश्मन देख्ने अतिवादी मधेसीवादी प्रवृति र दृष्टिकोण, सिङ्गो मधेसीलाई भारतीय देख्ने, दोस्रो दर्जाको नागरिक देख्ने र यसलाई कुल्चेरै जानुपर्छ, मधेसीलाई अधिकार दिदाँ देश कमजोर हुन्छ, देश टुक्रिन्छ भन्ने सोच्ने अतिवादी पहाडिया दृष्टिकोण यी दुइवटै दृष्टिकोण देशको लागि घातक छ । एउटा मधेसी जनतालाई अधिकार दिँदा, मधेसी जनतालाई काठमाडौंसँग आत्मिय ढंगले जोड्ने कुरा गर्दा  त्यसलाई भारतीय एजेण्डको रुपमा परिभाषित गर्ने  देश कमजोर हुने र टुक्रिने कुरा गर्ने अतिवादी पहाडिया चिन्तन प्रवृति अर्को सम्पूर्ण पहाडियालाई यो मधेसीको दुश्मन हो भन्ने देख्ने मधेसवादी चिन्तन प्रवृति र दृष्टिकोण सबै भन्दा अगाडि देखिएको समस्या हो । यो दुइवटै प्रवृति राष्ट्रवादी प्रवृति होइन । यी दुइवटै चिन्तन प्रवृति बोक्नेहरु राष्ट्रवादी हुन सक्दैनन् ।

मधेस र राज्यवीच अड्किएको हलो फुकाउने विधिहरु यी हुन् भनेर भन्न सकिन्न ?

सबभन्दा पहिला मधेसलाई हेर्ने राज्यको दृष्टिकोण स्पष्ट भएर आउनुपर्छ । यहाँका पार्टीका नेताहरुको दृष्टिकोण काठमाडौँका पहाडिया नागरिक समाज पत्रकार व्यवसायी यताका सचेत वर्ग सर्वहारा हुन् या सम्भ्रान्त हुन् तिनीहरुको दृष्टिकोण मधेस प्रति स्पष्ट भएर आउनुपर्छ । दोस्रो कुरा त्यो दृष्टिकोणमा जोडिएर आउने अरु कुराहरु हुन्छन् । किनकी दृष्टिकोण मै खोट भयो भने अरु समस्या समधान गर्न सकिदैन । त्यस अर्थमा दृष्टिकोण स्पष्ट भएर आउनुपर्छ । मधेसी जनताले सिमा क्षेत्रमा बसेर गरेको सिमा सुरक्षाको लडाई पहाडमा बस्ने पहाडियाले गरेको छैन । अहिले हामी त्यहाँ सशस्त्र वेस क्याम्पहरु हेर्छौ । प्रहरीहरु हेर्छौ । म तपाईलाई एउटा उदाहरण दिउँ विक्रम सम्बत १८७५ वैशाख १० गते सप्तरीको लालापट्टी भन्ने ठाउँमा भिमसेन थापाको नाममा लेखेको एउटा चिठ्ठी हेर्नु होला साँढे आठ इन्चि जग्गाको लागि त्यहाँको जनताले अंग्रेज साम्राज्यवादसँग लडेको संघर्षको लिखित इतिहास छ । त्यो कुनै मधेसीले मधेसीकोलागि लेखेको छैन । त्यो पहाडियाले पहाडियाको निम्ति लेखेको पत्र आज पनि पुरातत्व विभागतिर सुरक्षित छ ।  यस्ता दर्जनौं कडिहरु छन् ।

सेना परिचालन गर्नु सशस्त्र विधिबाट समस्याको समाधान खोज्नु जस्तो मुर्खता अरु केही होइन । यो मुर्खताको कदम निम्त्याउनेहरु महामुर्ख हुन् । मधेसी जनतालाई मारेर समस्याको समधानको समाधान खोज्नेहरु देशभक्त हुन सक्दैनन् ।

