• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मार्क्सवाद छाडेको भन्दै बाबुरामलाई उद्योगपतिको बधाइ !

‘तर, संविधानमा ‘समाजवाद’ किन लेखियो ?’

१५ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई मार्क्सवाद छाडेर समाजवादी बनेको भन्दै शुक्रबार पाँचतारे होटल अन्नपूर्णमा उद्योगी व्यवसायीले बधाइ दिए ।

तर, तिनै व्यवसायीहरु संविधानमा समाजवाद उन्मुख भनेर लेखिएकोमा असन्तुष्टि र त्रास पनि व्यक्त गरे । पूर्वमाओवादी नेता बाबुरामले आफूले मार्क्र्सवाद त्यागेको वा नत्यागेको त्यहाँ प्रष्ट पारेनन् । तर, समाजवाद अहिले नै नआउने चाहिँ प्रष्ट पारे ।

एमाओवादी पार्टी परित्याग गरेपछि नयाँ शक्ति र नयाँ नेपाल निर्माणका लागि स्वतन्त्र ढंगगले बहस चलाइरहेका भट्टराईले त्यही क्रममा मुलुकका प्रतिष्ठित उद्योगी व्यवसायी तथा निजी क्षेत्रसँग शुक्रबार अन्नपूर्ण होटलमा छलफल गरेका हुन् ।

अब राजनीतिक क्रान्तिको चरण सकिएकाले तीब्र आर्थिक विकासका लागि काम गर्न नयाँ ढंगको शक्ति आवश्यक भएकाले आफूले पार्टी त्यागेको उनले बताए । तर, तत्कालै कुनै पार्टी बनाइहाल्ने योजना भने नरहेको उनको प्रष्टोक्ति थियो । भट्टराईले भने-‘मैले पार्टी त्यागे पनि कसैलाई गाली गरेको छैन, माओवादी पूरै बिग्रियो भन्ने पनि होइन । प्रचण्डजीसँग आज बिहान पनि कुरा भयो, योबेला मैले केही सहयोग गर्नुपर्ने छ भने भन्नुस् है, भन्दा उहाँले ठिकै छ भन्नुभयो ।’

बाबुरामलाई सल्लाह दिन उभिएका निजी क्षेत्रका अगुवाहरुले भट्टराईले प्रधानमन्त्री र अर्थमन्त्री हुँदा गरेका राम्रा काम स्मरण गरे । सडक फराकिलो पार्ने, राजश्व बढाउने लगायतका बाबुरामका निजीक्षेत्र मैत्री कामहरुको उनीहरुले खुलेरै प्रशंसा गरे ।

तर, संविधानमा समाजवाद शब्द राखिएकोमा भने उनीहरुमा त्रास रहेछ । उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठले कार्यक्रममा भने- ‘संविधानमा समाजवाद भन्ने शब्द राखिनु भनेको हाम्रो टाउकोमाथि तरबार झुण्ड्याएजस्तो भयो ।’

त्यस्तै महासंघका पूर्वबरिष्ठ उपाध्यक्ष भाष्करराज राजकणिर्कारले पनि मार्क्र्सवाद छाडेर समाजवादमा आएको भन्दै बाबुरामलाई स्वागत गरे । तर, संविधानमै समाजवाद उन्मुख अर्थतन्त्र भनिएकाले त्रास फैलिएको उनले थपे । उनले भने-‘विश्वमा समाजवादको ब्याख्या एउटै छैन । कस्तो समाजवाद भनिएको हो ? वीपी कोइरालाले भनेजस्तो हो कि अहिलेका कांग्रेसले भने जस्तो हो ? वा कम्युनिस्टले भनेजस्तो हो ? यसले निजी क्षेत्रलाई त्रसित बनाएको छ ।’

निजी क्षेत्रको धारणा सुनिसकेपछि बाबुरामले अहिले पुँजिवादकै चरण भएकाले आत्तिन नपर्ने बताए । उनले पुँजीवादको चरण सकिएपछिमात्र समाजवाद शुरु हुने बताए ।

उद्योगी व्यवसायीहरुले बाबुरामलाई नयाँ ढंगले अघि बढ्न पुरानो पार्टी त्यागेकोमा आलोचना गरेनन्, बरु कतिपयले बधाइ नै दिए । तर, उनको नयाँ शक्तिमा लाग्छौं भन्ने बचनचाहिँ कसैले दिएनन् । अनलाइन खबर