१४ असोज, काठमाडौं । क्रिष्टियानो रोनाल्डोले करियरको ५०० गोल पुरा गरेका छन् । साथै रियल मड्रिडको राहुलले बनाएको सर्वाहिक ३२३ गोलको कीर्तिमानसँग बराबरी गरेका छन् ।
च्याम्पियन्स लिग फुटबल बुधबार राति रियल मड्रिडले १० खेलाडीमा सिमित स्विडेनको माल्मोलाई २–० ले पराजित गर्दा दुबै गोल रोनाल्डोले गरेका छन् ।
खेलको २९ औं मिनेटमा गोल गरेका रोनाल्डोले अन्तिम मिनेटमा अर्को गोल गर्दै रियल मड्रिडलाई २–० को जित दिलाए ।
यससँगै ३० वर्षे रोनाल्डोले देश र क्लबका लागि ५०१ गोल गरेका छन् । उनले ७५३ खेलमा यो गोल गरेका हुन् ।
साथै रियलका स्टार राहुलको ३२३ गोलको रेकर्डसँग बराबरी गरेका छन् । स्पेनका पूर्व स्ट्राइकर राहुलले सन् १९९४ देखि २०१० सम्ममा ७४१ खेलमा ३२३ गोल गरेका थिए ।
रोनाल्डोले रियल मड्रिड जानु अघि म्यानचेष्टर युनाइटेडका लागि ११८ गोल गरेका थिए । स्पोटिङ लिस्बेनका लागि पाँच गोल गरेका छन् ।
यस्तै उनले देशका लागि खेल्ने क्रममा ५५ गोल गरेका छन् । अनलाइन खबर