
राजविराज, ६ मंसिर । सप्तरीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गराउने क्रममा शनिवार राती प्रहरीले चलाएको गोली लागेर दुई जनाको घटनास्थलमा मृत्यू भएको छ भने करिब दर्जनौं आन्दोलनकारी घाइते भएका छन् ।
जिल्लाको भारदहमा प्रहरीले चलाएको गोलीबाट बथनाहाका १८वर्षिय वीरेन्द्र रामको घटनास्थलमै मृत्यू भएको छ । सोही क्रममा करिब दुई दर्जनभन्दा बढी आन्दोलनकारी घाइते भएका छन् । प्रहरीको गोलीबाट गम्भीर घाइते भएका पोर्ताहा–५ का राजेश कुमार यादव, डिमनका छुतहरु साहसहित ८ जनालाई उपचारकालागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । 
यस्तै रुपनीमा समेत प्रहरीले गोली चलाउँदा जमुनी मधेपुरा–९ का २७ वर्षिय नागेश्वर यादवको घटनास्थलमै मृत्यू भएको छ । सोही क्रममा दर्जनौ आन्दोलनकारीहरु घाइते भएका छन् । राति ११ बजेदेखि प्रहरीले रुपनीमा राजमार्ग सुचारु गराउन प्रयासरत रहे पनि हज्जारौंको संख्यामा गाउँगाउँबाट आएका सर्वसाधारण जनताहरुले रुपनी क्षेत्रलाई आफ्नो कब्जामा लिएका छन् । दुवै स्थानमा झडप अहिले जारी रहेको छ ।
भारदह र रुपनीमा प्रहरीले चलाएको गोली लागेर मृत्यू हुनेको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ । स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले भने जिल्लामा भने कर्फ्यू आदेश जारी गर्ने तयारी गरिरहेको छ ।