अर्को यो देशको पृथ्वी नारायण शाहकै भौगोलिक नै एकीकरण किन नहोस् त्यो एकीकरणमा पनि मधेसी जनताको अग्रिम भूमिका छ । मधेस नै नटेकी कन के पृथ्वी नारायण शाह पुर्वतिर गयो ? के मधेसी जनताले साथ नदिएको भए पृथ्वीनरायण शाहको राज्य एकिकरण अभियान पुरा हुन्थ्यो ? यहि हुन्थ्यो भने तीन महिना देखी सुरक्षाकर्मीबाहेक राज्यको उपस्थिति शुन्य छ । विद्यालयहरु बन्द छ , सरकारी कार्यालयहरु बन्द छन् ,संघसस्थाका गतिविधि हरु सुन्य छन् अर्थात सुरक्षाकर्मी बाहेक राज्यको उपस्थिति त शुन्य छ । त्यतिवेला पनि मधेसी जनता र थारुहरुले साथ दिएकै थिए । पृथ्वीनारायण शाहका सेनाका लागि खाद्यान्नदेखि आर्थिक सहयोगसम्म मधेसी जनताले सहयोग गरेको इतिहास छ । तर ति इतिहास लेखिएको छैन यो मधेसी जनतामाथिको विभेद हो । पृथ्वीनारायण शाह पछि नेपालमा जतीपनि शासकहरु आए नेपालमा शासन टिकाउनेहरु पनि र शासन सत्ता भत्काउनेहरु पनि यदि राम्रोसँग हेर्ने हो भने सवैभन्दा बढी मधेसी जनताले साथ दिएको छ ।

सैन्य दृष्टिकोणबाट पनि मधेसले गरेको योगदान हेर्दा जहाँ मधेसीहरु थिएनन, त्यहाँ पृथ्वीनारायण शाहले चाँडो जिते, जहाँ मधेसीहरु धेरै थिए त्यस ठाँउमा पृथ्विनरायण शाहलाई जित्न निकै गाह्रो परेको थियो ।
हाम्रा बाजेहरु बुवाहरु भन्नुहुन्थ्यो डा राममनोहर लोहिया, जयप्रकाश नारायणहरु, धनीकलाल मण्डलहरु, विनायक यादवहरु हाम्रो गाँउमा बसेको, हाम्रो घरमा बसेको खाएको, हाम्रा पुर्खाहरुले संरक्षण दिएको कुरा म गर्वका साथ भन्दछु । साढे आग इन्चि जग्गाको लागि अंग्रेजसँग गरेको संघर्ष, अग्रेजहरुको विरुद्धमा गरेको संघर्ष , नेपाल देशलाई एकिकरण गर्नमा मधेसले गरेको भुमिका, राणा शासन विरुद्धमा नेपालको आन्तरिक स्वतन्त्रताका लागि गरेको योगदान र भुमिकाको यस्तो गौरवशाली इतिहास बोकेको मधेसी जनतामाथि अविश्वास गर्ने, मधेसलाई अधिकार दिँदा देश टुक्रन्छ भन्नेहरु राष्ट्रघाती हुन् ।

मधेसलाई अधिकार दिन कन्जुस्याइ किन ? कानुनमा मात्रै लेखेर हुन्छ ? अहिले मन्त्रालयको सचिवहरु हेर्नुस त कतिजना मधेसी छन ? राजदुतहरु हेर्नुस कतिजना मधेसी छन ? न्ययालयमा कति जना मधेसी छन ? सेनामा मधेसीहरुको पोजिसन के छ ? सशस्त्र र राष्ट्रिय अनुसन्धान निकायमा हेरौ मधेसीहरुको अवस्था कस्तो छ ? मधेसीहरु जेटिए हुन सक्ने, इन्जिनियर हुन सक्ने, प्रोफेसर हुन सक्ने, मास्टर हुन सक्ने तर प्रशासक हुन नसक्ने ? सिडियो कति जना मधेसी छन् ? एसपी र डीएसपी कति जना मधेसी छन ? यो विभेद होइन ?
सवै भन्दा पहिला दृष्टिकोणमा क्लियर नभैकन यी सवै कुरालाई बुझ्न सकिदैन । भाषणमा र कुरामा उग्रराष्ट्रवादको कुरा गर्ने तर राष्ट्रलाइ नै कमजोर पार्ने महेन्द्र पथियहरुलाई यो पृष्ठभुमिको अध्ययन गर्न र गहिराइमा जान म हार्दिक आग्रह र अपिल गर्न चाहन्छु ।
यहाँ कम्युनिष्टहरु अलि मजबुत हुँदा त्यसलाई देखिनसक्ने देश भित्र र देश बाहिरका शक्तिहरु जसले यहाँका देश भक्तहरु, बामपंथीहरु र अग्रगामीहरुले सबथोक लग्यो भनेर भनिरहेका छन्। यहाँ जसरी देशभक्तहरु र बामपंथीहरु एकढिक्का भएर अगाडी बढिरहेका छन् त्यो सँग तर्सिएकाहरु वा यसलाई आफ्नो समस्याको रुपमा देख्ने अतिवादीहरु ति राष्ट्रियताका नाममा देखिएका अतिवादीहरु हुन । ति सम्भ्रान्त वर्गहरु हुन् ।

