• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

दुई महिना लामो बन्दको मार, राज्यले सुनेन भारदहका केरा व्यवसायीको पीडा

2राजविराज, २९ असोज । निरन्तरको बन्दले गर्दा केरा बिक्री हुन नसकेपछि सप्तरीको भारदह क्षेत्रका केरा कृषकहरु आर्थिक मार व्यहोर्न बाध्य भएका छन् ।
दुई महिनादेखि यातायातका साधन नचल्दा जिल्ला बाहिरका बजारहरुमा बिक्रीका लागि पठाउन नसक्दा उनीहरुले ठूलो आर्थिक घाटा व्यहोर्नुपरेको हो । भारदह गाविस स्थित कोशी छेउँमा ४ सय ६० जना किसानले करिब दुई हजार बिगहामा व्यवसायिक केरा खेती गर्दैआएका छन् ।  उनीहरु बगानबाट केरा ल्याई पूर्व–पश्चिम लोकमार्ग छेउमा राखेर कौडीको भाउमा खुद्रा बिक्री गर्न बाध्य भएका छन् ।
गत–विगतका वर्षहरुमा दशैं, दीपावली र छठसम्ममा प्रति किसान पाँच लाख रुपैयाँसम्मको केरा बिक्री गरेकोमा यो वर्ष लागत समेत डुबेको पीडित केरा कृषक चन्दन कापैरले बताए । लामो बन्दले गर्दा केराको व्यापार चौपट भएको दुःखेसो सुनाउँदै उनले भने ‘वर्षभरिको लगानी र मेहनत त्यसै खेर गइरहेको छ, चाडपर्वको सिजनमा पनि टाउँकामा हात राखेर बस्नुपरेको छ ।

5
राज्यपक्षले मधेशमा जारी आन्दोलनका माग सम्बोधन गरेर बन्द हड्तालको निकास चाँडोभन्दा चाँडो खोजिनुपर्ने अर्का केरा कृषक चन्द्रदेव लौगीले बताए । केरा बगानमा पछिल्लो समय कोशीको पानी पसेपछि धेरै बोटहरु समेत सुकेको पीडा सुनाउँदै उनले भने ‘वर्षभरीको मेहनतको फल पाउने समयमा नै हामीमाथि बज्रपात नै भएको छ ।
किसानहरुले उत्पादन गरेको केराले बजार नपाउँदा समग्रमा करिब पाँच करोड रुपैयाँ भन्दा बढी क्षति भएको केरा खेती संघका बच्चालाल मण्डलले जानकारी दिए । ‘हामीले वषैभरी मेहनत गरेर लगाएको केरा बिक्री गरेर दुई पैसा आम्दानी गर्ने समयमा बन्द, हडतालले गर्दा झनै पिरोलेको छ’ उनले भने ‘सरकारले माग सम्बोधन गरेको भए हामीहरुलाई यस्तो दिन देख्नुपर्ने थिएन ।’

6
यातायात सुचारु हुन नसक्दा बाहिरबाट केरा खरिद गर्न ठूला व्यापारीहरु समेत नआएकोले उत्पादित केरा समेत कुहिन थालेको उनले बताए । ‘पाँच रुपैयाँमा बिक्री हुने केराको घरी यतिबेला एक सयदेखि दुई सय रुपैयाँमै बेच्न बाध्य भएका छौंं’ उनले भने ‘बेच्ने ठाउँ नै नपाएपछि हामी केरा कृषकहरुले राजमार्गमै राखेर कौडीको भाउमा केरा बेच्न बाध्य भएका छौं । आफूहरुको पीडालाई राज्यपक्षले बेवास्ता गर्दैआएको गुनासो गर्दै संघका अध्यक्ष मण्डलले राजमार्ग यात्रुहरुको ओहोर–दोहार समेत खासै नरहेकोले केरा बिक्री गर्न समस्या भएको बताए ।
स्मरण रहोस् भारदह–१ का युवा कृषक राजिव भनिने रामकृष्ण राउतको आन्दोलनकै क्रममा भदौ १ गते प्रहरीको गोली लागेर मृत्यू भएको थियो । यस्तै भदौ २३ गते पोर्ताहा–४ का रामकृष्ण राउतको समेत प्रहरीको गोलीबाट मृत्यू भएपछि स्थानीय प्रशासनले कोशी ब्यारेजदेखि बलान नदीसम्म पूर्व–पश्चिम लोकमार्गमा दङ्गाग्रस्त क्षेत्र घोषणा गरेका कारण जनजीवन झन कष्टकर बन्न पुगेको छ ।