• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

रङ्गमञ्चमा ओली, गोइत, राउत, मातृका र गच्छदार

रङ्गमञ्चमा ओली, गोइत, राउत, मातृका र गच्छदार

श्यामसुन्दर यादव
राजविराज, १ मंसिर । करिब सात फिटका एक हट्टाकट्ठा युवा । जीउभरी सिक्रीले बाँधेर सुरक्षाकर्मीहरुले यातना दिईरहेको दृष्य । यातनासँगै ती युवकले गर्जन गर्दै जब भने ‘तुम लोग हमे कैद कर सकते हो, लेकिन बिचारौंको नही, मेरा बिचार आगका गोला बनकर फैल रहा है, नेपाली उपनिवेश अन्त हो, मधेश स्वतन्त्र हो ।’
यो दृष्य देखेपछि दर्शकदिर्घामा हज्जारौं पच्चीस–तीस गाउँका बालकदेखि बृद्धसम्मका दर्शकहरु बीच सन्नाटा छायो । ती क्रान्तिकारी अदम्य साहसी युवक को हुन् भन्ने आम दर्शकले सहजै अनुमान लगाउन भ्याए । हो, जीउभरी सिक्री बाँधिएको अवस्थामा गर्जन गर्ने पात्र थिए स्वतन्त्र मधेश गठबन्धनका संयोजक वैज्ञानिक डा. सीके राउत । राउतको भूमिकामा रहेका संजिव कुमार यादवको जीउ–डाल एवम् अभिनय कलाले राउतका बिचार र संघर्षपूर्ण यात्रालाई रङ्गमञ्चमा उतार्न सफल भए । DSC00229
सप्तरीको मलेकपुर गाविस वडा नम्वर–६ खुरहुरियामा मञ्चन गरिएको नाटकमा यस्तै दृष्यहरु देखियो । दीपावली एवम् भरदुतीयाको अवसरमा आयोजित नाटकमा वर्तमान नेपाल सरकारको रबैया, मधेश आन्दोलन, स्वतन्त्र मधेश, सशस्त्र आन्दोलन र मधेशी नेताको मधेश विरोधी चरित्रलाई मुख्य विषयवस्तु बनाईको थियो । मधेशको वास्तविक यथार्थलाई दर्शकहरुका माझ प्रस्तुत गर्न सफल भए खुरहुरियाका खारिएका युवा कलाकारहरुले ।DSC00241
विगत एघार वर्षदेखि तराईमा सशस्त्र संघर्ष गर्दैआएका जयकृष्ण गोइत भन्ने पात्र जब मञ्चमा आएर भने ‘तराईमाथि शासन गर्ने अधिकार पहाडी शासकलाई छैन, तराई स्वतन्त्र छ, अन्तिम साँससम्म लडिरहनेछु ।’ दर्शकहरु तीनछक्क परे । फरक–फरक पात्रहरुसँगै महाकाल नामक एक काल्पनिक पात्र पनि मञ्चमा गर्जन गर्दै भने ‘हमारा मधेश किसी की जागिर नही, मधेशमे अब मधेशी ही राज करेगा ।’
यस्तै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशी जन अधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार बीचको सम्वाद समेत रोचक एवम् घोचक थियो । ओलीको भूमिकामा रहेका पात्रले ‘बिजयजी, आन्दोलनले त हाम्रो कुर्सी डगमगाउन थालेको छ, कमसेकम तपाईले साथ दिनुपर्यो’ नेपालीमा सम्वाद गरिरहँदा गच्छदारको भूमिकामा रहेका पात्रले ‘आप काहे चिन्ता करते है ओलीजी, हम है न, आपको कुछ नही होगा ।’ DSC00160
ओलीसँगको सम्वादमा नेकपा माओवादीका संयोजक रहेका मातृका प्रसाद यादवले ‘खबरदार ओलीजी, हामी धर्तीपूत्रहरुलाई बिहारी नभन्नुस्, हामीलाई देशको हरेक निकायमा पचास प्रतिशतको हक चाहिएको छ, तपाईले रोकेर यो आन्दोलन रोकिनेवाला छैन ।’ उक्त सम्वादमा दर्शहरुले तालीको गडगडाहटले स्वागत गरे ।
नाटकमा मधेश आन्दोलन र पत्रकारहरुको भूमिका दर्शाउँदै टेलिभिजनमा काम गर्ने एक पत्रकारको अभिनय देखाइएको थियो । दङ्गाग्रस्त क्षेत्र र आमजनताले भोग्नुपरेको पीडा, मधेशी मूलका प्रहरीले मधेशीमाथि गोली चलाउन नमानेपछि दिइएको यातनाको सजिव चित्रण नाटकमा गरिएको थियो । DSC00197
नाटकमा डा. राउतको भूमिका संजिवकुमार यादव, ओलीको भूमिका विरेन्द्र प्रसाद यादव, जयकृष्ण गोइतको भूमिका भोला प्रसाद यादव, मातृका प्रसाद यादवको भूमिकामा सुरेश कुमार शर्मा, एसपीको भूमिका इन्द्रनारायण ठाकुरले निभाएका थिए । यस्तै गच्छदारको भूमिका दिलिपकुमार यादव, पत्रकारको भूमिकामा रामनारायण शर्मा, ईन्सपेक्टरको भूमिका उमाकान्त यादव, गरिबको भूमिकामा महेश ठाकुर, बिद्रोही सईको भूमिका देब रामले गरेको ‘जय मधेश’ नामक उक्त नाटकका लेखक एवम् निर्देशक समेत रहेका दिपेन्द्र प्रसाद यादवले जानकारी दिए । उनका अनुसार नाटकका अन्य पात्रहरुमा महेश ठाकुर, रमेश कुमार यादव, सियाराम यादव, मिस्टर यादव, देबनन्दन यादव, हरि यादव, प्रकाश शर्मा, दिपक यादव, शंकर यादव, गङ्गा यादव, दिपेश यादवलगायत रहेका छन्् ।
तीन दशक अघि खुरहुरियामा शिक्षक महिनारायण यादवको नेतृत्वमा बजरङ्ग कलाकुञ्जको स्थापना गरिएको थियो । कलाकुञ्जबाट प्रत्येक वर्ष विभिन्न चाडपर्वका अवसरमा समाजमा जागरण ल्याउने खालका नाटकहरु प्रदर्शन हुँदैआएको संस्थापक अध्यक्ष यादवले बताए ।