नेपाललाई हिन्दुराष्ट्र बनाइदिने हो भने अहिलेको नाकाबन्दी अन्त्य हुन्छ भन्ने कुरामा भारतीयहरुको चासो देखिएको छ भनिन्छ,  तपाईँलाई त्यस्तो लाग्दैन ?

कस्का के इन्ट्रेस्ट छन्, त्यो आफ्नो ठाँउमा होला तर हामीले हाम्रो देशको राष्ट्रिय समस्यालाई हल गर्नका लागि हामीले हाम्रै जनतामाथि विश्वास गर्नु र उनीहरुलाई अधिकार दिनु नै अहिलेको समस्याको समाधान हो । त्यसरी हामीले हाम्रा देशका जनतालाई अधिकार दिद कसैले वाधा र अड्चनहरु राख्छन् भने सिंगो देश एक ढिक्का भएर प्रतिकारमा उत्रन्छ । त्यसपछि लाग्छ ती प्रवृतिहरु सवैतिर नांगिन्छन् । तर त्यो प्रवृतिलाई नंग्याउने कि आफै नांगिने हामी त्यो ठाँउमा पनि त छौ ।

भारतीय नाकाबन्दीलाई तपाइले कुन रुपमा हेर्दै हुनुहुन्छ ?

यसलाई म दुई वटा कोणवाट हेर्दछु । एउटा कोण भारतीय प्रधानमन्त्री मोदी आउनुभयो । वहाँले मधेसको एक शव्द पनि उच्चारण गर्नु भएन । उत्पीडित जाती समुदायको बारेमा एक शव्द पनि उच्चारण गर्नु भएन । त्यतिवेला सडकदेखि सदनसम्म, चोकको चिया पसलदेखि पत्रिकासम्म हाइहाइ गरे । तर तिनै मोदीले मधेसीको अधिकार लगायत अन्यहरुको पनि अधिकारको कुरा गर्दा हस्तक्षेपको रुपमा देखे । यहाँ दुइ वटा कुरा हुँदैछन् एउटा के भने भारतले उत्पिडित जनताको पक्षमा पनी केही बोलेको छ भन्ने कुरा गर्ने हरु पनि छन् , अर्को हामीमाथी हस्तक्षेप गर्यो भन्ने हरु पनि छन् । म व्यक्तिगत रुपमा कसरी बुझ्छु भने नेपालमा भएरहेका तमाम राजनैतिक घटनक्रमहरु जाति पनि छन ति सवै हाम्रा आन्तरिक घटनक्रमहरु हुन । स्वभाविक रुपमा नेपालमा हुने राजनैतिक आन्दोलनहरु मा हामीले भारतीय जनता र भारतीय भुमिलाई अलि बढी प्रयोग गरेका छौ, सापेक्षिक रुपमा अन्य देशहरु भन्दा खुला सिमाना भएको कारणले पनि ।

भारतसँग साँस्कृतिक सम्वन्धहरु , भाषिक सम्बन्धहरु र खुला सिमानाहरु पनि विशिष्ट प्रकारको छ । मधेसी जनताको पक्षमा बोलिदिएको भनेर होइन । मधेसका गरीवहरु सुकुम्बासीहरु जतिबेला राजा महेन्द्रले पहाडबाट लगेर त्यहाँ बसाए, जंगलहरु सिध्याए नदी नालाहरुको असमान सन्धी सम्झौताहरु गरी हुलाकी राजमार्गहरुको विकल्पहरु खोले पहिल्याए । त्यतिबेला हाम्रा पक्षमा बोलिदिने कोही भएनन् । मधेसीहरु बोल्यौं मधेसलाई माया गर्ने पहाडियाहरु बोले, तर शासकहरु बोलेनन् । तिनीहरुले मधेसी जनतालाई माया गर्ने होइन गरेका छैन हिजो पनि गरेन आज पनि गरेको छैन । म अपिल के गर्न चाहान्छु भने देशका नेताहरु, नागरिक समाजहरुलाई उपेन्द्र यादव, महन्थ ठाकुरसँग वार्ता गरेर समस्याको समाधान गर्नु भएन भने तपाई कोसँग वार्ता गर्नु हुन्छ, टर्च बालेर खोज्नु पर्ने अवस्था आउँन सक्छ । गम्भीर हुनुस् । एकदिन वार्ता गर्ने मान्छे नभेटाउन सक्नुहुन्छ । किनकी त्यहाँ धेरै गुट र उपगुटमा नेताहरु विभाजित छन् । दमन गरेरै सिध्याइन्छ भनेर सोच्नु भएको छ भने त्यो गलत हो ।

