राजविराज, १४ कार्तिक । मधेशी मोर्चा सप्तरीले आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिँदै राजविराजमा शनिवार समेत विरोधसभाको आयोजना गरेको छ ।
स्थानीय सहीद दशन चौकमा आयोजित सभालाई सम्बोधन गर्दै वक्ताहरुले राज्यपक्ष मधेशको माग सम्बोधन गर्न गम्भीर नभएको भन्दै सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिएका छन् । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकारी वार्ता टोली बीच पटक–पटक वार्ता भए पनि निष्कर्ष विहिन हुने गरेकोप्रति आक्रोश व्यक्त गर्दै राज्यपक्षलाई बाध्य बनाउने खालका आन्दोलन गर्नुपर्ने आवश्यकता औंल्याए ।
मधेशी मोर्चाका नेता उमेश साह कमाण्डौको अध्यक्षतामा आयोजित बिरोधसभामा संघिय समाजवादी फोरम नेपालका केदार यादव, युवा विद्यार्थी मोर्चाका संयोजक शम्भु यादव, राजनीतिकर्मी सूर्यनारायण मण्डल कुरुड, तराई मधेश राष्ट्रिय अभियानका भोला मुखिया , महिला नेतृ रमिला साह, विद्यार्थी फोरम नेपालका जिल्ला अध्यक्ष तारकेश्वर यादव, सदभावना पार्टी ईटहरी बिष्णुपुरका पञ्चदेव यादव, तुफान मधेशी, सद्भावना पार्टीका उमेश प्रसाद देव, खुरहुरिया आन्दोलन परिचालन समितिका सदस्य तेजनारायण यादव लगायतले सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिए ।
-सप्तरीको भारदहमा आयोजित गोरु जुलुस ।