• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सबल नेपाल र सप्तरी सुपर किंग्स बिजयी

राजविराज, २४ कार्तिक । सप्तरी सुपर किंग्स, लायन्स एकेडेमी र यङ्ग ११ बरहिबिरपुुरको संयुक्त आयोजना तथा सप्तरी क्रिकेट संघ र जिल्ला खेलकुद बिकास समितीको सहकार्यमा आयोजित ड्रिम नेपाल अन्तर क्लब जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता अन्तर मंगलवार सम्पन्न खेलमा सबल नेपाल र सप्तरी सुपर किंग्स आ–आफनो खेलमा बिजयी भएको छ ।
मंगलवार सम्पन्न पहिलो खेलमा सबल नेपालले लायन्स एकेडेमीलाई सजिलै ७ बिकेटले पराजित गरेको छ । टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै लायन्सले निर्धारित २० ओभरको खेलमा १९ ओभर ५ बलमा सम्पुर्ण बिकेट गुमाउदै ९४ रनमै समेटिएको थियो । लायन्सका लागि धिरज दास १७, उज्जवल यादव १५, राकेश कर्ण ११ र सुलभ पाण्डेयले १० रनको योगदान दिएका थिए भने बलिंग तर्फ सबलका बिकास दासले आर्कषक बलिंग गर्दै ४ ओभरमा १५ रन दिई ३ बिकेट तथा अविनाश कर्ण र अशोक मेहताले सामान २ तथा अनिल यादवले १ बिकेट लिएका थिए ।
९५ रनको लक्ष्य लिई मैदानमा ओर्लेको सबल नेपालले १६ ओभर ५ बलमा उक्त लक्ष्य सजिलै ३ बिकेटको नोक्सानीमा भेटाएका थिए । सबल नेपालका लागि शैलेन्द्र मण्डल ३०, दयानन्द देव १७, बिजय मण्डल १० तथा राहुल मण्डलले अविजित १० रनको योगदान दिएका थिए । लायन्सका लागि दिपेन्द्र बोहोरा २ र सुरेन्द्र यादवले १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच सबल नेपालका बिकास दास घोषित भएका थिए ।
मंगलवारनै सम्पन्न दोश्रो खेलमा सप्तरी सुपर किंंग्सले धमियान पोर्ताहालाई ५८ रनले पराजित गरेको छ । धमियानले टसजिती सुपर किंग्सलाई ब्याटिंगको लागि निम्ताए पछि ब्याटिंग गर्न ओर्लेको सुपर किंग्सले निर्धारित १८ ओभरको खेलमा ६बिकेटको नोक्सानीमा १ सय ५१ रनको बिशाल योगफल तयार पारेका थिए । सुपर किंग्सका लागि समसाद आलमले बिष्फोटक ब्याटिंग गर्दै ४० बलमा १ छक्का र १० चौक्काको मद्धतले ५८ रन तथा रोशन साह, उदय कर्णले क्रमश २३ र १४ तथा सुभाष साहले अविजित १३ रनको योगदान दिएका थिए । बलिंग तर्फ धमियानका लोकेशराज कुशवाह र राघव यादवले सामान २ बिकेट तथा संजिव यादव र सुनिल मण्डलले सामान १ बिकेट लिएका थिए ।
१ सय ५२ रनको लक्ष्य लिई मैदानमा ओर्लेको धमियानले १८ ओभरमा आफनो ८ बिकेट गुमाई ९३ रनमात्र बनाउन सकेपछि हार ब्योहोरेको थियो । धमियानका लागि संकर राउतले १९ बाहेक अन्य कुनै खेलाडिले दोहोरो अंक छुन सकेका थिएनन । बलिंग तर्फ सुपर किंग्सका नासिर नौसिर र सुभाष साहले सामान २ बिकेट तथा उदय कर्ण र रोशन साहले सामान १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच सुपर किंग्सका समसाद आलम घोषित भए ।
प्रतियोगिता अन्र्तगत बुधवारको पहिलो खेल कंंकालनी भारदह र युनाईटेड बिशनपुर तथा दोश्रो खेल सबल नेपाल र माय सप बिच हुने जानकारी आयोजक समितिका संयोजक तिर्थ नारायण रायले जानकारी गराए ।