मधेसको आन्दोलन रोक्न राजमार्गमा सेना परिचालन गरियो, दंगाग्रस्त क्षेत्र घोषणा गरियो, यसले पनि थप आन्दोलन भड्किएको हो कि ?
मधेसलाई समस्या नदेखौं । समस्या राज्य सत्ताको मुख्य अंगमा छ । समग्र मधेसलाई हेर्ने दृष्टिकोणको सन्दर्भमा उच्च वर्ग र उच्च वर्णमा रहेको समस्या नै मुल समस्या हो । मूल समस्या तपाई मधेसी, थारु, महिला जनजातिमा नखोज्नुस् । त्यसले जुन सुकै शासन व्यवस्था आएपनि आफ्नो वर्गको वचस्र्वलाई कायम राख्न षडयन्त्रहरु गर्दैछन् । त्यो अन्त देश भक्त पनि होइन । देशलाई अप्ठेरो पर्दा बिदेश भाग्नेहरुको समस्या मुख्य समस्या हो । हाम्रो देशमा विभिन्न आन्दोलनहरु भए । आन्दोलनका क्रममा ग्रामिण बस्तीका कतिपय मानिसहरु विस्थापित पनि भए । कारण जे जे होस् तपाई कारण खाज्नुस् गाउँबाट विस्थापित हुनेहरु मधेसकै बजारहरुमा सदरमुकामहरुमा आएर सुरक्षित भए । जब त्यहाँका सदरमुकामहरुमा उनले आफूलाई असुरक्षित ठान्यो । तव मानिसहरु राजविराज गए, जनकपुर गए, काठमाडौं गएर जग्गा किनेर बसे, तर दरभंगामा गएनन् । निर्मलीमा गएनन् । पटनामा जग्गा जोडेनन् । दिल्लीमा गएनन् । तर सरकारी सेवा र डीभी, पीआर कुन रोज्ने भन्दा डीभी र पीआर रोज्नेहरु कहाँ भेटिए ? कस्कामा बढि भेटिए ? कुन जात र समुदायका मान्छे पश्चिमा देशका नागरिक भएका छन् । देश भक्ति कुन समुदायमा देखियो ?

सेना परिचालन गर्नु सशस्त्र विधिबाट समस्याको समाधान खोज्नु जस्तो मुर्खता अरु केही होइन । यो मुर्खताको कदम निम्त्याउनेहरु महामुर्ख हुन् । मधेसी जनतालाई मारेर समस्याको समधानको समाधान खोज्नेहरु देशभक्त हुन सक्दैनन् ।
सेनाको बुटमुनीबाट जनअधिकारलाई कुल्चिन पाईदैन । सेना हिजो पनि परिचालन भएको थियो । के जनयुद्धलाई रोक्न सक्यो ? राणाहरुपनि परिचालन गरेका थिए । राजाले पनि गरेका थिए । जनतालाई अधिकार दिनुस् त्यसपछि यदी कसैले विग्रह र विखण्डनका कुरा गर्छन् भने पछि त्यसको लागि हो सेना परिचालन । हाम्रा सुरक्षाकर्मी त्यसका विरुद्ध परिलक्षित हुनै पर्छ जसले राष्ट्रिय अखण्डताको विरुद्ध बोल्छ ।  सेना सरकार भने जनताको अधिकारको रक्षा गर्नका लागि हो । जनताको अधिकार अपहरण गर्नकालागि होइन । सेना परिचालन के को लागि गर्ने ? अधिकार खोज्नका लागि की अधिकारको रक्षा गर्नका लागि ? यो अन्तरविरोधलाई हल गर्नु पर्ने वेलामा हामीले बन्दुकको भाषा बोल्नु हुँदैन । खबर डबली डटकमबाट

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *